जिपि कोइरालाका स्वास्थ्यकर्मी सहित तनहुँमा १८ जना नयाँ कोरोना संक्रमित थपिए
- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा आज १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन । शुक्लागण्डकी नगरपालिका स्थित जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारी तथा व्यास नगरपालिका र देवघाट गाउँपालिकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित भेटिएका हुन ।
स्वास्थ्य निर्देशनालय पोखराले र्सार्वजनिक गरेको विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जिपि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत २६, २४, ४७ उमेर समुहका ३ जना महिला र २८, ४७ उमेर समुहका २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु केन्द्रका चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनमा कार्यरत रहेको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराएका छन ।
यस्तै, चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा गरिएको परिक्षणमा देवघाट गाउँपालिका वडा नं. २ का २३ वर्षीय र वडा नं. ४ का ८० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । सोही प्रयोगशालामा गरिएको परिक्षणमा व्यास नगरपालिका-११ की २६ वर्षीया महिला र वडा नं. २ का ३९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा व्यास नगरपालिकाका ३ जना महिला र ६ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार वडा नं. १ का ३८ वर्षका पुरुष, वडा नं. ९ का ३६ र ३५ वर्षका पुरुष र ६५ वर्षीय महिला, वडा नं. २ का ३४ र ३६ वर्षका पुरुष, वडा नं. ११ का ३८ वर्षीय महिला, वडा नं. ५ का ३८ वर्षका पुरुष र ६७ वर्षीय महिलामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।










