तनहुँ-१ उपनिर्वाचन : मतदाताको “व्यालेट विद्रोह”, कांग्रेस, एमाले र माओवादीको गढमा रास्वपाको उदय

नारायण खड्का/तनहुँ

तनहुँ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि आइतबार उपनिर्वाचन गरिएको छ । गत मंसिर ४ गते सम्पन्न आमनिर्वाचनबाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो । आइतबार राती १२ बजेबाट सुरु गरिएको मतगणना यो समाचार तयार पार्दासम्म जारी थियो ।

उम्मेदवारी दर्तादेखि प्रचारप्रसारको अन्तिम दिनसम्मका दृश्य हेर्दा तनहुँको उपनिर्वाचन ‘महानिर्वाचन’को झल्को दिएको थियो । मुलुकका सबै राजनीतिक शक्ति तनहुँ निर्वाचन क्षेत्र नं. १ मा केन्द्रित थिए । आमनिर्वाचन भएको छोटो समयमै उपनिर्वाचन भएपनि यसले आवधिक निर्वाचनकै जसरी राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको थियो ।

राष्ट्रिय राजनीतिलाई नै तरङ्गित गर्ने गरी भएको यस क्षेत्रको उपनिर्वाचनको मत परिणामले छुट्टै तरङ्ग दिएको छ । सत्तारुढ दलहरूको गठबन्धन, उम्मेदवारहरूको पृष्ठभूमि र दल अदलबदलले पैदा गरेको राजनीतिक द्वेषले तनहुँको उपनिर्वाचनमा रौनक थपेको थियो ।

दलहरूले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ पनि बनाए । तर, त्यो प्रतिष्ठानलाई आम मतदाताले ‘व्यालेट व्रि्रोह’ गरेका छन् । मतदाताले जुन रुपमा मतदान गरे त्यसले पुराना र ठूलो राजनीतिक दललाई झस्काएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको गढका रुपमा रहेका वडाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले पकट जमाउन सफल भएको छ । आँवुखैरेनी गाउँपालिका र भानु नगरपालिकाका सबै वडामा रास्वपाले पकड जमाएका छन् ।

तनहुँ-१ को मतगणना जारी छ । जुन रुपमा मतपरिणाम सार्वजनिक भएको छ त्यो हेर्दा उपनिर्वाचनमा मतदाताले मन र मत फेर्दा अस्वभाविक रुपमा मतपरिणाम आएको छ । पुराना र ठूला राजनीतिक दलका चर्चित नेतालाई नभई आम मतदाताले भरखरै स्थापित राजनीतिक दल रास्वपा र युवा नेतालाई मत जाहेर गरी ‘व्यालेट व्रि्रोह’ गरेका छन् । पुराना र ठूला राजनीतिक दललाई आफ्नो कार्यशैलीलाई सुधार्न पनि सन्देश दिएका छन् ।

दलहरूले तनहुँ-१ को उपनिर्वाचनलाई आफ्नो दलको जित वा हार हुनुलाई संसद्मा एउटा सांसद थपिने वा गुम्ने अर्थमा मात्रै लिएका थिएनन् । उपनिर्वाचनको परिणामलाई दल, दलको नेतृत्वको प्रतिष्ठा र राजनीतिक भविष्यसँग जोडेर प्रतिष्पर्धाको विषय बनाएका थिए । तर, जनताले मन र मत बदलेर नयाँ सन्देश दिएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस तनहुँ-१ को प्रतिस्पर्धालाई प्रतिष्ठाको लडाइँ मानेर मैदानमा उत्रिएको थियो । उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको दलले आक्रामक चुनावी प्रचार शैली पनि अपनाएको थियो । कांग्रेसका केन्द्रीय सदस्य, सभापतिदेखि सत्ता गठबन्धनका शीर्ष नेता र प्रधानमन्त्री समेत साझ उम्मेदवारको पक्षमा मत माग्न तनहुँ आइपुगेका थिए ।

गत निर्वाचनबाट मात्रै राष्ट्रिय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले मूलधारका दलहरूको अकर्मण्यता, अव्यवस्था र नेतृत्वको असक्षमता माथि प्रहार गरेर मतदातालाई आफूतिर खिच्ने कोसिस गरेको थियो । सार्वजनिक मत परिणामले पनि त्यो पुष्टि गरेको छ । अझ यसपटक अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले समेत कांग्रेस छाडेर रास्वपाबाटै उम्मेदवारी दिएपछि कांग्रेससहित मूलधारका पार्टीहरू तरङ्गित बनेको थियो ।

अहिले प्रधानमन्त्रीको दल भए पनि माओवादी चुनावी मैदानमा थिएन । एमालेले तनहुँ-१ मा पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएर चुनावी मैदानमा उतारे पनि गत मंसिर ४ को आमनिर्वाचनमा प्राप्त गरेको मत समेत पाउन सकेका छैनन् । तनहुँ-१ मा विभिन्न ९ वटा दलले उम्मेदवारी दर्ता गरी चुनावी मैदानमा उत्रिएपनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी बीच त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने आंकलन गरिएको भए पनि रास्वपाले अस्वभाविक रुपमा अग्रता कायम गरेको थियो ।

रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराइले २० हजार १२२ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरेका छन् । आइतबार भएको निर्वाचनमा १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६५ हजार ३१६ मत खसेको थियो । यस मध्ये ६४ हजार १३५ सदर मत र १ हजार १८१ मत बदर भएको छ ।

यस्तै सम्पन्न निर्वाचनमा राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, नेकपा समाजवादीका गणेश श्रेष्ठले ५, मंगोल नेश्नल अर्गनाइजेशनका प्रेम बहादुर थापाले १६६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार पूर्ण बहादुर रानाले ८७ मत प्राप्त गरेका छन ।

उपनिर्वाचनको मतपरिणामले कांग्रेस नेताहरुलाई पनि झस्काएको छ । कांग्रेस तनहुँका जिल्ला सचिव लक्ष्मीभक्त खनाल भन्छन्, ‘निर्वाचन अगाडि गरिएको अनुमानको ठिक उल्टो नतिजा आएको छ । हामीलाई आउँछ भनेको मत रास्वपालाई गएछ, हामीले यसको समीक्षा गर्नेछौं ।’ नेताहरुका अनुसार माओवादी केन्द्र र गोविन्दराज जोशीको समूहको मत पनि रास्वपालाई गएको देखिन्छ ।

गत वैशाखको स्थानीय निर्वाचनमा आँबुखैरेनी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षसहित केही वडा माओवादी केन्द्रले जितेको थियो । तर उपचुनावमा माओवादी केन्द्रको मत कांग्रेसलाई भन्दा रास्वपालाई गएको छ । आँबुखैरेनीमा खसेको ६ हजार ९९१ मतमध्ये ४ हजार ४४८ रास्वपाले पाएको छ । कांग्रेसलाई १ हजार ६५८ र नेकपा एमालेलाई ५९६ मत पाएको छ ।

आँबुखैरेनीको वडा नं. २ माओवादी केन्द्रका गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानको वडा हो । मंसिरको चुनाव उनले कांग्रेसको समेत समर्थनमा जितेका थिए । उपचुनावमा यो वडामा १ हजार ३९२ मत खसेको थियो । यहाँ पनि रास्वपाका उम्मेदवारले ८८१ मत पाएका छन् ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशी समूहको मत पनि स्वणिर्मले नै पाएको देखिन्छ । कांग्रेसले जोशी समूहलाई मनाउन निकै प्रयास गरेको थियो । उनको कारबाही फुकुवा गरेको थियो । तर सहमति हुन सकेन । जोशी स्वयं रास्वपामा नखुले पनि उनका छोरा दिपकराज जोशीले भने रास्वपालाई खुलेर मत मागेका थिए ।

जोशीको घर भएको वडा भानु नगरपालिका-११ मा २ हजार १४ मत खसेको थियो । यहाँ रास्वपाका स्वर्णिमले १ हजार २०२ मत पाएका छन् भने कांग्रेसका भट्टराइले ५९३ र एमालेका खनालले १८३ मत पाएका छन् । भानुका १३ वटै वडामा रास्वपाका उम्मेदवार वाग्लेले कांग्रेसका भट्टराइले भन्दा धेरै मत पाएका छन् । स्थानीय तहको चुनावमा भानुको प्रमुख र उपप्रमुखसहित ९ वटा वडा कांग्रेसले जितेको थियो ।

यस्तै, रास्वपा उम्मेदवार स्वर्णिमले आफूहरुको मत समेत काटेको एमाले नेताहरु बताउँछन् । कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिमले गोविन्द भट्टराइको मत काट्दा पार्टीको मत जोगाउन सके चुनाव जित्ने एमालेको विश्लेषण थियो । तर स्वर्णिमले कांग्रेसको मात्र होइन, माओवादी, जोशी समूह र एमालेको पनि मत पाएको देखिन्छ ।

‘तनहुँमा आमचुनावभन्दा उपचुनावमा थोरै प्रतिशतले मात्रै मतदाता घटेका छन् । यसबाट के देख्न सकिन्छ भने मतदाता अहिले पनि मत दिन उत्सुक नै छन् । उपचुनावमा मतदाताको रुचि जहिले पनि कम नै हुनेगर्छ । किनभने उपचुनावमा जसले जिते पनि सरकार परिवर्तन हुने होइन । नयाँ नेतृत्वले देशलाई हाँक्ने होइन ।

सरकार निर्माणलाई यसले खासै असर गर्दैन । १-२ सिट २-३ दलको फेरबदल मात्रै हुने हो । यति हुँदाहुँदै पनि मत खस्ने परिमाण धेरै नघट्नुको कारण परिवर्तनका लागि मतदाता उत्सुक भएको बुझ्न सकिन्छ । एउटा वैकल्पिक शक्तिलाई अघि बढाउनका लागि नागरिकहरु उत्सुक देखिएको सार्वजनिक मतपरिणामले पनि पुष्टि गरेको छ । डा. स्वर्णिम वाग्ले सुविधाजनक मतका साथ अघि देखिनु मतदाताको उत्सुकताको नतिजा हो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसका गोविन्द भट्टराइ, नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार उम्मेदवारी मनोनयन दर्ता गरी चुनावी मैदानमा उत्रिएका थिए ।

मंसिर ४ गतेको आमनिर्वाचनमा ४ स्वतन्त्र उम्मेदवार र ११ वटा दल गरी १५ जना यस क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले) बिच मुख्य प्रतिस्पर्धा भएको थियो। उनीहरुलाई स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका बिकास सिग्देलले पछ्याएका थिए ।

नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले २५ हजार ३६१ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए । कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ र रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ४८४, मंगोल नेशनल अर्गनाइजेशनले ३६०, राष्ट्रिय जनमुक्ति पार्टीले ३०१, हाम्रो नेपाल पार्टीले २८४, जनता समाजवादी पार्टीले २६० मत प्राप्त गरेका थिए ।

यस्तै, समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार १५८, एमालेले १६ हजार ६८३, रास्वपाले १२ हजार ७७३, माओवादी केन्द्रले ७ हजार ३२६, राप्रपाले ३ हजार ५७७, नेकपा (एकीकृत समाजवादी)ले ९५०, मंगोल नेशनल अर्गनाइजेशनले ४५७, राजपाले ३६१, जसपाले ३२३ मत प्राप्त गरेका थिए । तीन निर्वाचन क्षेत्र कायम हुँदा २०४८ मा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल ०५१ मा भने तनहुँ-२ बाट विजयी भए । त्यसपछि लगातार तीन पटक (०५६, ०६४ र ०७०) उनले तनहुँ-२ बाटै जिते ।

मुलुक संघीय संरचनामा गएसंगै तनहुँमा दुइवटा निर्वाचन क्षेत्र कायम गरियो । पाँच पटक जित हासिल गरेका पौडेल २०७४ मा तनहुँ-१ बाट उम्मेदवारी दिएका थिए । पौडेल तत्कालिन एमालेका कृष्णकुमार श्रेष्ठ -किसान)संग ६ हजार मतान्तरले पराजित भएका थिए । हाल एकीकृत समाजवादीमा रहेका श्रेष्ठ सत्ता गठबन्धनबाट बारा-४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा देवघाट, आँवुखैरेनी र बन्दिपुर गाउँपालिका, भानु नगरपालिकाका, व्यास नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३, १४ वडा रहेका छन् । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रको व्यास नगरपालिका र भानु नगरपालिकाको प्रमुख उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष उपध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । देवघाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित छन् । बन्दिपुरको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । यस्तै, प्रदेश सभा सदस्यमा तनहुँ निर्वाचन क्षेत्र नं. १ क मा नेपाली कांग्रेसका उम्मेदवार अशोक कुमार श्रेष्ठ र ख मा नेकपा माओवादीका उम्मेदवार हरि चुमान निर्वाचित भएका छन् ।

यस क्षेत्रमा ४२ वटा वडा छन् । जसमध्ये २६ वटा वडामा नेपाली कांग्रेस, ९ वटा वडामा नेकपा एमाले, ५ वटा वडामा माओवादी केन्द्र र २ वटा वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

यसपटक कांग्रेस र एमालेको पनि घटेको होला । अरु बाँकी पार्टीहरुले रास्वपालाई मत दिएको प्रारम्भिक विश्लेषण गर्न सकिन्छ । ठूला दलहरुलाई मतदाताले पटकपटक विश्वास गरेकै छन् । २००७ सालदेखि विश्वास गर्दै आएका छन् । २०६४ सालमा माओवादीलाई पनि जनताले विश्वास गरे । २०७२ सालमा संविधान बनेपछि अब केही हुन्छ भन्ने जनतालाई लाग्यो । तर, त्यसपछि पनि केही भएन ।

परम्परागत शक्तिबाट भएन भनी २०७४ सालमा जनताले नेकपालाई मत दिनुको कारण एकीकृत शक्तिले समृद्धि हुन्छ भन्ने विश्वास कारक थियो । यो शक्तिबाट पनि हुन नसकेपछि वैकल्पिक राजनीतिक शक्ति देखियो । यो शक्तिलाई कसैले रोकेर पनि रोकिदैन ।

अब पुराना दलहरु सुध्रेपनि वैकल्पिक राजनीतिक शक्ति १-२ चुनावमा अघि बढ्छ । जब व्यक्तिहरु एकदमै निराश, आजित हुन्छन्, दक्षिणपन्थी वा पपुलिष्ट पनि आउन सक्छन् । विश्वमा यस्तो ५-६ वर्ष अघिदेखि नै देखिन थालेको छ । विश्वमा देखिएको कुरा नेपालमा पुनरावृत्ति हुनु स्वभाविक पनि हो । पपुलिज्मलाई विश्वास गर्ने सम्भावना बढी देखिन्छ ।

यही दिशाबाट अघि बढिराख्यो भने ३-४ वर्षमा रास्वपाले शक्ति थप नबडाउँला भन्न सकिदैन । एमाले कांग्रेस धेरै नै कम भए पनि १५ प्रतिशतमा झर्ने हुन् । त्यो बेला पनि नेपालको शक्तिका रुपमा रहिरहन्छन् । रास्वपाले अहिले भन्दा ठूलो मत परिणाम ल्याउँदा पनि ३० प्रतिशतसम्म जानसक्छ । ३० प्रतिशतको शक्तिले एकल सरकार बनाउने अवस्था अहिलेको निर्वाचन प्रणालीले नदिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

रास्वपाको उदयले सबैभन्दा बढी घाटा एमाले र कांग्रेसलाई हो । बजारमा नयाँ बस्तु निस्कँदा बजार लिएको वस्तुको बिक्रि घट्ने गर्छ । रास्वपाको कुनै विचारधारा देखिँदैन । रास्वपाले कही न कही राप्रपालाई पनि घाटा पुर्‍याउँछ । उनीहरु जुन दिशामा हिडिंरहेका छन्, कही न कही यी दुइ शक्ति मिल्न पनि सक्छन् । ज-जसले रास्वपामा प्रवेश गरेका छन्, उनीहरुले परम्परागत शक्तिमा स्पेस नपाएर नै जोडिएको देखिन्छ । अहिले त उनीहरु त्यसलाई महशुस गर्दैनन् होला ।

जनताको बल देखेपछि रास्वपा एउटा शक्ति बन्न सक्ने/नसक्ने समयले नै बताउँछ। तर, उपनिर्वाचनमा मतदाताले मन र मत फेरेर पुराना र ठूला राजनीतिक दलहरुका अगाडि ‘व्यालेट ब्रि्रोह’ गरेका छन् । जुन विश्वास र आशाका साथ मतदाताले नयाँ राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपालाई आफ्नो मत खनाएका छन् त्यो भावनालाई बुझ्न तथा आशा र विश्वास अनुसार काम गर्न नसकेको खण्डमा जनताले नै पाखा लगाउने छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker