डेंगु नियन्त्रणका लागि दमौलीमा “खोज र नष्ट गर” अभियान

भञ्ज्याङन्यूज

तनहुँको दमौलीमा डेंगु संक्रमण फैलिएसंगै अहिले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ । व्यास नगरपालिकाको वडाका टोलटोलमा अहिले डेंगु संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सचेतनामूलक कार्यक्रमसंगै लामखुट्टेको लार्भा र अण्डा नष्ट गर्ने अभियान चलाइएको हो ।

दमौलीमा डेंगु संक्रमण महामारिकै रुपमा फैलिएपछि रोकथाम तथा न्यूनिकरणका लागि संघीय स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य कार्यालय, विश्व स्वास्थ्य संगठन लगायतका चिकित्सक सहितको विशेषज्ञ टोली अहिले दमौलीका टोलटोल र गल्लीगल्लीमा खट्टएिको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले बताए।

डेंगु संक्रमणले भयवह रुप लिएपछि अहिले खुला क्षेत्रको सरसफाई गरेर डेंगु फैलाउने लामखुट्टे नियन्त्रणमा सम्भव नभएपछि घरघरमा लामखुट्टे ‘खोज र नष्ट गर’ कार्यक्रम चलाइएको उनले बताए। नगरप्रमुख न्यौपानले भने, ‘नगरपालिका, स्थानीय प्रशासन, रेडक्रस, स्वास्थ्य कार्यालय सहित सबै निकाय लामखुट्टेको लार्भा तथा अण्डा नष्ट गर्ने अभियानमा जुटेका छन् ।’

कात्तिक महिनाभर डेंगुको संक्रमण बढ्ने र यस वर्ष नियन्त्रणमा लिइएपनि पुनः अर्को वर्ष समेत संक्रमण थप बढ्न सक्ने जोखिम रहेको चिकित्सकहरु बताउँछन् । फूलबारी, गमला, एसी, प|mीज, छत, कौसीको पानी जम्ने ठाउँमा डेंगु संक्रमण फैलाउने लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकाले सधैंभरी जोखिम रहने हुँदा खोज र नष्ट गर अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताए ।

यस्तै, दमौली अस्पताललगायत जिल्लाका अस्पताल तथा क्लिनिकमा डेंगुका बिरामी बढेपछि व्यास नगरपालिकाले विद्यालय विद्यालयमा स्वास्थ्यकर्मी मार्फत सचेतना प्रदान गर्न पनि थालेको छ । अहिले दैनिक डेंगुका बिरामीले अस्पतालमा भरिन थालेका छन् । संक्रमितको उपचार तथा परीक्षणलाई सहज बनाउन नगरपालिकाले दमौली अस्पतालमा एक डाक्टर, दुइ ल्याबका कर्मचारी र दुइ जनालाई इमर्जेन्सीमा परिचालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

उनले भने, ‘डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मी खटाउनुका साथै बालबालिकालाई सचेत गराउने उद्देश्यले प्रत्येक विद्यालयमा पुगेर सचेतनाका कार्यक्रम फैलाउन थालिएको छ । बालबालिकालाई सचेत बनाउन सके रोगको संक्रमण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा सहित स्वास्थ्यकर्मी खटाइएको हो।’

जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलीसहित विद्यालयमै पुगेर डेंगु सम्बन्धी रोकथाम तथा नियन्त्रण, खोज र नष्ट गर्ने तरिकाका विषयमा विद्यार्थीलाई सचेत गराउने गरिएको छ । टायर, जार, नाली लगायतमा डेङ्गुको संक्रमण सार्ने लामखुट्टे बढी मात्रामा बस्ने भएकाले सरसफाइमा ध्यान दिनसमेत आग्रह गरिएको छ ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जिल्लामा हालसम्म १ हजार ९७३ जनामा डेंगुको संक्रमण भएको जानकारी गराए । सबैभन्दा बढी डेंगुको संक्रमण व्यासको वडा नं २ र ३ मा रहेको छ ।

जिल्लाका दमौली अस्पताल, समाधान अस्पताल, रत्नहरी अस्पताल, व्यास सिटी अस्पताल, शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा केही संक्रमित बिरामीको उपचार भइरहेको छ । अधिकांश डेंगु संक्रमितहरु पोखरा, चितवन र काठमाडौंसम्म पुगेर उपचार सेवा लिनुपर्ने बाध्यता रहेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker