नेपाल सम्वत ११४४ : तनहुँका नेवार समुदायद्वारा र्याली सहित नयाँ वर्षको स्वागत (तस्विरसहित)
भञ्ज्याङन्यूज

आजदेखि नेपाल सम्वत ११४४ सुरु भएको छ । देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल सम्वतको नयाँ वर्ष मनाइँदैछ ।
तनहुँका नेवार समुदायले पनि आफ्नो जातीय पहिचान झल्कने पहिरनमा सजिएर बाजागाजा सहित र्याली प्रदर्शन गरी नयाँ वर्षको स्वागत गरेका छन् ।

तनहुँको १० वटै पालिकामा नेवार समुदाय बसोवास रहेका स्थानमा नेपाल सम्वत ११४४ विविध कार्यक्रम गरी मनाइएको छ ।
जिल्लाको सदरमुकाम दमौली, बन्दिपुर, आँवुखैरेनी, दुलेगौंडा लगायतका बजार क्षेत्रमा नेपाल सम्वतका अवसरमा शुभकामना आदानप्रदान, साँस्कृतिक झाँकी प्रदर्शन लगायतका कार्यक्रम गरिएका छन् ।

खासगरी नेपाल सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । काठमाडौं उपत्यका लगायत देशैभर हर्षोउल्लासका साथ नेवार समुदायले नयाँ वर्ष मनाउने गरिन्छ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल सम्वतको सुरुवात गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

गरिब जनताको ऋण मोचन गराइ सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वतसमेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराइले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिकक कृष्ण औंसीका दिन बही खाता बन्द गरी नयाँ वर्षअर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा अझै छ ।

आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।











