देवघाटमा भक्तजनको भीड

तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा माघे सङ्क्रान्ति मेलाका लागि भक्तजन आउने क्रम सुरु भएको छ । शनिबार बिहान कालीगण्डकी र त्रिशूली नदीको सङ्गम बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेला विधिवतरुपमा सुरुआत गरिएको थियो ।

शनिबार दिउँसोदेखि नै भक्तजन देवघाटधाम आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । मेला भर्न पाँच लाख भक्तजन आउने अनुमान गरिएको छ । मेला भर्न आउनेका लागि प्रवेशद्वार रामनगरमा र बाहिरिने आँपटारीबाट बनाइएको छ ।

मेलाको अववसरमा राति भक्तजन जाग्राम बस्ने प्रचलन छ । शास्त्रानुसार सौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर सङ्क्रान्ति’ भनिएको हो । आजदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोग भइने जनविश्वास छ ।

हरेक वर्ष पुसको अन्तिम दिन र माघ १ गते देवघाटमा माघे सङ्क्रान्ति मेला लाग्ने गर्दछ । मेलालाई व्यवस्थापन गर्न क्षेत्र विकास समितिले एक सय ५१ सदस्यीय मूल समिति र विभिन्न उपसमिति बनाएर मेला व्यवस्थापनको काम गरेको छ ।

चितवनतर्फको देवघाट र तनहुँतर्फको वेणीमा स्नान गर्नका लागि सीमा तय गरेर डोरी टाँग्ने काम गरिएको छ । स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, सशस्त्र प्रहरीको उद्धार टिम र स्थानीय बोटे समुदायलाई तयारी अवस्थामा राखिने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बिजुली बत्तीको व्यवस्था गर्न चितवनको भरतपुर महानगरपालिका र तनहुँको देवघाट गाउँपालिकालाई जिम्मा दिइएको छ ।

खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनाइएको छ । यसपटक चितवनबाट देवघाट जाने झोलुङ्गे पुलमा एक पटकमा एक सय जनाभन्दा बढीलाई जान नदिने गरी सुरक्षाकर्मी राखिने इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज भेषराज रेग्मीले जानकारी दिनुभयो । विसं २०३७ मा बनेको पुल जीर्ण बनेकाले कुनै दुर्घटना नहोस् भनेर सुरक्षा सतर्कता अपनाइएको रेग्मीले बताउनुभयो ।

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने विश्वास क्षेत्र विकास समितिले लिएको छ । नदीबाट नै वारपार गर्न चाहनेहरूका लागि ३५ वटा डुङङ्गाको व्यवस्था गरिएको छ ।

एक जनाको रु ३५ भाडा लिएर चितवनबाट देवघाटको काली नदी छेउसम्म डुङ्गामार्फत आउजाउ गर्ने व्यवस्था गरिएको छ । मेलामा जानका लागि भरतपुरतर्फबाट रामनगरबाट पस्ने र आँपटारी क्षेत्रबाट निस्कने व्यवस्था मिलाइएको छ । यसका लागि ठाउँठाउँमा प्रहरीहरु परिचालन गरेर व्यवस्थापन सहज बताइएको छ ।

सवारीको अत्याधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । पुल बनाउनका लागि दैनिक चार घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस
३० र माघ १ गते भने खुला नै रहने छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker