बलात्कार आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँमा १२ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले बालिका बलात्कार आरोपमा ऋषिङ गाउँपालिका-७ का झुलबहादुर थापालाई पक्राउ गरेको हो ।
ऋषिङ गाउँपालिका स्थित ज्यामिरेमाई प्राथमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका थापाले गत साउन ३१ गते बालिकालाई उनकै घरमा गई बलात्कार गरेको भन्दै पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएका थिए ।
घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अबदेश विष्टले जानकारी दिए । बालिका बलात्कारको घटना सार्वजानिक भएपछि मिलापत्रकालागि गाउँपालिकाका जनप्रतिनिधिको रोहबरमा बैठक समेत बसेको बताइएको छ ।
उक्त बैठकमा आरोपितले घटनाको मिलापत्रकालागि पीडित परिवारलाई २ लाख रुपैयाँ दिने प्रस्ताव गरेपनि पीडित परिवारले मिलापत्रमा सहमत नभई थापा विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।










