बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना रिहा

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

सीआईबीले बाँसबारी छाला–जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १६ माघमा पक्राउ गरेको थियो ।

मुलुकको एक प्रमुख व्यापारिक घरानाका सदस्य अरुण पक्राउ परेलगत्तै उनको मुद्दाको फाइल चाँडो बुझाउन प्रहरीमाथि दबाब बढेको थियो । त्यसपछि उनलाई ‘स्वास्थ्यमा समस्या देखिएको’ भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो । राति त्यहाँबाट रिफर गरिएको भन्दै ग्राण्डी अस्पताल सारिएको थियो ।

अस्पतालबाट डिस्जार्चको विषय भने ‘चौधरी लगायतको निजी विषय’ भएको एसपी अधिकारीले बताए ।

अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले बताए ।

मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।

अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाडेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले बताए ।

के हो विवाद ?

बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो । तर निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो ।

भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो । त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए ।

सुरुवातमा च्याम्पियन फुटवेयर प्रालिमा उद्योगी विनोद चौधरीकाे २०० कित्ता शेयर देखिएको थियो ।

अहिले यो जुत्ता उद्योग छैन भने कम्पनीको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ । शेयर सदस्य अरुण र उनकी श्रीमती शिला छन् । जग्गामा चौधरी ग्रुप फाउन्डेसनले चाँदबाग स्कुल सञ्चालन गरेको छ ।

अनुसन्धान टोलीका एक सदस्यका अनुसार, सरकारी जग्गा हडप्नकै लागि च्याम्पियन फुटवेयरको स्थापना भएको देखिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker