भिमादको कृषि नीति : कृषि पेशाको महत्व र आवश्यकता बुझाउन “विद्यालय कृषि शिक्षा कार्यक्रम”

नारायण खड्का/भञ्ज्याङन्यूज

दुध उत्पादन र कृषि व्यवसाय विस्तार गरी कृषकको जीवनस्तरमा सुधार ल्याउन पशुको नश्ल सुधार र कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकतामा

तनहुँको भिमाद नगरपालिकाले कृषि पेशाको महत्व र आवश्यकाता बुझाउन विद्यालयस्तरबाटै कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । नगरपालिकाले चालु आर्थिक वर्षो नीति तथा कार्यक्रममा ‘विद्यालय कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

नगरपालिकाले माध्यमिक तहका विद्यार्थीहरूलाई लक्षित गरी तनहुँ प्राविधिक शिक्षालयसँगको समन्वय तथा सहकार्य गरी विद्यार्थीहरुलाई कृषि पेशाको महत्व तथा आवश्यकताल बुझाई केषि पेशा तर्फआकर्षित गराउन ‘विद्यालय कृषि शिक्षा कार्यक्रम’ सञ्चालन गर्ने नीति ल्याइएको नगरप्रमुख दधिराज सुवेदीले बताए ।

उनले भने, ‘अर्थतन्त्रको मूल आधार कृषि र पशुपालन नै रहेकाले कृषि क्षेत्रलाई व्यवसायीकरण एवं यान्त्रिकीकरण गर्ने, पर्यटनको विकास, साना तथा लघु उद्यम विकास मार्फ व्यापार प्रबर्द्धन गरी रोजगारीको सिर्जनाबाट आत्मनिर्भर हुन सकिन्छ भन्ने कुरामा जोड दिदै आर्थिक विकासमा टेवा पुग्ने गरी नीति तथा कार्यक्रम तय गरिएको छ ।’

कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने तथा स्वस्थ र स्वच्छ कृषि उपजको उपलब्धता सुनिश्चित गरी खाद्य सुरक्षाको प्रत्याभूति गर्दै कृषि पेशालाई आयआर्जनको महत्वपूर्ण पेशाको रुपमा विकास गर्ने कार्यक्रमलाई प्राथमिकता दिएर नीति बनाइएको नगरप्रमुख सुवेदीले बताए ।

‘कृषि व्यवसाय प्रवर्द्धनका लागि आवश्यकता अनुसार सिँचाई, भण्डार गृह, हाट बजार लगायतका कृषि पर्ूवाधार निर्माण तथा सुदृढीकरण गर्नेछौं’, उनले भने, ‘यसका लागि निजी क्षेत्र, संघ संस्था सहकारी, गैरसरकारी संघ संस्थाहरूसँग समेत समन्वय तथा साझेदारी गरी अगाडि बढ्छौं ।’

सिंचाईको सुविधा नपुगेका ठाउँमा प्लास्टिक पोखरी/रिचार्ज पोखरीको निर्माण गरी वर्षातको पानी संकलन गरी सिंचाईको व्यवस्था मिलाउने कार्यक्रम नगरपालिकाले अगाडि ल्याएको छ ।

नगरपालिकाले बाँझो रहेका कृषियोग्य भूमिलाई उपयोगमा ल्याई कृषि क्षेत्रको समग्र उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्नका लागि बाँझो जग्गामा खेती गर्नका लागि उपलब्ध गराउँदै आइएको अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यस्तै, कृषि क्षेत्रमा वानस्पतिक विषादी तथा स्थानीयस्तरमा उपलब्ध स्रोत साधनहरु प्रयोग गर्दै बाली संरक्षण गर्ने उपायहरु अपनाउन प्रेरित गर्ने, कृषि क्षेत्रबाट सञ्चालित कार्यक्रम वास्तविक लक्षित वर्ग भित्र पुर्‍याउनका लागि वास्तविक कृषकको पहिचान गरी किसान परिचयपत्र उपलब्ध गराउने, फलफूल तथा मसला बालीमा नगरलाई आत्मनिर्भर बनाई छिमेकी पालिका तथा बजारमा निकाशी गर्नका लागि फलफूल तथा मसलाबाली कार्यक्रमलाई प्रोत्साहन सहित विस्तार गर्ने नीति नगरपालिकाले ल्याएको छ ।

कृषि उत्पादन वृद्धि गर्नका लागि कृषि कर्ममा सहभागी हुने कृषक, कृषक समूह, कृषि फर्म र कृषि सहकारीहरुलाई लक्षित गरी मागमा आधारित क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने नीति लिएको नगरपालिकाले नगरभित्र उत्पादन भएर बाहिर निकासी हुने कृषि तथा पशुपन्छीजन्य उत्पादनको उपभोग, संकलन, प्रशोधन तथा प्रवर्द्धनका लागि लघु उद्योग तथा कृषि सहकारीहरुलाई प्रोत्साहन गर्ने भएको छ ।

नगरपालिकाको पशु सेवा शाखा तथा सेवा केन्द्र मार्फ वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुहरुमा लाग्ने आन्तरिक तथा बाहृय परजिविहरुको पहिचान गरी निःशुल्क रूपमा औषधी वितरण तथा उपचार सेवा प्रवाह गरिने भएको छ । पशुपालन व्यवसायलाई सुरक्षित, व्यवस्थित तथा प्रतिफलमूखी बनाउनुका साथै जनावरबाट र्सर्ने रोगहरुबाट मानव जीवनलाई सुरक्षित बनाउनको लागि पि.पि.आर., रेबिज, लम्पीस्किन, खरित तथा स्वाईन फिवर रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने कार्यक्रम ल्याइएको नगरप्रमुख सुवेदीले बताए ।

यस्तै, दुध उत्पादन र कृषि व्यवसाय विस्तार गरी कृषकहरुको जीवनस्तरमा सुधार ल्याउन पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने भएको छ। दुध उत्पादन तथा दुधजन्य पदार्थको उत्पादकत्व वृद्धि गरी नगरपालिकालाई दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रहरुको विस्तार गर्ने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।

हाल कायम रहेका कृषि पकेट क्षेत्रहरूलाई विस्तार एवं स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, अर्गानिक तरकारी, बीउ उत्पादन र दूध तथा मासु लगायतका थप विषयहरूमा पकेट क्षेत्रहरू विस्तार गर्ने कार्यक्रम नगरपालिकाले अगाडि ल्याएको छ । नगरपालिका भित्र पाइने रैथाने खरी जातको बाखा हाल लोप हुने जोखिममा रहेको हुँदा त्यसको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरी स्रोतकेन्द्रको रुपमा विकास गर्ने अगाडि बढ्ने नीति नगरपालिकाले लिएको छ ।

कृषि तथा पशुपक्षी क्षेत्रमा हुने जोखिमलाई न्यूनीकरण गर्न नगरपालिकाले कृषि तथा पशु बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पुर्‍याउन विभिन्न संघ संस्थाहरूसँग सहकार्य गर्ने भएको छ । कृषि उत्पादन बृद्धि गरी खाद्यान्न उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउन खेती योग्य जमिनमा ब्यवस्थित सिंचाई सुविधा पुर्‍याउन पक्की बाँध कुलो निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने नीति लिइएको नगरप्रमुख सुवेदीले बताए ।

यस्तै, कृषकहरुलाई प्रोत्साहित गर्न ‘एक वडा एक उत्कृष्ट कृषक’ सम्मान गर्ने नीति लिइएको नगरपालिकाले कृषि क्षेत्रमा नगरपालिकाबाट प्रदान गरिने अनुदानलाई समन्यायिक बनाई उच्चतम् प्रतिफल हासिल गर्न प्रकृति हेरी अनुदानको हिस्सामा विविधिकरण गर्ने भएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker