बन्दीपुर अस्पतालमा पखाला र ज्वरोका बिरामी बढे

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालमा पखाला, ज्वरो, टाइफाइड, डेंगु र रुघाखोकी लगायतका मौसमी बिरामीको संख्या वृद्धि हुन थालेको छ। १५ शय्या क्षमताको सो अस्पताल केही दिनदेखि बिरामीले भरिभराउ हुन थालेको छ ।
हाल अस्पतालमा दैनिक १०० बढी बिरामी उपचारका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिल गिरीले जानकारी दिए । उनले भने, “यसअघि दिनमा ३५/४० बिरामी आउने गरेका थिए । अस्पतालबाट प्रभावकारी सेवा पाउन थालेपछि बिरामीको चाप बढ्दै गएको छ ।”
बिरामीको संख्या दैनिक बढ्दो गएपछि पानीको स्रोतमा ‘कोलिफर्म’ परीक्षण गर्न थालिएको छ। “अस्पतालमा चौबिसै घण्टा सेवा दिन आएको छौँ”, उनले भने, “वैशाख १ गतेदेखि बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा दिइएको छ ।”
उपचारमा आउने बिरामीलाई टिकट निःशुल्क गरिएको छ । बन्दीपुर गाउँपालिकाका साथै छिमेकी पालिका व्यासनगर, आँबुखैरेनी र गोरखा पालुङ्गटारबाट समेत यहाँ बिरामी उपचारका लागि आउने गरेका छन् ।
स्वास्थ्य बिमा कार्ड र अस्पतालको टिकट कार्ड देखाएमा बन्दीपुर केवलकारले रु २०० मा आवतजावत गर्ने सुविधा दिएपछि गोरखा पालुङटारबाट आउने बिरामी संख्या बढ्न थालेका छन् ।