व्यास -११ स्थित निर्बु बराहलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल

भञ्ज्याङ समाचारदाता/दमौली

चारैतिर जङ्गलले घेरिएको ठाउँ । जङ्गलको खोँचमा आकर्षक मन्दिर । मन्दिरको आडैमा पोखरी, पोखरीमा खेलिरहेका माछा । दमौलीबाट आठ किलोमिटर दूरीको व्यास नगरपालिका-११ निर्बुस्थित निर्बु बराहलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय लागेका छन् ।

यस क्षेत्रको प्रचारसहित पर्यटक भित्र्याउन स्थानीय सक्रिय भएको निर्बु बराह मन्दिर संरक्षण समितिका अध्यक्ष तुलसीराम भण्डारीले जानकारी दिनुभयो । “पौराणिक महत्वको यस ठाउँ पहिला उराठलाग्दो थियो, स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि यस ठाउँले गति लिन थाल्यो ।”

पहिला जीर्ण र सानो रहेकामा हाल मन्दिर पुननिर्माण गरी आकर्षक बनाइएको छ । “विसं १९४६ मा धर्मराज अधिकारीले दिएको घण्ट फेला परेको छ, यो पुरानै मन्दिर हो”, भण्डारीले भन्नुभयो । विगतमा यस ठाउँका केही संरचना चोरी भएको बताइन्छ ।

“घण्टहरू लथालिङ्ग थिए, स्थानीय पूर्णबहादुर गुरुङको सक्रियतामा मन्दिर बनाएपछि अलि व्यवस्थित भयो”, भण्डारी सम्झिनुहुन्छ, “अहिले स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगमा मन्दिर पुननिर्माण गरेका छौँ ।”

मन्दिर संरक्षण समितिका सचिव गुप्तमान गुरुङका अनुसार करिब रु ४० लाखमा मन्दिर पुननिर्माण गरिएको छ । पुननिर्माणलाई संघीय सरकारबाट रु सात लाख ५५ हजार, गण्डकी प्रदेश सरकारबाट रु १५ लाख ७२ हजार, व्यास नगरपालिकाबाट रु छ लाख ९५ हजार सहयोग भयो । स्थानीयकै सक्रियतामा रु ११ लाख ३० हजार चन्दा संकलन गरियो ।

उहाँका अनुसार प्रवेशद्वार, कम्पाउन्ड निर्माण गर्न बाँकी छ । “यसका लागि तीन वटै तहका सरकारबाट बजेटको अपेक्षा गरेका छौं”, गुरुङ भन्नुहुन्छ । समितिका पूर्वाध्यक्ष सोमबहादुर गुरुङ यस ठाउँलाई वनभोजस्थलका रूपमा विकास गर्ने सोच राखिएको बताउनुहुन्छ।

मन्दिरका पुजारी बलवीर थापाका अनुसार मनले चिताएको कुरा पूरा गर्ने विश्वासका साथ यहाँ भक्तजन पूजाआजालाई आउछन् । यहाँ पञ्चबलि दिन जिल्लाभित्र र बाहिरबाट भक्तजन आउछन् । मन्दिरमा दसैं, पुस १५ मा भक्तजनको बढी भीडभाड हुन्छ । काठमाडौँ, पोखरा, चितवनलगायत ठाउँबाट भक्तजन पञ्चबलि दिन आउने गरेको मन्दिर संरक्षण समितिका उपाध्यक्ष उदयचन्द्र पौडेलले जानकारी दिनुभयो ।

निर्बु बराह सामुदायिक वनभित्र रहेको मन्दिर आसपास पहिरा जान सक्ने सम्भावना भएकाले पर्खाल लगाइएको छ । मन्दिर नगरपालिकाको धार्मिक पर्यटकीयस्थल भएकाले नगरपालिकाका तर्फबाट सक्दो सहयोग गने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker