भिमाद र आवुँखैरेनीबाट पनि पुनः श्रम स्वीकृति सेवा
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको भिमाद नगरपालिकाले नगरपालिकाबाटै श्रम स्वीकृति दिन थालेको छ । नगर प्रमुख दधिराज सुवेदीले बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब जान लागेका भिमाद-१ निवासि दुर्गाबहादुर कुमाललाई विहीबार आधिकारिक स्टिकर सहितको श्रम स्वीकृति प्रदान गरेका हुन् ।
वैदेशिक रोजगारीलाई थप स्तरीय, ब्यवस्थित, सुरक्षित भरपर्दो र मर्यादित बनाउन स्थानीय जनताहरुलाई श्रम स्वीकृति सम्बन्धी कार्यको लागि काठमाडौं, पोखरा र अन्य कार्यालयसम्म धाउनु पर्ने सास्तिलाई अन्त्य गर्दै स्थानीय तहबाटै पुनः श्रम स्वीकृति प्रदान गरिएको नगर प्रमुख सुवेदीले बताए ।
यस्तै, आवुँखैरेनी गाउँपालिकाले पनि बुधबारबाट गाउँपालिकाबाट नै पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माले बुधबार पहिलो सेवाग्राहीलाई श्रम स्वीकृति हस्तान्तरण गरी सेवा शुभारम्भ गरेका थिए ।
श्रम तथा रोजगार मन्त्रालयको परिपत्र अनुसार स्थानीय पालिकाबाट नै पुनःश्रम स्वीकृती दिने काम सुरु गरिएको छ । वैदेशिक रोजगारमा जाने युवायुवतीले यसअघि पोखरा वा काठमाडौं गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता रहेकामा अब गाउँघरमै रहेका स्थानीय सरकारमार्फ उक्त सेवा पाउँदा सेवाग्राहीले सहज महशुस गरेका छन् ।
श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर जानुपर्ने हुन्छ । साथै बैंक खाता विवरण र पारिवारिक विवरण पनि लिएर आउनु पर्नेहुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गर्ने व्यवस्था गरिएको छ ।

वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने साथै सेवाग्राहीलाई स्थानीय तहबाटै सेवा दिने मन्त्रालयको अनुमतिपश्चात् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिले व्यक्तिगत र पुनः श्रम स्वीकृतिका लागि रोजगार केन्द्रमा सर्म्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ ।
अनलाइनबाटै श्रम स्वीकृतिको आवेदन दिन पर्ने र श्रम स्वीकृति पनि अनलाइनमार्फत नै पाइने व्यवस्था लागू भएपनि अनलाइन प्रणालीकै नाममा बिचौलियाहरूले ठगी गर्न थालेपछि त्यसको अन्त्यका लागि स्थानीय तहबाट नै श्रम स्वीकृति दिने व्यवस्था श्रम मन्त्रालयले मिलाएको हो ।
पालिकाहरूमा रहेका रोजगार सेवा केन्द्रले निःशुल्क अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन भरिदिन्छन् । राहदानी, करार सम्झौता, भिसा लगायतका कागजपत्रसहित आफ्नो पालिकामा रहेको रोजगार सेवा केन्द्रमा गएपछि श्रम स्वीकृतिको आवेदन दिने व्यवस्था गरिएको छ । तनहुँको बन्दिपुर गाउँपालिकाले पनि यस अगाडिनै पुनः श्रम स्वीकृतिको सेवा दिन थालिसकेको छ ।










