गोरखा-जितगढी पदयात्रा टोलीलाई तनहुँमा स्वागत

गोरखाबाट सुरु भएको नेपाली सेनाको गोरखा-जितगढी पदयात्राको टोलीलाई तनहुँको भानु नगरपालिकास्थित सतिघाटमा मंगलबार साँझ बाजागाजासहित स्वागत गरिएको छ । ऐतिहासिक महत्व बोकेका स्थानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ मंगलबारदेखि सुरु भएको एकीकरण पदयात्रा टोलीलाई भानु नगरपालिकामा स्थानीयले भव्यताका साथ स्वागत गरेका हुन् ।

पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेका पदमार्गको प्रचारप्रसार गर्दै कोट, गढी, किल्लाको संरक्षण गर्ने र इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यसहित आजदेखि पदयात्रा सुरु भएको हो । गोरखा दरबारबाट ३० किलोमिटर दूरी पार गर्दै सतिघाट आइपुगेको अवसरमा रिपुपर्दन गणले नगरपालिकास्थित रुरु भैरव दल गणलाई पदयात्राको झण्डा हस्तान्तरण गरेको छ । भानुको सतिघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख आनन्दराज त्रिपाठीले टोलीलाई स्वागत गर्दै पदयात्राले स्थानीय र सेनाबीच सुमधुर सम्बन्ध बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय एकताको भावना जागृत हुने कार्य सम्पादन गर्ने उल्लेख भएअनुसार नेपाली सेनाको अगुवाइमा ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल पदमार्गलगायत धरोहरको संरक्षण, सर्म्वर्द्धन र प्रवर्द्धनका लागि यस वर्षपनि पदयात्रा गरिएको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ्ग शाहले बताए।

उक्त टोलीको बास आज भानुमै हुनेछ । भानुबाट भोलि प्रस्थान गर्ने टोली तनहुँको बाङ्गेरह, शेपाबगैँचा, टुहुरेपसल हुँदै तनहुँसुर पुग्नेछ । तनहुँसुर दरबारमा व्यास नगरपालिकाको समन्वयमा पदयात्रीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । तनहुँसुर पुगेर उक्त पदयात्राको झण्डा कालीभञ्जन गण (इ) लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

तनहुँसुरबाट पदयात्रा टोली तनहुँकै धेनुङ देउराली पुग्नेछ । धेनुङ देउरालीमा श्री नम्बर ३ राजदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । धेनुङ देउरालीबाट केलादीघाटसम्म पुगेको टोलीलाई श्री दि फेमस महेन्द्रदल गणलाई झण्डा हस्तान्तरण गरिनेछ । पदयात्रा टोली चैत २९ देखि आगामी वैशाख २ गतेसम्म तनहुँ खण्डमा रहनेछ।

केलादीघाटबाट नुवाकोटगढीसम्म पुग्ने टोलीले गरुणदल गणलाई झण्डा हस्तान्तरण गर्ने र आगामी वैशाख ७ गते पदयात्रा टोली नुवाकोटगढीबाट जीतगढीसम्म पुग्ने कार्यक्रम रहेको छ । पदयात्रामा से.मु. नफ्रिको फौज, बाजागाजा, राष्ट्रिय झण्डा तथा एकीकरणको दौरान स्थापना भएका पाँच प्रथम कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज) र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । गोरखाबाट जितगढीसम्मको दूरी दुइ सय सात किलोमिटर रहेको छ । नेपाली सेनाले हरेक वर्षगोरखा-जितगढी पदयात्रा गर्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker