तनहुँमा फागुपूर्णिमा/होली पर्व (फोटोफिचर)
भञ्ज्याङ न्यूज

रंगको पर्व फागुपूर्णिमा/होली तनहुँमा पनि धुमधामका साथ मनाइएको छ । तनहुँका १० वटै पालिकाका बजार तथा ग्रामीण क्षेत्रमा विविध कार्यक्रमका साथ बालबालिका, युवायुवती तथा ज्येष्ठ नागरिकहरु समेतले उत्साहपूर्वक फागुपूर्णिमा पर्व मनाएका छन् ।

दमौलीमा विभिन्न संघ संस्थाहरुले होली विशेष कार्यक्रम गरी फागुपूर्णिमा पर्व मनाएका छन् । घैटो फुटाइ, बाँसको लिंगोमा चढि बाले समाई तथा विविध साँस्कृतिक कार्यक्रम गरी फागुपूर्णिमा पर्व मनाइएको छ ।

एकअर्कालाई विभिन्न रङ्ग लगाएर आत्मीयता साटासाट गरी मनाइने यो पर्व निकै उत्साहपूर्वक मनाइएको छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चल्दै आएको छ ।

यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरु बताउँछन् ।














