तनहुँको म्याग्देलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा
भञ्ज्याङ न्यूज

तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । पालिकाले पूर्ण खोप घोषणा पूर्व १५ महिनासम्मका वालवालिकाको जातजाति अनुसार समेत खोप कार्यक्रम लागु गरेको थियो । जसमा जम्मा वालवालिका संख्या ३३६ मध्ये दलित ९१ जना, जनजाति १६६ जना, मधेशी २ जना खस आर्य ६० जना र अन्य १७ जना रहेका छन् ।
१६ देखि ५९ महिनाका वालवालिका मध्ये म्याग्देको १ नं. वडामा १६६ जनालाई, वडा नं. २ मा १५० जना, वडा नं. ३ मा १३७ जना, वडा नं. ४ मा १६० जना, वडा नं. ५ मा १२९ जना, वडा नं. ६ मा ११५ र वडा नं. ७ मा १८३ जना गरी कुल १ हजार ४० जनालाई खोप लगाईएको गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।
म्याग्देलाई पूर्ण खोप सुनिश्चिता घोषणा गर्दै जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले वालवालिकाको नैर्सर्गिक अधिकार खोपबाट कोही पनि छुट्न नहुने बताए। राज्यले नै वालवालिकाको हक अधिकार र न्युनतम् आवश्यकतामा खोपको प्राथमिकीकरण गरेको हुँदा पालिकाले मापदण्ड पुरा गरेर नै पालिकालाई पूर्ण खोप पालिका तथा दिगोपना सुनिश्चित कार्यक्रम घोषणा गरेको बताए ।

यस्तै, कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले प्रदेश स्वास्थ्य निर्देशनालयबाट २०७९ फागुण १६ गते स्वास्थ्य कर्मीहरुलाई एक दिनको अभिमुखीकरण कार्यक्रम पाश्चात २०७९ फागुण १८ देखि २०७९ चैत्रसम्म पारिवारिक स्वास्थ्य प्रोफाईलको लगत संकलन गर्न तथा वालवालिकाहरुको पूर्ण खोप सुनिश्चित गर्न घरधुरी सर्वेक्षणको लागि घरघरमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।
गाउँपालिका उपाध्यक्ष वालकृष्ण घिमिर, प्रमुख प्रशासकीय अधिकृत जित वहादुर राना लगायतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि गाउँपालिका प्रतिवद्धता रहेको बताए ।










