दमौलीका निजी अस्पतालको अनुगमन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको व्यास नगरपालिकाले दमौलीमा सञ्चालित निजी अस्पतालहरुको अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा नगरपालिकाले बुधबार पाँच वटा निजी अस्पतालको अनुगमन गरेको छ ।
टोलीले दमौलीका समधान, सिटी जनरल, नेशनल एपोलो, व्यास नगर र रत्नहरि हस्पिटलमा अनुगमन गर्दा सिटि जनरल हस्पिटल नविकरण नभएको, म्याद सकिएको बिटाडिन, मापदण्ड अनुसार फोहोर मैलाको उचित व्यवस्थापन नभएको, नगरपालिकामा नियमित प्रतिवेदनको रिपोटिङ नगरेको फेला परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए ।
अनुगमनका क्रममा उक्त हस्पिटल १५ शैय्या बेडको भएता पनि मापदण्ड विपरित संचालन रहेको फेला परेको उनले बताए । हस्पिटललाई एक साता भित्र जरिवाना सहित मापदण्ड पुर्याएर नविकरण गर्न निर्देशन दिईएको छ ।
यस्तै नेशनल एपोलोमा मापदण्ड अनुसारको फोहोर मैलाको व्यवस्थापन नभएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । उनका अनुसार अनुगमनमा लेबल नभएको बिटाडिन फेला परेको र तत्कान फेर्न लगाएको छ ।
समाधान र व्यास नगर हस्पिटललाई पनि फोहोर मैलाको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ । रत्नहरि हस्पिटलमा भने बिरामी जाँच गर्ने कक्ष व्यवस्थित गर्न निर्देशन दिईएको स्वास्थ्य प्रमुख सोतीले बताए ।
अनुगमनको क्रममा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैहे्रले नितीगत रुपमा हस्पिटलको संचालन हुनुपर्ने बताए । अनुगमनमा स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी, व्यास नगरपालिकाको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङ लगायतको टोली खटिएको थियो ।










