यही वर्षदेखि आँबुखैरेनी अस्पतालमा ‘डायलायसिस’ सेवा संचालन गरिने

दमौली

तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो ।

करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो ।

यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलगायतको ध्यानाकर्षण गराइएको थियो । सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयको प्रयासले सार्थकता पाएको छ, अब यही आर्थिक वर्षभित्रै अस्पतालमा डायलायसिस सेवा सुरु हुन्छ ।”

मिर्गौलापीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेकोे थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौलापीडित रहेकाले उनीहरूलाई सहजरूपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ ।

उहाँले भन्नुभयो, “यहाँका मिर्गौला बिरामीहरू भरतपुर, दमौली, पोखरासम्म पुगेर डायलायसिस गर्नुपर्ने बाध्यता छ । तैपनि भनेको बेला समय नपाउँदा उहाँहरूलाई निकै दुःख भइरहेको छ ।”

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गाैलापीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ ।

गाउँपालिकाले आँबुखैरेनी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा अस्पतालबाट शल्यक्रिया सेवा सुरु गरिने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “ठूला शल्यक्रिया गर्नुपरेमा महिनामा एकपटक विशेषज्ञ चिकित्सक ल्याएर सेवा दिइनेछ । केही शल्यक्रिया भने नियमितरूपमा अस्पतालमै हुनेछ ।”

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फत ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । उहाँले प्रजनन स्वास्थ्य, पाठेघर ‘क्यान्सर’ परीक्षण कार्यक्रमलाई जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उहाँले उल्लेख गर्नुभयो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker