मुग्लिन-पोखरा सडक विस्तारमा भएको ढिलासुस्ति प्रति पर्यटन व्यवसायी चिन्तित
भञ्ज्याङ समाचारदाता/दमौली

गण्डकी प्रदेशको लाइफलाइनका रुपमा लिइएको पृथ्वीराजमार्गलाई चारलेनमा विस्तार गर्ने गरी स्तरोन्नतीका काम भइरहेको छ । राजमार्गको मुग्लिन-पोखरा खण्डलाई दुइ भागमा विभाजन गरी अहिले सडक विस्तारको काम भइरहेको छ ।
तनहुँको आँवुखैरेनी-जामुनेलाई पूर्वीखण्ड र जामुने-पोखरालाई पश्चिमखण्डमा विभाजन गरी सडक चौडा गर्ने, टेवा पर्खाल निर्माण गर्ने, पुल निर्माण लगायतका कामहरु भइरहेका छन् । सडक विस्तारको काम जुन रुपमा अगाडि बड्नु पथ्र्यो त्यो नभई सुस्त र लापरवाही भएको भन्दै गण्डकी प्रदेशका पर्यटन व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३२ दशमलव पाँच प्रतिशत प्रगति भएको र जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा ८ प्रतिशत प्रगति भएको र कामले गतिलिन नसक्दा पर्यटन व्यवसाय समेत प्रभावित हुँदै आएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।
पोखरा पर्यटन परिषद पोखराले आइतबार निर्माणाधिन राजमार्गको स्थलगत अवलोकन गरी दमौलीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको थियो । राजमार्गले छोएका तनहुँका पालिकाहरु शुक्लागण्डी नगरपालिका, म्याग्दे गाउँपालिका, व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका प्रमुख/अध्यक्ष, स्थानीय सरोकारवाला निकाय, प्रशासन, उद्योगी, व्यवसायीहरुको सहभागितामा गरिएको उक्त कार्यक्रममा सडकको काममा ढिलासुस्ती हुँदा सर्वसाधारणले सास्ती झेल्नुपरेको गुनासो गरेका थिए ।
यस्तै, पोखरा पर्यटन परिषद्ले सडक विस्तारको कामले गति नलिदा आम उपभोक्ता, नीजि क्षेत्र र पर्यटन जगतमा थुप्रै गुनासोहरु उब्जाएको जनाएको छ । ‘सडक विस्तार कार्य अगाडि विस्तार कार्य अगाडि बढ्नु सकारत्मक पक्ष हुँदाहुँदै पनि निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तारकार्यबाट सेवाग्राहीले कठिनाई र झण्झटहरु भेग्दै आउनुपरेको छ’, परिषद्ले भनेको छ ।
पत्रकार भेटघाटमा सहभागिहरुले नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रलाई सडकको अवस्थाले ठूलो क्षति पुर्याएको बताएका छन् । काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चहाने पर्यटकले सिंगो दिन खर्चनुपर्ने अवस्था भएकाले पर्यटन व्यवसायमा नकरात्मक असर पर्दै गएको पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले बताए ।
उनले भने, ‘सडक विस्तारमा ढिलासुस्ती हुँदा पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ । नीजि क्षेत्रले विक्रियोग्य वस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको छ । भुकम्प र नाकाबन्दिपछि कोभिड-१९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रकका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिसाप बन्न पुगेको छ ।’
‘खर्बौ रुपैयाँको लगानि रहेको पोखरा क्षेत्रको पर्यटनका लागि यो सुखद पक्ष होइन’, अध्यक्ष श्रेष्ठले भने, ‘औपचारिक रुपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि त यो झनै नकारत्मक अवस्था हो । सडक विस्तार कार्य सुरु भएको यतिका समय गुज्रदा पनि निकै कम प्रतिशतमात्र प्रगति हुनु निरासजनक र दुःखद पक्ष हो ।’
पोखरा पर्यटन परिषद्, पर्यटन व्यवसायी, उद्योगीहरुले मुग्लिन-पोखरा सडक खण्डको विस्तार र स्तरोन्नती कार्यलाई तीब्रता प्रदान गरी समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । निर्माण पक्षले राजमार्गको पूर्वी खण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा सात किलोमिटर कालोपत्रको काम सुरु गरिसकेको छ ।
पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । सरकारले मुग्लिन-पोखरा सडक विस्तारका लागि चालु आर्थिक वर्षा रु पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ ।
यस्तै, पश्चिम खण्ड अन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ ।
विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
चार लेनमा सडक विस्तार गर्दा सडक सीमा दुइतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।
दमौलीमा घर भत्काइँदै
यस्तै, पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक विस्तार योजना अन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन-पोखरा सडक योजना -पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो ।
यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले बताए । उनले भने, ‘बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।’
आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनले बताए । यो खण्डमा ५०५ घरटहरा भत्काउनुपर्नेमा हालसम्म ३५० घरटहरा भत्काइसकिएको छ । घरटहरा भत्काउँदा रु २६ करोड मुआब्जा निर्धारण भएकामा हालसम्म रु १७ करोड ५० लाख मुआब्जा वितरण गरिएको प्रमुख सुवेदीले जानकारी गराए ।
व्यास नगरपालिकाले पनि आफ्नो कार्यक्षेत्रभित्र सडक केन्द्रविन्दुबाट दायाँबायाँ २५ मिटर सडक क्षेत्र भई लागत कट्टा भएकाले सो सडक क्षेत्रभित्रका संरचना हटाइ सडक निर्माणमा सहयोग पुर्याउन आग्रह गरेको छ ।










