नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गए राति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताउनुभएको हो ।

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने स्पष्ट गर्नुभयो । “नेपाल अरु कसैले आएर बनाई दिँदैन, हामी नेपाली आफँैले बनाउने हो । यो दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्छ । विशेष गरी युवामा यो हुनुपर्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गर्नुभयो । उहाँले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको तथ्यसहित तीन विषयमा प्रष्ट हुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ, यी तीनै कुरा गलत हुन् ।” उहाँले अहिले जबर्जस्त रूपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट जनतामा निराशा ल्याउने प्रयत्न भइरहेको बताउनुभयो ।

नयाँ सत्ता समीकरण बनेसँगै मुलुक सही बाटोमा आएको र अब राष्ट्रिय हित तथा विकासको गति तीव्र ढङ्गले अघि बढ्ने अध्यक्ष ओलीको भनाइ थियो । विगतमा एमाले नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको गठबन्धन बनेपछि मुलुकले निकै ठूलो क्षति बेहोर्नुपरेको भन्दै उहाँले देशका लागि नयाँ सत्ता समीकरण बनाउनुपरेको बताउनुभयो ।

“नयाँ समीकरणसँगै परिस्थिति फेरिएको हुँदा अब राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय अखण्डतालाई साँचो अर्थमा प्रयोग गर्दै हामी सुशासन र विकासको गतिलाई अघि बढाउने, जनताको जीवनस्तर सहज बनाउने काममा जुटेका छौँ”, अध्यक्ष ओलीले भन्नुभयो ।

सो अवसरमा एमाले स्थायी कमिटीका सदस्य एवं मञ्चका इञ्चार्ज डा राजन भट्टराईले मञ्चले प्रवासमा रहेका नेपालीलाई नेपाल बुझाउने काम निरन्तररुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker