बन्दिपुरले कृषिलाई पर्यटनसंग जोड्दै “एक वडा एक उत्पादन”को पहिचान बनाउने
भञ्ज्याङ समाचारदाता/बन्दिपुर
तनहुँको बन्दिपुर गाउँपालिकाले कृषिलाई पर्यटनसंग जोडेर कृषि क्षेत्रलाई व्यवसायीक बनाउने नीति अवलम्बन गर्ने भएको छ । साँस्कृतिक, प्राकृतिक, धार्मिक पर्यटकीय गन्तव्यका रुपमा ख्याती कमाएको बन्दिपुरको पर्यटनसंग कृषि क्षेत्रलाई जोड्ने नीति गाउँपालिकाले अगाडि ल्याएको छ ।
पर्यटनलाई कृषिसंग आवद्ध गर्न कृषि पर्यटन (एग्रो टुरिजम)को नीति अबलम्बन गर्दै प्रत्येक वडालाई कम्तिमा एक उत्पादन मार्फत विशिष्ट पहिचान गराउने नीति अगाडि ल्याएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । सुन्तलालाई बन्दिपुरको उर्वर भुमीको रुपमा चिनाउन तथा बन्दिपुरको रसिलो र गुलियो सुन्तलाको माध्यमबाट बन्दिपुर बासीमा आर्थिकस्तर उकास्न उपयुक्त स्थानमा नर्सरीको स्थापना गरी सुन्तला खेतीलाई प्रोत्साहन गर्ने योजना बनाएको उनले बताए ।
आर्थिक वर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषिमा श्रम तथा लागत न्यूनिकरण गर्न नवीनतम कृषि प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न कृषकहरुलाई अनुदानमा आधुनिक कृषि उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
स्थानीय माग र आवश्यकताको आधारमा स्वरोजगार सिर्जना गर्न टोल-टो लमा कृषक समूह गठन गरी यूवा जनशक्तिलाई व्यवसायिक कृषि प्रणाली तर्फ थप आकर्षित बनाउने, स्थानीय जातका फलफूलहरुको संरक्षण गर्दै पालिका भरी नै सम्भाव्यता अध्ययन गरी आँप, सुन्तला, कागती, केरा, निबुवा लगायतका फलफूल खेतीलाई व्यवसायिकरण गर्ने, चामल आयातलाई घटाउँदै पालिका भित्र उत्पादित धानलाई एकत्रित गरी आफ्नै उत्पादनलाई प्रोत्साहन गर्ने गाउँपालिकाले नीति बनाएको अध्यक्ष थापाले बताए ।
नगदे बालीहरुलाई संकलन केन्द्र मार्फत बजारीकरण गर्ने, आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउँदै लैजाने, एक वडा एक उत्पादनलाई प्राथमिकता दिई एक वडा एक पकेट कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक कृषि तथा पशु प्राविधिकको अवधारणा अनुसार प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गर्ने, उत्पादित कृषि उपजलाई वडागत संकलन केन्द्र मार्फत वितरण प्रणालीलाई सवल बनाउने, विचैलियाको अन्त्य गर्ने, कृषि उत्पादनमा वृद्धिका लागि उचित मलखाद तथा रसायनिक मलको आपूर्तिलाई सहज बनाउने नीति गाउँपालिकाले लिएको छ ।
यस्तै, गाउँपालिकाले अर्गानिक कृषि उत्पादनमा जोड दिनका लागि अर्गानिक उत्पादन गर्ने कृषकलाई उचित प्रोत्साहनको कार्यक्रम अगाडि ल्याएको छ । कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणका लागि कृषक एवं कृषिप्राविधिकलाई आवश्यक तालिम प्रदान गर्ने, कृषिको आधुनिकीकरण र व्यवसायिकीकरणका लागि उन्नत किसिमको बिउ, बिजन र प्रविधि हस्तान्तरण गर्ने, कृषि उत्पादनको विस्तार एवं बजारीकरणका लागि कृषिउपज संकलनको उचित व्यवस्था गर्ने नीति ल्याएको अध्यक्ष थापाले बताए ।
गाउँपालिका भित्रका कृषकहरुको तथ्याङ्क एकीकृत गर्न किसान सूचिकरण कार्यक्रम तथा कृषि, पशुपन्छी तथा मत्स्य व्यवसायको तथ्याङ्क अद्यावधिक कार्यक्रम संचालन गर्ने, पशुको नश्ल सुधारका लागि नयाँ प्रविधिको विकास र प्रयोग गर्ने, बाख्रा पकेट क्षेत्र थप वडाहरुमा विस्तार गरी नयाँ किसान उत्पादन गर्ने, व्यवस्थित पशुपालनका लागि भकारो सुधार र गोठ सुधार कार्यक्रमलाई निरन्तरता दिने, पशुमा लाग्ने रोगहरु पहिचान गरी समयमा नै उपचारका लागि इपिडिमियोलोजी रिपोर्टिङ्ग कार्यक्रम संचालन गरिने भएको छ ।
यस्तै, साना व्यवसायिक कृषि उत्पादन केन्द्र -पकेट) विकास कार्यक्रम निरन्तरता दिई तथा थप पकेट केन्द्रहरुको पहिचान गरी उत्पादनमा प्रोत्साहन गर्ने, खाद्य तथा पोषण सुरक्षाको प्रमुख आधारको रुपमा रहेका निकै कम खेती गरिने रैथाने जातका बालीहरु कोदो, चिनो, कागुनो, मकै, मुसुरो, धान, गहुँ, बोडी, भटमास, मस्याङ, गहत, आदी स्थानीय बालीहरुको प्रवर्द्धन गर्न जोड दिइने भएको छ ।
कृषक पहिचान तथा तथ्याङ्क तयार गरी कृषक वर्गीकरणमा जोड दिई उत्कृष्ट कृषक पहिचान र सम्मान तथा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम सञ्चालन गर्ने, रासायनिक मल तथा विषादीको प्रयोग न्यूनिकरण गरी प्रांगारिक खेती तर्फ उन्मुख गराउने, राष्ट्रिय लक्ष्य बमोजिमको संकलन हासिल गर्न कृषि उत्पादनको समर्थन मूल्य तोकिने र कृषि व्यवसायमा यूवा जनशक्तिलाई आकर्षित गर्न ‘स्र्टार्टअप’ कार्यक्रममा सहकार्य गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
यस्तै, गुरु किसानको पहिचान गरी कृषि प्रसा र एजेन्टको रुपमा परि चालित गर्न संघीय सरकार र गण्डकी प्रदेश सरकारसंग समन्वय, सहकार्य गर्ने, पशुपालन विकासका लागि उन्नत पशु विउ तथा नश्ल सुधारको व्यवस्था गर्ने, रोग पहिचान, खोप कार्यक्रमलाई निरन्तरता दिइने, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सम्भाव्यता र आवश्यकता साथै मागको आधारमा चक्लाबन्दीलाई ब्यवस्थित गर्दै सामुहिक र व्यक्तिगत खेती प्रणालीलाई प्रोत्साहन गरिने भएको छ । गाउँपालिकाले निर्बाहमुखी कृषि प्रणालीलाई व्यवसायिकतामा परिवर्तन गरी रसायनिक विषादी न्यूनिकरणका साथै अर्गानिक उत्पादन मार्फत विद्यालय खाजा खुवाउने कार्यलाई अनिवार्य गर्ने भएको छ ।
दुग्ध ब्यवसायलाई प्रोत्साहन गर्दै प्रति लिटर अनुदानलाई निरन्तरता गरी याम्पा, नाहाला, बेलभञ्ज्याङ्ग, सेराटार र सुकौरालाई गाई भैसी पकेट क्षेत्र घोषणा गरी उत्पादकत्व वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने नीति ल्याइएको गाउँपालिकाले जनाएको छ । स्थानीय उत्पादनलाई प्रवर्द्धन र बजारीकरण गरी आयतलाई घटाउने नीति अवलम्बन गर्दै स्थानीय उत्पादन उपभोग गर्ने कार्यलाई बढावा दिई स्थानीय उत्पादन खरिद बिक्री गर्ने कार्यलाई प्रोत्साहित गरी ६ वटै वडामा संकलन केन्द्र स्थापना गरी कार्य सञ्चालन गरिने भएको छ ।
माटोको अवस्थाबारे जानकारी प्राप्त गर्न प्रत्येक वडामा माटो जाँच शिविर सञ्चालन गर्ने, पिपिआर, रेविज, खोरेत, लम्पी स्कीन लगायत अन्य पशु खोपको व्यवस्था गर्ने, उन्नत जातका घाँस खेती तर्फ कृषकहरुलाई उत्पेरित गरी घाँस र गोवर मलमा अनुदान कार्यक्रम सञ्चालन गर्ने, घाँसको बिउ उत्पादन गर्ने स्रोत केन्द्रको रुपमा विकास गर्दै लगिने, कृषि तथा पशुपालनका लागि दिइने अनुदानहरु निश्चित मापदण्ड र कार्यविधि अनुसार वितरण गरी पारदर्शी एवं विश्वसनिय बनाउने, कृषि तथा पशु वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गरिने भएको छ ।
यस्तै, साना सिंचाई कार्यक्रमलाई थप विस्तार गर्ने, दलित, गरिब तथा विपन्न वर्गलाई विशेष प्राथमिकताका साथ कृषि तथा पशुपालनबाट यूवा लक्षित
कार्यक्रमलाई अभियानका साथ योजना अगाडी बढाउने, प्रदेश सरकार र केन्द्र सरकारको साझेदारी सह-लगानीमा पशुपालनलाई उत्पादन मुलक आर्थिक र रोजगारी मुलक सम्मानित पेशाको रुपमा विकास गर्ने, बन्दिपुर गाउँपालिकालाई तनहुँ जिल्लाका साथै गण्डकी प्रदेशमा नै उत्कृष्ट पशुपालन क्षेत्रको रुपमा पहिचान हुने गरी विकास गर्ने नीति गाउँपालिकाले ल्याएको छ।
गाउँपालिकाका ६ वटै वडाहरुमा तरकारीहरुको नर्सरी स्थापना गरी तरकारी उत्पादन वृद्धि गरी स्थानीय स्तरमानै बजारीकरणको व्यवस्था मिलाउने, गाउँपालिका माहुरी पालनको लागि उपयुक्त स्थान देखिएकाले सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्रको रुपमा विस्तार गर्ने, गाउँपालिका भित्र दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ ।
गाउँपालिकाको तेह्रौ गाउँसभाबाट पशु आहारको रुपमा रहेको दाना उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने, गाउँपालिका भरी उपयुक्त स्थानमा हाट बजार सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रोत्साहन र प्रबर्द्धन गर्ने, व्यवसायीक कृषकहरुको प्रोफाइल तयार गर्ने, एभोकाडो, ड्रयागन फुड, मेवा, काफल, लिची, तरबुजा, कालो उखु, हलुवावेद जस्ता नयाँ प्रकारका फलफूलहरुको खेतीको विकास र विस्तार गर्ने नीति पास गरिएको छ ।
यस्तै, बन्दिपुरको पर्यटनलाई लक्षित गरी खरायो पालनलाई थप प्रोत्सा हन गर्ने, बंगुर र माछा पालन व्यवसायलाई थप विस्तार गर्ने, स्थानीय बजारमा खपत हुने खाद्यान्नहरु, बदाम, सखरखण्डा, तिल, तोरी जस्ता उत्पादनको थप प्रवर्द्धन र विस्तार गर्ने नीति गाउँपालिकाले ल्याएको छ।










