दमौली अस्पतालमा थाइराइडको परीक्षण तयारी

- भञ्ज्याङ समाचारदाता (दमौली)
दमौली अस्पतालमा थाइराइडको परीक्षण गरिने भएको छ । गण्डकी प्रदेश सरकारले उपकरण उपलब्ध गराएपछि तनहुँको सदरमुकाम दमौलीमा रहेको दमौली अस्पतालले थाइराइड परीक्षणको तयारी गरेको छ । प्रदेश सरकारले दश लाख रुपैयाँ मूल्य पर्ने उपकरण उपलब्ध गराएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए । उनले भने, ‘अस्पतालमा विभिन्न सेवा थप गर्ने योजनाबमोजिम थाइराइड परीक्षण गर्ने उपकरण आइपुगेको छ, केही दिनभित्रै सेवा शुरु गर्ने तयारी गरेका छौ ।’
यस्तै, अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेल थाइराइड विशेषज्ञ हुन । ‘उपकरण सञ्चालनका लागि ल्याबका प्राविधिकलाई तालिम दिइनेछ’, अध्यक्ष अधिकारीले भने, ‘उपकरण जडान गर्ने बेलामा इन्जिनियर आएर तालिम दिएपछि लगत्तै सेवा शुरु गर्ने हाम्रो तयारी छ र दमौली अस्पतालबाटै ब्लडको कल्चर सेवा पनि उपलब्ध गर्ने योजनामा हामी छौ ।’
जिल्लामै पहिलो पटक सरकारी अस्पतालमा थाइराइड सेवा परीक्षण हुनेछ । दमौलीस्थित एक निजी प्रयोगशालामा भने थाइराइडको परीक्षण हुँदै आएको छ । ‘सरकारी स्वास्थ्य संस्थामै उक्त सेवा शुरु हुने भएपछि महङ्गो शुल्क तिरेर अन्यत्र परीक्षण गर्न जानु नपर्ने अध्यक्ष अधिकारी बताउँछन् ।
त्यस्तै, अस्पतालमा केही दिन अगाडि चार थान भेन्टिलेटर ल्याइएको छ । अस्पतालले विभिन्न सेवा थप गर्दै लग्ने तयारी गरेको छ । हालैमात्र अस्पतालमा दन्त सेवाका लागि डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको छ भने अस्पताललाई सुविधासम्पन्न बनाउन पूर्वाधार थप गर्दै लगिएको छ ।
वि.सं. २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने प्रयासमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया उपकरण जडान गरिएको थियो। बिना अक्सिजन शल्यक्रिया गर्न सकिने २० लाख रुपैयाँ बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको हो ।
१५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नतिका लागि प्रदेश सरकार मातहत रहेका दुइ सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अनुरोध गरिएको छ । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गामध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन अस्पताल व्यवस्थापन समितिको माग छ । अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको र ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्ने देखिएको छ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको सेवा दिन सकिने बताए।










