ऋषिङलाई जातीय छुवाछूतमुक्त बनाइने

भञ्ज्याङन्यूज

“जातीय विभेद गर्न हुँदैन भनेर भाषण गरेर मात्रै समाजबाट छुवाछूत हट्दैन”, ऋषिङ गाउँपालिका-३ दुवुङस्थित मगर गुठ समाजका अध्यक्ष लालबहादुर आलेमगरले भने “सबै जात एउटै हो भन्ने कुरा अब व्यवहारमै देखिनुपर्छ । बल्ल जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन सकिन्छ ।”

ऋषिङ गाउँपालिकाको कार्यालयले पालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानमा गरिएको सुझाव संकलनका क्रममा गुठी समाजका अध्यक्ष आलेमगरले आफूहरूले जातीय विभेद र छुवाछूतमुक्त समाज बनाउन गुठ समाजमा दलितहरू समेत मिसाएको बताए। दुवुङमा रहेका ६५ घर मगरहरूसँगै छ घर दलितलाई समावेश गरेर मगर गुठ बनाइएको अध्यक्ष आलेमगरको भनाइ छ ।

ऋषिङ गाउँपालिकालाई जातीय विभेद र छुवाछूतमुक्त बनाउने अभियानका क्रममा ऋषिङ १, २, ३, ४ र ५ मा र्सवपक्षीय कार्यक्रम गरिसकिएको पालिकाले जनाएको छ । अभियानका क्रममा दलित, शिक्षक, महिला, कर्मचारी, जनजातिलगायत सँग परामर्श, छलफल गरिएको थियो । ऋषिङ-१ झापुटारमा वडाअध्यक्ष कुशबहादुर थापा, ऋषिङ-२ काहुँशिवपुरमा वडाअध्यक्ष दलबहादुर थापा, ऋषिङ-३ दुवुङमा वडाअध्यक्ष भीमबहादुर थापा, ऋषिङ-४ भिरकोटमा वडाअध्यक्ष प्रेमराज श्रेष्ठ र ऋषिङ-५ राम्जाकोटमा वडाअध्यक्ष बुद्धिमान रानामगरलगायत पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, पालिका उपाध्यक्ष गिनुमाया थापा र पालिकाका प्रमुख प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट लगायतले सहभागीबाट उठेका जिज्ञासाको समाधान र सुझावअनुसार आगामी कार्यक्रम तय गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको कार्यपालिका सदस्य दिलबहादुर नेपालीले बताए ।

समाजको कलङ्कका रूपमा रहेको जातीय विभेद र छुवाछूतलाई हटाउन आफूहरूको साथ र सहयोग रहने ऋषिङ-१ झापुटारस्थित शुक्ला माविका प्रधानाध्यापक केशर थापामगरले बताए । “ऋषिङ गाउँपालिकाको कार्यालयले छुवाछूत हटाउन गरेको कार्यक्रमलाई सकारात्मक रूपमा लिएको छु”, प्रधानाध्यापक थापामगरले भने, “वैज्ञानिक समाजमा पनि जातीय विभेद हामीले मान्ने कुरा हुँदैन । यसलाई हटाउन सबै जुट्न आवश्यक छ।”

दलित समुदायलाई मात्रै भेला गरी कार्यक्रम गर्दा प्रभावकारी नहुने भएकाले दलित र गैरदलितसहितको कार्यक्रम गरी छुवाछूत र जातीय विभेद अन्त्य गर्न छलफल गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । पालिकालाई पाँच वर्षभत्र छुवाछूत र जातीय विभेदमुक्त बनाउन विद्यालय, स्वास्थ्य संस्था र समुदायस्तरबाट अभियान व्यापक गर्ने गरी छलफल थालिएको पालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

आफू जहिल्यै ऋषिङको जनताको आवश्यकता र विकासको पक्षमा रहेकाले कहिल्यै ऋषिङको जनता र विकासप्रति धोका र घात नगर्न प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठको प्रतिबद्धता छ । “जातीय विभेद र छुवाछूतलाई साथमा लिएर समृद्ध ऋषिङ गाउँपालिका बनाउन सकिने कुरा भएन”, अध्यक्ष श्रेष्ठले भने “त्यसैले सबै वडाबाट छुवाछूत र जातीय विभेदविरुद्धको अभियान थालेका हौँ ।”

अभियानका क्रममा शिक्षक, विद्यार्थी, युवा, महिला, दलित लगायत अपाङ्गता भएकाहरू, टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग समेत परामर्श गरिएको र सोही सल्लाह, सुझाव अनुसार आगामी कार्यक्रम तय गरिने पालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker