बाजुरा, पर्यटन र बडिमालिकाको दर्शन
के.बि. मसाल

पर्यटनका लागि इतिहास बोकेका नेपालमा धार्मिक र आध्यात्मिक शक्तिपिठहरु धेरै छन। अर्को तर्फ तपस्वी ऋषिमुनीहरुको तपस्या स्थलहरु पनि पर्यटनका लागि गन्तब्य बनेका छन । शास्त्रीय मान्यता अनुसार नेपालमा शक्तिपिठहरु ५१ रहेका छन तर आजभोली ५२ शक्तिपिठ हुन भन्ने तर्क पनि आउने गरेको छ । पौराणिक शास्त्रले सतिदेवीको अंग पतन भएको स्थानलाई शक्तिपिठ भन्ने गरिन्छ । शक्तिपिठलाई देवीको विशेष शक्ति भएको ठाउँका रुपमा लिइन्छ । शक्तिपिठमा तीर्थाटन गर्दा देवीको शक्ति मिल्ने र काम सिद्ध हुने धार्मिक मान्यताले तीर्थाटनका पर्यटकहरु शक्तिपिठमा पुग्ने गर्दछन ।
सुदुरपश्चिम बाजुराको बडिमालिका शक्तिपिठको रुपमा मान्ने गरिन्छ। शक्तिपिठ मात्र नभएर बडिमालिका प्रकृतिको अनुपम उपहार पनि हो । पाँच महिना हिँउ र चार महिना कुहिरोले ढाक्ने बडिमालिकाको यात्रामा बाटोबाट बाजुरासहित अछाम, बझाङ, डडेल्धुरा र डोटी मात्र नभएर कालीकोट, मुगुलगायत भूगोलको दृश्य समेत पर्यटकहरुले नियाल्न सक्दछन । वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन बडिमालिकामा मेला लाग्ने गर्दछ । बाजुरा र कालिकोटको सिमानामा रहेको बडिमालिका तीर्थाटन पर्यटकहरुका लागि भू–स्वर्ग मानिन्छ । बडीमालिकामा श्रावण शुक्ल द्वादशीका दिनबाट श्रावण शुक्ल चतुर्दशीका दिनसम्म पूजा हुन्छ । समुद्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा रहेको बडीमालिकाको तीर्थाटनका लागि पर्यटकहरु पुग्ने गर्दछन। बडीमालिकाको यात्रामा एक रात त्रिवेणीमा बास बसी भोलिपल्ट बिहान स्नान गरेर त्रिवेणीमा रहेका मन्दिरमा पूजा गरी उकालो बाटोको यात्रा गर्दछन । यात्रामा त्रिवेणी पाटनमा ढकमक्क फुलेका विभिन्न प्रजातिका फूल, मैदानमा लस्करै चर्न लागेका भेडाका बथान, घोडाहरु पर्यटकहरुले देख्न सक्दछन। कालीकोट, बाजुरा, हुम्ला, मुगु, अछाम जिल्लाका भेडा गोठ वैशाखदेखि असोजसम्म त्रिवेणी क्षेत्रमा रहन्छन ।
त्रिवेणीको फाँटबाट दुई तिरबाट बग्दै आएका नदी गंगा र जमुना नदी मिसिन्छ। झट्ट हेर्दा खप्तडको त्रिवेणीमा जस्तै देखिने गंगा र जमुना नदीको दोभान पनि सरस्वती विलुप्त भएको मानिन्छ । फाँटै भरि स–साना पोखरी देख्दा पर्यटकहरुले भूस्वर्गको अनुभूती गर्दछन । बडिमालिकाको यात्रामा पर्यटकहरुलाई साहसिक लाग्न सक्छ । एकैछिनमा पानी र हावा अनि चिसो सिरेटोले यात्रा अविस्मरणीय हुन्छ । त्यसमाथि यात्रामा न बासको टुङ्गो न खाने टुङ्गो । यात्रामा कतै पनि होटल लज हुदैनन। बडिमालिकाको यात्रामा पर्यटकहरुले मार्तडी देखि पैदल यात्रामा जहा तहि खाना बस्नको लागि सुबिधा छैन । होटलको सुविधा नभएको स्थानमा कम्तीमा तीन दिन बास बस्नु पर्दछ । त्यस कारण तीर्थाटनका पर्यटकहरुले आफुलाई आवस्यक पर्ने न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि साथमा लैजान पर्दछ । यात्रामा छाता अथवा रेन कोट छुटाउनै मिल्दैन । पानी कतिखेर पर्दछ थाहा हुँदैन । लेक लाग्ने हुनाले खुर्शानी र अमिलो पनि यात्रामा लैजादा बिर्सन हुँदैन। बाटोमा पानी सजिलै सबै ठाउ मिल्दैन। त्यसैले पानीको बोतल छुटाउन हुँदैन । बडिमालिकाको यात्रामा समूहमा जादा राम्रो हुन्छ ।
त्रिवेणीदेखि लैरीविनायकसम्म पाटनको यात्रा हुन्छ । त्यसपछि भने कहीँ भिरालो चुचुरो परेका अग्ला पहाड, कहीँ थुम्काथुम्की, कही ठूला फाँट हेर्दैमा पर्यटकहरुले बाटो काटेको पत्तै पाउँदैनन् । यात्रामा भेटिने स–साना मठमन्दिर, कञ्चन हिमाली खोला, अविरल बगिरहने झरना, विशाल पाटन एवं घाँसे मैदानले तीर्थाटनका पर्यटकहरुलाई रोमाञ्चक अनुभूती हुन्छ । बडीमालिकाको यात्रामा कञ्चन नीलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेलाबेला लुकामारी खेल्ने कुहिरो, अनि चिसो सिरेटो मात्र नभएर तीर्थयात्रीहरुबाट गुञ्जने देउडाभाकाले यात्राको आनन्द छुट्टै हुन्छ । पहाडको कठिन भिरको बाटो नागवेली उकालो ओरालो बाटो बर्षेनी हजारौको सख्यामा तीर्थाटनका पर्यटकहरु बडिमालिका पुग्ने गर्दछन । बडिमालिका पुग्ने मध्य केहि तीर्थाटनका पर्यटकहरुलाई मात्र थाहा हुन्छ तेत्रायुगको पौराणिक कथाको बारेमा । बडिमालिकाको पुजाआजा कहिलेबाट सुरु भयो एकिन भने छैन । तर वि.स. १८८३ मा राजा रणबहादुर शाहद्वारा लालमोहर गरिदिएको प्रमाण भने पुजारी परिवारसँग छ । लालमोहरमा मत्गल्य गोत्रका ब्राह्मण बडीमालिकाका मुल पुजारी हुने भन्ने उल्लेख छ । लालमोहर दिएपछि राजा रणबहादुर शाहले बडीमालिकाको दर्शन गरेका थिए । बडिमालिकाको उत्पति बारे स्वस्थानी व्रतकथा अनुसार दक्ष प्रजापतिको यज्ञमा सतिदेवीले आत्मदाह गरिन र महादेवले सतिदेवीलको शव बोकेर हिँडने क्रममा मलयागिरि पर्वतमा आइपुगेपछि पार्वतीको कुम पतन भयो । त्यही देवी उत्पन्न भई बडिमालिकाका रुपमा रहिन भन्ने बिस्वास गरिन्छ ।
बडिमालिकाको तीर्थाटन गर्न पश्चिम क्षेत्रका वाईसे–चौविसे राज्य मध्य डोटी अछाम र जुम्लाका शासकहरु पुग्ने गरेको इतिहास छ । बडिमालिकाको तीर्थाटन गर्न पृथ्वी नारायण शाहले पनि सेना खटाउने गरेका थिए । अमर सिंह थापा र भीमसेन थापाले समेत बडिमालिकाको तीर्थाटन गरेका थिए । राणा शासकहरुले पनि बडिमालिकाको तीर्थाटन गर्ने गरेको इतिहास छ । राणाहरु अछामी कुवरको वंशज भएकाले पनि बडिमालिका तीर्थाटन गर्न रुचि राख्ने गरेको पाइन्छ । राणाकाल र त्यो भन्दा अगाडीका सेनाका कर्नेलहरुले बडिमालिकाको तीर्थाटन गर्दा सुनको जनै चडाउने र जनै प्रसादको रुपमा आफैले लैजाने गरेको पाइन्छ । बडिमालिकामा राजा वीरेन्द्रले २०३६ सालमा ठूलो घण्ट चढाएका थिए । जुन घण्ट अहिले पनि बडिमालिका परिशरमा छ । तीर्थाटनका पर्यटकहरुले एउटा हातले घण्ट हल्लाउन समेत कठिन पर्दछ । अहिले बडिमालिका पुग्ने तीर्थाटनका पर्यटकहरु घण्ट बजाउँदै फोटो खिच्दछन् । बडिमालिकामा अछाम, वाजुरा, डोटी कालिकोट र जुम्लाबाट प्रत्येक बर्ष सरकारी स्तरबाट पुजाआजा गर्ने प्रचलन छ । डोटीको सरकारी टोली बडीमालिका भगवतीको मन्दिरमा जादा सरकारी पूजा सामग्री अर्थात पेटारो सहितको टोली बडीमालिका पुग्दछ। अछामको वैद्यनाथ मन्दिरबाट आठ दिनअघि नै पाक्न लागेको धानको बालासहितको टोली बडिमालिका पुग्दछन । जुम्लाबाट नागपञ्चमीका दिन सरकारी टोली बाजागाजासहित बडीमालिकाका लागि प्रस्तान हुन्छन । पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारी स्तरबाट पूजा गर्ने गरिएको इतिहास छ।
सुदूरपश्चिमकै महत्वपूर्ण र प्रमुख धार्मिकस्थल बडिमालिका धार्मिक मात्र नभएर प्रकृति प्रेमी पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरु पर्यटनका लागि बडिमालिकाका गहना हुन भन्दा पनि हुन्छ । बडिमालिका जादा पर्यटकहरुले पौराणिक कालमा राक्षस र भगवती बीच लडाईं हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान पनि अवलोकन गर्न सक्दछन । जुन दृश्य अवलोकन गर्न भारतको विभिन्न क्षेत्रबाट तीर्थाटनका पर्यटकहरु बडिमालिकामा पुग्ने गर्दछन । बडिमालिकाको मन्दिर बाजुरामा सदरमुकाम मार्तडी र त्रिवेणीको पैमा गाउँमा पनि रहेको छ । हिडन नसक्ने पर्यटकहरु तिनै मन्दिरमा पुगेर तीर्थाटन गर्दछन् । बडिमालिकाको सुन्दरताको वर्णन गरेरै सकिन्न । पहिला खप्तड पुगेका पर्यटकहरु बडिमालिका पुगे भने प्रकृतिको तुलनानै गर्न सक्दैनन् । बडिमालिकामा प्राकृतिक र धार्मिक महत्व बोकेको बुढिनन्दा, कैलाश ताल, राक्षस ताल, त्रिवेणी, कालाजग्रा गुफाताल, दउने ताल लगायतका तालहरु रहेका छन । बुढीनन्दामा चट्टानै चट्टानको बीचमा ठूलो ताल छ । सुदूरपश्चिममा बडिमालिका, शैलेश्वरी, उग्रतारा, निंगलाशैनी, त्रिपुरासुन्दरी, डिलाशैनी र मेलौलीलाई सात बहिनी भगवती मध्य बडिमालिका कान्छी बहिनी मानिन्छ ।
सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका सुन्दर र महत्वपूर्ण धार्मिकस्थल हो । बडिमालिकाको भूगोलमा पाचँ महिना हिउँ र चार महिना कुहिरोले ढाक्ने गर्दछ। बडिमालिकाको परिसर अर्को अर्थमा भन्ने हो भने प्राकृति भ्यू–टावर पनि हो । पर्यटकहरुले बडिमालिकाको मन्दिर परिसरबाट बाजुरा सहित अछाम, बझाङ, डडेल्धुरा, डोटी, कालिकोट र मुगुलगायत जिल्लाका अनगिन्ती गाउँ र प्राकृतिक सम्पदाको दृश्य अवलोकन गर्न सक्दछन् । बडिमालिकामा साउन शुक्ल चतुर्दशीका दिन मूल पूजा हुने गर्दछ। जसमा बाजुराबाट एक जना र कालिकोटबाट एक गरी दुई जना पुजारीले पूजा गर्ने परमपरा रहेको छ । सरकारी पूजा भने डोटीको पेटारे टोलीबाट सुरु गर्नुपर्ने हुन्छ । डोटीबाट सरकारी पूजा नभई अरुले पूजा गर्न नपाउने प्रचलन छ। त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडिमालिकाको तीर्थाटन गर्ने र नाटेयश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जन विश्वास छ । बाजुरा धार्मिक, साँस्कृतिक, ऐतिहासिक र पर्यटनको लागि प्रचुर सम्भावना बोकेको जिल्ला हो । पर्यटनका लागि बाजुरामा विविध खालका सँस्कृति, रहनसहन, भेषभुषा, कलाकौशल, भाषा, शैली र परम्परा छन ।
सुदूरपश्चिमको वाजुरा जति दूर्गम छ, त्यति नै सुन्दर पनि । सदरमुकाम मार्तडीबाट उत्तर पूर्वतर्फ पर्ने बडिमालिका पुग्न सडक यातायातको सुविधा नहुँदा पर्यटकहरुले पैदल यात्रा गर्नु पर्ने हुन्छ । धार्मिक आस्था र पौराणिक महत्वको बडिमालिकाको क्षेत्र आफैंमा कुशल चित्रकारको हस्त शिल्प झैं देखिन्छ । बडिमालिका पुग्ने पर्यटकहरुले अपी र सैपाल हिमाललाई पृष्ठभूमिमा राखेर सबैलाई स्वागत गरेझै अनुभूती गर्दछन । तीर्थाटनका लागि मात्र होइन बडिमालिका प्रकृति प्रोमी पर्यटकहरु पनि पुग्नै पर्दछ । बडिमालिका जादा देखिने फाँटहरुले मौसम अनुसार रुप परिवर्तन गर्दछ। हिँउदमा यो सेताम्मे हुन्छ, वर्षायाममा रंगीचंगी । हरिया फाँटहरु ढकमक्क फुल्ने फूलहरुले सजायको देखिन्छ। वाजुरामा पर्यटनका लागि घुमफिर गर्ने धेरै प्राकृतिक सम्पदा छन् । भौगोलिक रुपमा विकट भएपनि बाजुरामा रहेका पर्यटकीयस्थल रमणिय छन् । बाजुरा पुग्न कठिन यात्रालाई सुन्दर प्राकृतिक सम्पदाले चटक्कै बिर्साइ दिन्छ । बाजुरामा धेरैजसो प्राकृतीक मनोरम दृश्यावलोकनका लागि दुर्गम ठाउमा पुग्नु पर्दछ। त्यस्ता ठाउहरुमा सहज यातायातको साधन उपलब्ध हुँदैन। सहज बाटो छैन र त्यसमाथी ति ठाउमा पर्यटकहरुका लागि बास बसने होटल, स्वास्थ्य सुबिधा अनि सुरक्षाको उचित प्रबन्ध पनि हुँदैन ।
बडिमालिका क्षेत्रमा पर्यटनको विकासका लागि पुर्वाधारको आवस्यकता छ । पर्यटकहरका लागि पानी र शौचालय समेतको उचित व्यवस्था छैन । जुन कारणले बडिमालिका क्षेत्र दुर्गन्धित हुँदै गएको छ । पर्यटकहरुले यात्रामा धर्मशाला र बास बस्ने उचित व्यवस्थान नहुँदा तीर्थाटनका पर्यटकहरुले निकै कष्ट खेप्नु परेको छ । बडिमालिका जाने बाटोमा कुनै चिह्न र संकेतहरु पनि राखिएको छैन । बडिमालिका क्षेत्रमा पर्यटनको लागि पूर्वाधारको विकास र प्रचार प्रसार नहुदा बडिमालिकमा धेरै पर्यटकहरु पुग्न सकेका छैनन्। बिकासमा भौतिक पूर्वाधार भएन भने कुनै परिवर्तन हुँदैन । अर्को तर्फ विकास भएन भने समृद्धि पनि हुदैन । बडिमालिका क्षेत्रको बिकास सडक बिकासमा जोडिएको छ। बिकासको पुर्वाधारमा सडकको महत्वपूर्ण भूमिका हुन्छ। सडक निर्माण बिना अरु पूर्वाधारको विकास सम्भव हुँदैन । पर्यटनका लागि सुदूरपश्चिमका अधिकांश ठाउमा सडकको बिकास भएको छैन भने भएका सडक पनि स्तरोन्ती भएका छैनन् । सरकारको ध्यान सडक पुर्वाधार तर्फ नपुग्दा पर्यटकहरुले सुदूरपश्चिमको भूगोल र जनजीवन देख्नै पाएका छैनन भन्दा पनि हुन्छ । सुदूरपश्चिममा प्रसिद्ध धार्मिक एवं सांस्कृतिक स्थल, प्राकृतिक सुन्दरता र जैविक महत्वका क्षेत्रहरु छन ।
कसरी जाने बडिमालिका ?
बडिमालिका पुग्ने चलन चल्तीका चारवटा रुट छन । मार्तडी–फुलचढाउना–त्रिवेणी भएर जाने । कालीकोटको सान्नीत्रिवेणी हुँदै जाने । बाजुराको नाटेश्वरी हुँदै अथवा पैमा भण्डार गृह हुँदै पनि बडिमालिका पुग्न सकिन्छ । तर त्रिवेणी भएर बडिमालिका जानुपर्ने परम्परा रहेको छ । बडिमालिका कोर्धको बाटो भएर जान वेश हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि पुगिन्छ सोता । मेलाको समयमा सोतामा चियाँ र खाजा खान पनि पाइन्छ । त्यसपछि झण्डै एक घण्टाको उकालोपछि आउँछ, घोडा पाटन । आधा घण्टा लामो रमणिय पाटन क्षेत्र पार गरेपछि अर्को एक घण्टाको ओरालो र उकालो । त्यसपछि भितो चिर्ना पुगिन्छ । भितो चिर्नाबाट करिव अढाई घण्टामा त्रिवेणी पुगिन्छ । त्रिवेणीबाट बिहानै हिँडेपछि चार घण्टामा बडिमालिका पुग्न सकिन्छ ।
अहिले सुदूरपश्चिमको बाजुरा जानको लागि कैलालीको अत्तरिया नपुगेर पनि जान सकिन्छ । कर्णाली प्रदेशको सुर्खेत, दैलेख हुदै कर्णाली नदीको राकमको पुल तरेर अछामको मगलसेन हुँदै साफेबगर पुग्न सकिन्छ । साफेबगरबाट बाजुराको मार्तडी ५७ किलो मिटर पर्दछ । बाजुराको कोल्टी सम्म हवाई यात्रा पनि गर्न सकिन्छ । तर हवाईयात्रा भने भरपर्दो छैन । कालीकोटको लालीघाटबाट कोल्टी सम्म मोटरबाट यात्रागरी त्यस पछि पैदल यात्रामा बडिमालिका पनि पुग्न सकिन्छ ।










