एमाले तनहुँको दशौं अधिवेशन : जिल्ला नेतृत्व सर्वसम्मत बनाउने कसरत, तर पदाधिकारीमा आकाङ्क्षीको लर्को

नेकपा एमाले तनहुँको दशौ अधिवेशन आज शुक्ररबारबाट सुरु हुँदै छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । पार्टी नेतृत्व सर्वसम्मत रुपमा जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्ने कसरतमा रहेपनि पदाधिकारीमा आकाङ्क्षीको लर्को देखिएकाले दुइ प्यानल बीच चुनावी प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोख्रेलले शुक्रबार दिउँसो उद्घाटन गर्ने तय भएको अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन आयोजक कमिटीले जनाएको छ । अधिवेशनको मिति नजिकिएसंगै अहिले जिल्लामा पार्टीको पदाधाकिरीका आकाङ्क्षीका नामका विषयमा चर्चा चुलिदै गएको छ ।
बैशाख २८ र २९ गते दमौलीमा हुने दशौं जिल्ला अधिवेशनबाट नेतृत्व चयन कार्य सर्वसम्मत बनाउन नेताहरु लागिपरे पनि सर्वसम्मत हुने सम्भवना न्यून बन्दै गएको छ । नेतृत्वमा सकेसम्म सर्वसम्मत बनाउने तथा र्सवसम्मत बनाउन नसके प्यानल बनाउनबाट रोक्न नेताहरु लागि परेपनि त्यो सम्भावना देखिएको छैन ।
पार्टी स्थायी कमिटीका सदस्य किरण गुरुङ, पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य तथा तनहुँ इन्चार्ज तिलक महत, केन्द्रीय सदस्य भगवती न्यौपाने तथा निवर्तमान अध्यक्ष केदार सिग्देल, हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतका नेताहरु आगामी जिल्ला नेतृत्व सर्वसम्मत बनाउन लागि परेका छन् ।
गण्डकी प्रदेशको म्याग्दी, स्याङजा लगायतका जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हुँदा तनहुँमा पनि सर्वसम्मत बनाउन केन्द्रीय नेताहरु लागि परेका हुन् । केन्द्रीय नेताहरुविच तनहुँको नेतृत्व सर्वसम्मत बनाउन यस अघि पटक पटक छलफल समेत भईसकेका छन् । नेतृत्वका आकाङ्क्षीहरु सर्वसम्मत नेतृत्व चयन गर्न अनिच्छुक देखिएपनि सर्वसम्मत बनाउने पहल भने भईरहने नेताहरुले बताएका छन् ।
यस्तै, अधिवेशन नजिकिएसँगै आकाङ्क्षीको दौडधुप सुरु भएको छ । अध्यक्षमा हरिराज कंडेल र विष्णुभक्त सिग्देल आकाङ्क्षी छन् । निर्वाचन भएको खण्डमा दुइ प्यानल बीच प्रतिस्पर्धा हुने देखिएको छ। यदि प्यानल खडा गरी चुनाव भएमा कंडेल समूहबाट उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिवमा खिम कुमाल वा दुर्गाकुमार श्रेष्ठ उम्मेदवार बन्ने चर्चा चलेको छ भने महिला उपसचिवमा मनुमाया श्रेष्ठ, विष्णुमाया ढकालको नाम चर्चामा छ ।
यस्तै, सिग्देल समूहबाट उपाध्यक्षमा श्रीराम कार्की, सचिवमा आरके पोख्रेल वा अनिल पाण्डे, उपसचिवमा सीताराम सुर्खाली र महिला उपसचिवमा बसुन्धरा घर्तीको नाम चर्चामा छ । कंडेल समूहलाई पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारी र सिग्देल समूहलाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको बताइन्छ ।
तनहुँ जिल्ला कमिटीमा एक कार्यकाल उपसचिव समेत रहिसकेका अध्यक्ष पदका आकाङ्क्षी सिग्देल यस अघिको नवौं जिल्ला अधिवशेनमा सचिव पदमा उम्मेदबारी दिएर पराजित भएका थिए । त्यसपछि उनलाई गण्डकी प्रदेश कमिटीमा मनोनित गरी सचिवालयमा लगिएको थियो । आफु तनहुँ जिल्लाको अध्यक्षमा उम्मेदबार बन्ने भन्दै सिग्देलले यसअघि सम्पन्न गण्डकी प्रदेश कमिटीको अधिवेशनमा कुनै पनि पदमा उम्मेदबारी नदिएको बताइएको छ ।
यस्तै, हालका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाउँपालिकाको अध्यक्ष समेत रहेको हुँदा उनी पार्टी अध्यक्षमा दोहोरिन नमिल्ने हुँदा उपाध्यक्ष कडेलले अध्यक्षमा आफ्नो स्वभाविक हक लाग्ने बताउँदै आएका छन् । हालसम्म निरन्तर पार्टीको काममा क्रियाशिल रहेको र सबै जिम्मेबारी पुरा गर्दै आएको हुँदा अधिकांश नेता तथा कार्यकर्ताले आफुलाई अध्यक्षको रुपमा हेर्न चाहेको उनले बताउँदै आएका छन् ।
एमाले तनहुँले दशैं जिल्ला अधिवेशनका लागि तय गरेको लोगो समेत सार्वजनिक गरिसकेको छ । पार्टीले सार्वजनिक गरेको लोगोमा तनहुँ जिल्लाको नक्शासंगै व्यास ऋषिको मुर्ति, भानुभक्त आचार्य र एकदेव आलेको तस्विर अंकित रहेको छ । लोगोले समग्र तनहुँको स्थितिलाई इग्गित गर्नुका साथै प्रचारप्रसारमा समेत मद्दत पुग्ने जिल्ला कमिटीका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताएका छन् । उनले भव्य र सभ्य रुपमा अधिवेशन सम्पन्न गर्ने गरी अधिवेशन आयोजक कमिटी लागि परेको हुँदा पार्टीको नयाँ नेतृत्व सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताए ।
करिब ६ सय प्रतिनिधि सहभागी हुने अधिवेशनलाई व्यवस्थित र सभ्य बनाउनका लागि आवश्यक तयारी भएको जिल्ला कमिटीका उपसचिव एवं प्रचार विभाग प्रमुख प्रदिप अधिकारीले बताए । उनका अनुसार १०औं अधिवेशनमा प्रतिनिधि चयन गर्दा प्रत्येक पालिकाको वडालाई निर्वाचन क्षेत्र (भुगोल) मानेर २० वरावर १ जना प्रतिनिधि चयन गरिनेछ भने ५० प्रतिशत थप हुँदा थप १ प्रतिनिधि थपिनेछ । सोही बमोजिम सदस्य थप हुँदै जादा प्रतिनिधीको व्यवस्था ३ हुँदा महिला अनिवार्य र ४ भए पुरुष, ५ भए युवा (४० वर्षमुनिका), ६ हुँदा महिला, ७ हुँदा युवा महिला, ८ भए पुरुष, ९ हुँदा महिला, १० भए युवा, ११ हुँदा पुरुष, १२ हुँदा महिला, १३ हुँदा पुरुष, १४ युवा महिलाको प्रतिनिधीत्व हुनुपर्ने व्यवस्था गरिएको उपसचिव अधिकारीले जानकारी गराए ।
त्यस्तै अधिवेशनमा जनवर्गीय संगठनहरु अनेरास्वीयु, युवासंघ, अनेमसंघ, जिफन्ट, किसान महासंघ, मुक्तिसमाज, आदिवासी जनजाति, उद्योग व्यवसाय, पेशागत, खेलकुद महासंघबाट २ जनाको दरले र प्रेस चौतारी, जनसाँस्कृति महासंघ, वृद्धिजीवि परिषद, स्वास्थ्यकर्मी महासंघ, भुमि अधिकार श्रमिक संघ, भुपु सैनिक प्रहरी संगठन, पेशागत कानुन व्यवसायी संघ, अपाङ्गता संगठन, प्रगतीशिल इन्जिनियरिङ्ग, मानवअधिकार एलाएन्स, इत्तेहाद मुश्लिम संगठन, रिटर्नी फडेरेशनबाट १ जनाको दरले प्रतिनिधि चयन भएका छन् ।
६ हजार ४६६ जना पार्टी सदस्य रहेको तनहुँको अधिवेशनका लागि आयोजकको रुपमा रहेका जिल्ला कमिटीका १२४ जना, सल्लाहकार १५ जना, मोर्चा संगठनवाट ३२ जना, दलित तर्फाट ४४ जना, पालिकाबाट १५ र भुगोलबाट ३३० लगायतका क्षेत्रबाट गरी कुल ५६९ प्रतिनिधी सहभागि हुने भएका छन् ।










