तनहुँमा जग्गाको कित्ताकाट खुला गर्न ढिलाइ

तनहुँका स्थानीय तहहरूले जग्गा कित्ताकाट खुला गर्न ढिलाइ गरेका छन् । चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा पालिकाहरूले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट खुलाइमा ढिलाइ भएको हो ।
जिल्लामा म्याग्दे गाउँपालिकाले मात्र जग्गा वर्गीकरण सम्पन्न गरी कित्ताकाट खुला गरेको छ । कित्ताकाट खुला गर्नेमा म्याग्दे पहिलो बनेको छ । उसले मालपोत , नापी र जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिमा जग्गा वर्गीकरण पुस्तक हस्तान्तरण गरेको छ ।
विसं २०७९ साउनबाट रोकिएको जग्गाको कित्ताबाट म्याग्दे गाउँपालिकामा खुलेको मालपोत कार्यालयका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिनुभयो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गत जेठ २७, साउन ३१, भदौ १९ र मङ्सिर ११ को परिपत्रबाट प्राप्त निर्देशनका साथै भूउपयोग ऐन, २०७६ को दफा ४ तथा भूउपयोग नियमावली, २०७९ को नियम ५, अनूसूची १ मा भएको व्यवस्थासमेतको आधारमा म्याग्देले जग्गा वर्गीकरण सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।
“जग्गा वर्गीकरण सम्पन्न भएपछि पुस्तिका प्रकाशित गरी नापी कार्यालय, मालपोत कार्यालय, सङ्घीय भूउपयोग परिषद्, नापी विभाग, प्रदेश भूउपयोग परिषद्मा पठाइएको छ”, उहाँले भन्नुभयो ।
गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम आम नागरिकको जानकारीका लागि उक्त विषय राजपत्रमा प्रकाशित गरिसकेको छ । प्रमुख मालपोत अधिकृत पौडेलले म्याग्देले मन्त्रालयको निर्देशन समयमा नै पूरा गरेको जनाउँदै आम जनताको चासो तथा सरोकारको विषयमा देखाएको क्रियाशीलता सकारात्मक रहेको बताउनुभयो । “तनहुँका अन्य पालिकाले पनि जग्गाको वर्गीकरण सम्पन्न गर्नेतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।
जग्गाको वर्गीकरणसँगै गैरकृषि क्षेत्रमा चार आना एक पैसा र कृषि क्षेत्रमा दुई रोपनी जग्गाको कित्ताकाट गर्न बाटो खुलेको म्याग्देका अध्यक्ष श्रेष्ठले बताउनुभयो । “यसले गर्दा आम जनतालाई ठूलो राहत पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । जिल्लाको व्यास नगरपालिकाले जग्गाको वर्गीकरणका लागि १४ वटै वडामा पुगेर अन्तक्र्रिया सम्पन्न गरेको छ ।
नगरपालिकाले भू–उपयोग ऐनअनुसारको गैरकृषि क्षेत्रका जग्गाहरूको थप वर्गीकरण गर्न परामर्श सेवा लिने निर्णय गरेको प्रवक्ता कुमार गुरुङले बताउनुभयो । जिल्लाका अन्य केही गाउँपालिकाले पनि काम सुरु गरे पनि जग्गाको वर्गीकरण गर्न सकेका छैनन् ।