‘दसैँ नेपालीको साझा चाड’ : एमाले अध्यक्ष ओली

झापा : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ नेपालीको ‘साझा चाड’ र ‘समृद्ध नेपाल र सुखी नेपाली’ को साझा आकांक्षा भएको बताउनुभएको छ ।

बडादसैँ, तिहार, छठ, नेपाल संवत् लगायतका चाडपर्वको अवसरमा आज गृहजिल्ला झापाको विर्तामोडमा आयोजित कार्यक्रममा उहाँले दसैँको सांस्कृतिक महत्त्वमाथि चर्चा गर्दै सबै नेपालीले दसैँलाई उल्लासपूर्वक मनाउने गरेको बताउनुभयो ।

अध्यक्ष ओलीले विविधतायुक्त नेपाली समाजमा दसैंले आपसी सद्भाव, सहकार्य र सहिष्णुताको सकारात्मक सन्देश प्रवाहित गर्न सफल रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामनासमेत गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले जमरा र अक्षता लगाउने चलनले दसैँलाई विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै पारिवारिक र सामाजिकरूपमा टाढिएको सम्बन्धलाई पनि दसैँको टीका र आर्शिवाद ग्रहण गर्ने परम्पराले फेरि नजिक ल्याइदिने बताउनुभयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले मुलुक आर्थिक दृष्टिले सङ्कटमा आइपुगेको चर्चा गर्दै यसको जिम्मेवारी वर्तमान गठबन्धन सरकारले लिनुपर्ने जिकीर गर्नुभयो । उहाँले महँगी आकासिएर गरिबको चुलो नबल्ने अवस्था आए पनि सरकारले चाडपर्वका बेला बजारलाई व्यवस्थित गर्न नसकेको आरोप लगाउनुभयो ।

नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं पूर्वमन्त्री धर्मशिला चापागार्इंले मुलुकमा जनताको बलिदानबाट प्राप्त लोकतान्त्रिक अधिकार खोस्न चाहने शक्ति सलबलाइरहेको हुँदा परिवर्तनका पक्षधरहरू सचेत रहनुपर्ने बताउनुभयो । उहाँले परिवर्तन पक्षधर दलहरू आपसमा मिलेर अघि बढ्नुको विकल्प नरहेको जिकिर गर्दै प्रतिगामी चुनौतीलाई परास्त गर्न जनान्दोलनमा सहभागी भएका राजनीतिक शक्तिबीच सहकार्य बलियो हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागार्इंले सबै राजनीतिक दलका नेतालाई आमन्त्रित गरेर दसैँमा शुभकामना आदानप्रदान गर्ने चलनले राजनीतिक शक्तिहरूबीच सम्बन्ध सौहार्दपूर्ण बनाउन मद्दत पुगेको बताउनुभयो ।

विसं २०५१ मा नेपालमा पहिलो कम्युनिस्ट सरकार गठन भएपछि हरेक वर्षको दसैँको नवमीका बेला अध्यक्ष ओलीले गृह जिल्लामा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आउनुभएको छ ।

एमाले झापा जिल्ला कमिटीले व्यवस्थापन गर्दै आएको सो कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका जिल्लास्थित मुख्य नेता सहभागी हुँदै आएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker