म्याग्देको नीति : गाउँपालिकालाई स्मार्ट र नगरोन्मुख बनाउने

म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाको आगामि आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गरिएको छ । अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको गाउँसभाको १६औं अधिवेशनवबाट आठौ नीति तथा कार्यक्रम पारित गरिएको हो । गाउँसभाबाट क्षेत्रगत रुपमा विभिन्न नीतिहरु पारित गरिएको छ ।
गाउँपालिकाले कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसंग कृषि कार्यक्रम संचालन गर्ने भएको छ । ‘आलीदेखि नालीसम्म, खाद्य स्वच्छता कायम गर्न बसे पनि शहर गाउँकै खाने रहर’ नारालाई व्यवहारिक रुपमा कार्यन्वयनका लागि कोदोको मःम, कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, बेलको जुस उत्पादन, बजारीकरण गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
यस्तै, पशुसेवा तथा प्रसार कार्यक्रम अन्तर्गत अध्यक्षसंग पशु कार्यक्रम सञ्चालन गरिने नीति ल्याएको गाउँपालिकाले घरेलु तथा साना उद्योग तर्फका विभिन्न कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय सीप श्रोत, साधन एवं प्रविधिको प्रयोगलाई बढावा दिईने, व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने, स्थानीय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गर्ने भएको छ ।
र्
पर्यटन, सहकारी विकास, बैंक तथा वित्तीय क्षेत्रलाई समेत प्राथमिकतामा राखेको गाउँपालिकाले समाजिक विकास समिति तर्फशिक्षा क्षेत्रलाई प्राथमिकता दिईएको छ । साथीबाट सिक्ने, साथीलाई सिकाउने कार्यक्रमलाई विशेष महत्व दिईने भएको छ ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्र तर्फ ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भन्ने नारालाई स्वास्थ्यको मुल आधार बनाएको छ । युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा, अपाङ्गता, ज्येष्ठ नागरिक र अन्य तर्फा कार्यक्रमलाई उपाध्यक्षसंगको कार्यक्रममा जोडी अगाडी बर्ढाईने भएको छ ।
खानेपानी तथा सरसफाई फोहारेमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाउँपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नीतिलाई अवलम्वन गरिने भएको छ । भाषा र संस्कृति र साहित्य तर्फस्थानीय मौलिक सांस्कृतिक पर्यटन र उत्पादनसँग जोडेर विकास गरिने नीति गाउँपालिकाले ल्याएको छ ।
यस्तै, गाउँपालिकालाई स्मार्ट तथा नगरउन्मुख गाउँपालिका बनाउन पाँच वर्ष भित्र निरन्तर कार्यन्वयन गर्ने गरी लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसंग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिव विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गर्ने नीति गाउँपालिकाको रहेको छ ।
गाउँपालिकाले सडक तथा पुल कल्भर्ट र झोलुङ्गे पुल निर्माण, भवन तथा शहरी विकास तर्फा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भएको छ । पालिकामा जग्गा चक्लाबन्दी तथा बस्तिविकास योजनालाई व्यवस्थित गरिने, विद्युत तथा उर्जा क्षेत्रलाई प्रभावकारी बनाईने, सिंचाईलाई व्यवस्थित गरिने, संचार र प्रविधिको भरपुर प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै, वन, तथा वातावरणको क्षेत्र विपद व्यवस्थापन, भुमि व्यवस्थापन गरिने, न्यायिक सम्पादन, राजश्व परिचालनलाई प्रभावकारी बनाउने, वित्तीय अनुशासन कायम गर्ने, समाजिक सुरक्षाको क्षेत्रलाई लगायतका विषयलाई प्रभावकारी रुपमा अगाडि बढाउने गरी नीति तथा कार्यक्रम ल्याइएको छ ।










