दुलेगौंडामा धिमे बाजा बजाउने तालिम सञ्चालन

तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडास्थित अरिदेव नेवा पुचः सेवा कोषले दुलेगौंडामा एक महिने धिमे बाजा बजाउने तालिम सञ्चालन गरेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको सहकार्यमा भएको तालिमको शनिवार गण्डकी प्रदेश सभा सदस्य अशोक कुमार श्रेष्ठले तालिमको शुभारम्भ गरेका छन् ।
प्रदेश सभा सदस्य श्रेष्ठले पछिल्ला दिनहरुमा भाषा संस्कृति, संस्कार संरक्षणकालागि नवजागरण आएको बताए । उनले छोरोछारीलाई पर्ढाई मात्र नभई उनीहरुलाई सिकाइने संस्कार महत्वपूर्ण हुने उल्लेख गरे । गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका सदस्य सचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानले सबै समुदायको भाषा संस्कृति, संस्कार संरक्षणकालागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
प्रतिष्ठानले गरेका तालिम र अभियानले कतिपय ठाउँमा नतिजा देखिन थालेको बताउँदै उनले आफ्नो भाषा संस्कृति जोगाउन सम्बन्धित समुदायनै क्रियाशिल हुनुपर्नेमा जोड दिए ।
अरिदेव नेवा पुचः सेवा कोष दुलेगौंडाका अध्यक्ष ज्ञान नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकारहरु शिव कुमार श्रेष्ठ, आनन्द सुन्दर श्रेष्ठ, आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर समन्वय परिषदकी अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, बेलचौतारा नेवा खलका अध्यक्ष सुर्य कुमार पालिखे, अरिदेव नेवा पुचँ कोषका सचिव राजुराम श्रेष्ठ, सहसचिव दिपक श्रेष्ठ लगायतले बोलेका थिए ।
तालिममा मधुसुदन जोशीले सहजिकरण गर्नेछन् भने कोष अन्तर्गतका ४० जनाको सहभागिता रहेको छ ।










