तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी

भञ्ज्याङ समाचारदाता/दमौली

महाभारत पर्वत श्रृंखलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडकमा कालोपत्रको तयारी गरिएको छ । पृथ्वीराजमार्ग अर्न्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो । हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ ।

सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिनुभयो । उक्त सडकखण्डमा यही फागुन २० गतेबाट कालोपत्र सुरु गर्ने तयारी गरिएको छ । तीन इञ्च बाक्लो कालोपत्र रहने सडकमा चितवनको जुगेडीबाट उपकरण ल्याएर काम सुरु गरिने उहाँले बताउनुभयो । “चैत महिनाभित्रै काम सम्पन्न गर्ने गरी तयारी थालेका छौँ”, उहाँले भन्नुभयो ।

यसअघि एक हजार दुइ मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र संघ सरकारबाट समपूरक कोषअन्तर्गत रु आठ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौँस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ।

छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रपछि भक्तजनको सङ्ख्या थप बढ्ने बताउनुभयो ।

आँबुखैरेनी गाउँपालिका-५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुद्र सतहबाट दुइ हजार एक सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको बताइन्छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष ०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सय छको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबाससमेत सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका-६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन्। गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेको दुइ घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker