नेकपामा विभाजनको कारक डा. रायमाझी

विश्वबन्धु भण्डारी

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको १३ बर्ष पुग्दानपुग्दै २०१९ सालको वनारस तृतीय महाधिवेशनबाट औपचारिक रुपमा पार्टी विभाजन हुन पुगेको थियो । २०१७ पौष १ गते राजा महेन्द्रद्वारा गरिएको संसद विघटनको १६ महिनापछि वनारसमा २०१९ बैशाख ४ देखि १५ गतेसम्म तेस्रो महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशनका प्रमुख पात्र संस्थापक महासचिव पुष्पलाल र तुलसीलाल अमात्य थिए । परन्तु यी दुवै बीच मतभेदको श्रृंखला पनि महाधिवेशनबाटै शुरु भएको होे । कारण तेश्रो महाधिवेशनले पार्टीको घोषित सिद्धान्त नयाँ जनवादी कार्यक्रमको सट्टा राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रमलाई बहुमतद्वारा पारित गर्ने काम भयो । त्यो समयमा राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रमलाई रुसी खु्रष्चेवी संशोधनवादको लेपन आम रुपमा लगाइएको थियो ।
यस अगाडी १९५७ मा महान अक्टोबर समाजवादी क्रान्तिको ४०औं वार्षिकोत्सवको सन्दर्भमा मस्कोमा सहभागी हुन पुगेका कम्युनिष्ट तथा मजदुर पार्टीहरुका प्रतिनिधिहरुले पारस्पारिक हितको साथै व्यापक विचार विमर्शको सन्दर्भमा शोभियत कम्युनिष्ट पार्टी सहित पूर्वी यूरोपका ८ समाजवादी देशका र एशियाका चिन, भियतनाम, उत्तर कोरिया, मंगोलियाका कम्युनिष्ट तथा मजदुर पार्टीका प्रतिनिधिहरुको बैठको आयोजना भएको थियो । सो बैठकको लगतै १९६१ मा ८१ देशका कम्युनिष्ट तथा मजदूर पार्टीका प्रतिनिधिहरुको समेलन पनि मस्कोमा आयोजना भएको थियो । सो सम्मेलनमा सहभागी राष्ट्रहरुको लहरमा एशियाका दुई भूमिगत पार्टी भनिएको छ, जानिफकारहरुका अनुसार दुई मध्य नेपाल र अफगानिस्तान हुन । त्यसैगरि त्यस्ता अन्तर्राष्ट्रिय मञ्चमा प्रोटोकल अनुसार पहिलो लहरमा सत्तारुढ पार्टी, दोस्रो लहरमा संसदको प्रमुख प्रतिपक्षी स्थानमा रहेको पार्टी, तेस्रो लहरमा संसदमा उपस्थिती रहेको चौथो लहरमा पार्टी खुला रहेको (भुमिगतमा नभएको) पाचौं लहरमा आफ्नो देशमा प्रतिबन्धित (भुमिगत) अवस्थामा रहेका पार्टीहरुको स्थान निर्धारण गरिएको थियो ।
१९४३ मा कम्युनिष्ट इन्टरनेशनल (कोमिनट्रन)को विघटन पछिको विश्वका मजूदर तथा कम्युनिष्ट पार्टीको प्रतिनिधिहरुको ठूलो भेला सम्भवत यही थियो यो अन्तिम पनि। यस अगाडी १९४३ मै १५ तारिखमा स्टालिनको प्रस्तावमा अब संसारका सबै कम्युनिष्ट पार्टीहरु आफ्नो रणनीति र कार्यनीतिहरु तय गर्न सक्षम भै सकेकोले कम्युनिष्ट पार्टीहरुको साँझा मञ्च कोमिन्ट्रनको औचित्य समाप्त भएको भन्दै विघटन गरिएको थियो। लगतै १०६१ मा पनि विश्वका कम्युनिष्ट पार्टीहरुको मस्कोमा भेला आयोजना गरिएको थियो ।
१९५७ को भेलाले घोषणा पत्र र १९६१ को भेलाले सामूहिक वक्तत्व्य जारी गरेको थियो। उक्त सन्दर्भमा शोभियत संघको २०औं महाधिवेशनमा स्टालिनको व्यापक आलोचना भएको र त्यो आलोचनाका सन्दर्भमा मस्को भेलामा पुगेका पुष्पालालले विमती प्रकट गरेकै कारण त्यस पछिको शोभियत र चिनिया विभाजित धुरी देखा पर्न थालेको सन्दर्भमा त्यस यता वनारस महाधिवेशनमा शोभियत धुरीमा देखाउन तुलसीलालको राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम पारित भएको भनिन्छ । भारतीय कम्युनिष्ट पार्टीका महासचिव अजय घोषले नेपालमा ससंद विघटनको बेला मस्कोमा २ नेता रायमाझी र अजय घोषका बीच भेटघाटमा अजय घोषले रायमाझीलाई राजावादी धारमा बग्न लागेको निस्कर्ष निकाल्दै पुष्पालाल र अमात्यहरुलाई नेपालमा राजावादी धारबाट पार्टीलाई जोगाउन तलबाट महाधिवेशनको माग गर्न सुझाए अनुरुप अन्तरजोनल सामानजस्य कमिटी गठन भई तृतीय महाधिवेशन आयोजना भएको तत्कालिन तथ्य र दस्तावेजहरुले पुष्टि गरेको छ ।
महाधिवेशन त भयो भाकपा र शोभीयत कम्युनिष्ट पार्टीको भाईचारा सम्बन्ध डा. रायमाझी तिरै ढल्किएपछि पार्टी संगठन अगाडी बढ्न सकेन । यसर्थ पार्टीलाई सहि बाटोमा डो¥याउन २०२५ सालको गोरखपुर सम्मेलन पुष्पलालको नेतृत्वमा आयोजना भई सम्पन्न भएको थियो । तुलसीलाल अलग बस्नुको विकल्प थिएन र तुलसीलालको निर्वासित जीवनको अधिकांश समय दिल्लीमा बितेको थियो । अमात्य २०४८ सालको संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी नभई सकेपछि नेकपा एमालेमा प्रवेश गरी चिनका लागि नेपाली राजदुतका रुपमा तत्कालिन २०५१ मनमोहन अधिकारीको सरकारले नियुक्त गरेको थियो। यता दक्षिणपन्थी राजावादी बाटो अंगालेका डा. केशरजंग रायमाझीले पनि दोस्रो महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको बहुमत आफ्नो पक्षमा रहेको कथित पुष्टि गर्दै २०२३ सालमा राष्ट्रिय सम्मेलन र २०२४ सालमा तेस्रो महाधिवेशन वनारसको तेस्रो महाधिवेशनको खिलाफमा सम्पन्न गरेका थिए ।
यसमा डा. रायमाझीको चतु¥याईबाट भाकपा र शोभीयत कम्युनिष्ट पार्टीको भाईचरा सम्बन्ध आफ्नो पक्षमा पार्न सफल भई यसैको निरन्तरता स्वरुप २०१९ सालको तेस्रो महाधिवेशनलाई अल्पमत पक्षको पार्टी विधान विपरित भन्दै डा. रायमाझीको नेतृत्वमा तेस्रो महाधिवेशन सम्पन्न गरि डा. रायमाझी पक्षले शोभीयत कम्युनिष्ट पार्टी र भारतीय कम्युनिष्ट पार्टी (महासचिव अजय घोष नेता श्रीपाद अमृत डागे)को समर्थन लिन सफल भएकोे दावा साथ अगाडी बढ्ने काम गरेको देखिन्छ ।
माझी पक्षका केन्द्रीय कमिटीमा विष्णु बहादुर मानन्धर, कृष्ण राजवर्मा, कृष्ण प्रसाद अधिकारी (सिराह) सैयदकमर शाह, शैलेन्द्र कुमार उपाध्याय, डि.पी. अधिकारी, कमल राज रेग्मी (जेल) लगायत रहेका थिए । २०३६ सालको जनमत संग्रह घोषणाको खुला परिस्थितिमा डा. रायमाझीको दक्षिणपन्थी हरकत थप खुलासा हुँदै गएको जनमत संग्रहको परिणामलाई स्वीकार गर्दै राजाकै आव्हानलाई थप पुष्टि गर्दै “अब आफ्ना कुरा सडकमा होइन राष्ट्रिय विधायिकामा राख्न पाउने राजनीतिक परिस्थिति” सृजना भएकोले सोही अनुरुप राष्ट्रिय मूलधारमा आउन भन्दै सार्वजनिक अभिव्यक्ति दिन थालेपछि डा. केशरजंग माझीलाई पार्टीबाट निस्कासन गर्न मानन्धर पक्षलाई बाटो खुलेको थियो । विष्णु बहादुर मानन्धरको नेतृत्वमा पार्टी संठगनलाई अगाडी बढाउने कामको थालनी पनि भयो । डा. माझीलाई निष्काशन र मानन्धरको पक्षमा केन्द्रीय नेताहरु हेमन्त बहादुर वि.सी., सितानन्दन राय (२०४९ मा एमालेमा प्रवेश), मदन मोहन थापा, निलाम्बर आर्चाय, चन्द्रदेव जोशी लगायत रहेका थिए । डा. रायमाझी निस्कासनपछि मानन्धरको नेतृत्वमा गठित नेकपामा पंक्तिकार विश्ववन्धु भण्डारी, रामचन्द्र चापागाई (वनारसबाट पुष्पालालको अस्तु पशुपपतिमा विर्सजन गर्न ल्याउने) लगायत गण्डकी क्षेत्रबाट मानन्धर समूहमा प्रवेश गर्ने काम भएको थियो ।
मानन्धर नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले माझी निस्कासनपछि भारतको मजफरपुरमा पाँचौ महाधिवेशन सम्पन्न गरी पार्टीलाई क्रान्तिकारी धारमा अगाडी बढाउने निरंकुश पञ्चायती व्यवस्थाको विरुद्ध प्रजातन्त्र पुनः स्थापनाको संर्घषको कार्यनीतिमा जोड दिने काम भएको हो । मजफरपुरको माहाधिवेशन भूमिगत रुपमा भारतको सि.पि.आई.को स्थानीय पार्टी कमिटीको सहयोगमा भएको र उक्त महाधिवेशनलाई टिकापुर महाधिवेशन नामाकरण गरिएको थियो । कारण जनकपुरका जिल्ला पार्टी कमिटी सचिव टिका पोखरेलको क्यान्सर रोगका कारण निधन भएको र उनैको नाममा टिकापुर महाधिवेशन नामाकरण गरिएको थियो । पंक्तिकार विश्ववन्धु भण्डारी महाधिवेशनमा सहभागी भई केन्द्रिय कमिटीमा निर्वाचित हुने अवसर प्राप्त भएको थियो ।
नेपालमा निरंकुश पञ्चायती व्यवस्था विरुद्धको अन्तिम संघर्ष २०४६ सालको संयुक्त आन्दोलन सफलताको लागि कम्युनिष्ट कांग्रेसको संयुक्त प्रहारले नै आन्दोलनले सफलता प्राप्त गरेको थियो। यसलाई पुष्पलालको संयुक्त जनआन्दोलनको सिद्धान्त अनुरुप सफल भएको भनिने गरेको छ । ३० बर्ष लामो निरंकुश पञ्चायती व्यवस्था समाप्त भयो। त्यस यता बहुदलीय प्रजातान्त्रिक शासन व्यवस्थाको सुरुवात भएको हो । यो आन्दोलनलाई २०१७ सालमा राजा महेन्द्रद्वारा खोसिएको प्रजातन्त्र पुन स्थापनाको संघर्षको नामले परिचित रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको यो लामो ईतिहासमा संस्थापकहरु प्रथम महासचिव पुष्पलाल प्रथम महाधिवेशन २०१० सालका महाधिवेशनका महासचिव मनमोहन अधिकारी दोस्रो महाधिवेशनका महासचिव डा. केसरजंग रायमाझी (राजावादी) तेस्रो वनारस महाधिवेशनका महासचिव (गुमनाम) तुलसीलाल अमात्य लगायत पहिलो पुस्ताका अग्रजहरु अब यस धर्तीबाट विदा भई सकेका छन् । पाका पुराना पुस्ताका एकमात्र धरोहर द्वितीय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित ईतिहासका सांक्षी नेकपा मसालका नेता महामंत्री मोहन विक्रम सिंह त्यस्तै पाका पुरानाहरुमा प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसी नेकपा सयुंक्तका विष्णु बहादुर मानन्धरको विरासत थाम्दै आएका संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी (८७ वर्ष) नेकपा माओवादीका नेता किरण वैद्य, वरिष्ठ नेता कमल कोइराला, हिरण्य लाल श्रेष्ठ, ने.म.कि.पा. का नेता नारायण मान विजुक्क्ष (रोहित) सांक्षीका रुपमा रहेका छन् । यस बाहेक पुरानो पुस्ता सिठो बालेर खोज्नुपर्ने अवस्था आएको छ ।
यसरी २०४६ सालको आन्दोलनको पूर्व सन्ध्यामा गठित संयुक्त बाममोर्चामा मानन्धर समूह समेत सामेल भएको थियो। २०४६ सालको संयुक्त जनआन्दोलनमा सामेल भएका अन्य दलहरु नेकपा माक्सवादी, नेकपा माले, नेकपा आमात्य, नेकपा बर्मा, नेकपा मशाल र नेपाल मजदूर किसान पार्टी रहेका थिए । संयुक्त बाममोर्चाको अध्यक्षमा सहाना प्रधान र अन्य दलबाट १÷१ जना सामेल रहेका थिए । २०४७ सालको अन्तरिम सरकारमा बाममोर्चाका अध्यक्ष सहाना प्रधान, नेकपा मालेबाट झलनाथ खनाल, नेकपा मानन्धर समूहबाट निलाम्बर आचार्य समेत ३ जना कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री मण्डलमा सामेल भएका थिए ।
त्यसैगरि नेपाली कांग्रेसबाट महेन्द्र नारायण निधी, योग प्रसाद उपाध्याय, मार्सल जुलुम शाक्य त्यस्तै स्वतन्त्र बुद्धिजिवी (वाम समूह) बाट मथुरा प्रसाद श्रेष्ठ र प्रजातान्त्रिक धारका स्वतन्त्र बुद्धिजिवी देवेन्द्र राज पाण्डे र राजाका प्रतिनिधिका रुपमा डा. केशरजंग रायमाझी र अचुतराज रेग्मी समेत ११ जनाको मन्त्रीमण्डल रहेको थियो । डा. रायमाझी यसरी राजाको प्रतिनिधि भएर मन्त्रि मण्डलमा सामेल हँुदै त्यस यता राजसभा स्थायी समितिको सभापति २०५८ सालको दरबार हत्यकाण्डका बेला पनि डा. रायमाझी राजसभा स्थायी समितिको सभापति रहेका थिए । २०४७ सालको प्रजातान्त्रिक संविधान २०४७ असोज ३ गते जारी पश्चात संसदीय निर्वाचनको माहोलले दलहरुलाई आकर्षित गर्दै गएको थियो । यही माहोलको पूर्व संध्यामा मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी र मदन भण्डारी नेतृत्वको नेपमा माले बीच २०४७ पौष २२ गते पार्टी एकीकरण भई नेकपा एमाले केन्द्रीय संगठन कमिटी निर्माण भएको थियो ।
एकीकृत नेकपा एमालेमा अध्यक्ष मनमोहन अधिकारी माक्र्सवादी महासचिव मदन भण्डारी (माले) त्यस्तै पोलिटव्युरोमा चन्द्रप्रकाश मैनाली, जिवराज आश्रित, झलनाथ खनाल, माधव कुमार नेपाल, माक्र्सवादी तर्फबाट पोलिटव्युरोमा बलराम उपाध्याय, भरत मोहन अधिकारी सहाना प्रधान र सिद्धिलाल सिंह समेत १० जना पोलिटव्युरोमा दुवै संगठनबाट बराबरीको आधारमा समावेश गर्ने काम भएको थियो । त्यसैगरि केन्द्रीय संगठन कमिटी सदस्य तर्फ मालेबाट अमृत कुमार बोहोरा, अशोक कुमार राई, ईश्वर पोख्रेल, खड्क प्रसाद ओली (केपी ओली, हाल एमाले अध्यक्ष एवं प्रधानमन्त्री), बामदेव गौतम, विष्णु पौडेल, मुकुन्द न्यौपाने, मोदनाथ प्रश्रित, मोहन चन्द्र अधिकारी युवारज ज्ञावाली, राधाकृष्ण मेनाली र सुरेन्द्र पाण्डे त्यस्तै माक्सवादी बाट कमल कोईराला, केशरमणी पोख्रेल, गोविन्द राज ज्ञावाली, नर बहादुर खाण नेकपा संयुक्तबाट एमालेमा प्रवेश गरेका वाचस्पति देवकोटा नेकपा मसालबाट एमालेमा प्रवेश गरेका लगायत २७ जनाको केन्द्रीय कमिटी रहेको थियो।
उक्त केन्द्रीय कमिटीले लगतै २०४९ माघ २० गते काठमाण्डौंको कमलादीमा सम्पन्न महाधिवेशनबाट अध्यक्ष मनमोहन अधिकारी, महासचिव मदन भण्डारी, पोलिटव्यूरोमा जीवराज आश्रीत, ओली केपी ओली, माधवकुमार नेपाल, सिपी मैनाली, सहाना प्रधान, झलनाथ खनाल, भरत मोहन अधिकारी, सिद्धिलाल सिंह केन्द्रिय कमिटी सदस्यहरुमा अशोक राई, बामदेव गौतम, मुकुन्द न्यौपाने, राधाकृष्ण मैनाली, ईश्वर पोख्रेल, युवराज ज्ञावाली, अमृत बोहोरा, मोदनाथ प्रश्रित, वाचस्पति देवकोटा, मोहन चन्द्र अधिकारी, विष्णु पौडेल, केशवलाल श्रेष्ठ, सितानन्दन राय, जितेन्द्र नारायण देव, काशिनाथ अधिकारी, गोपाल शाक्य, गुरु बराल, सुरेन्द्र पाण्डे, प्रेमसिंह धामी, गोविन्द कोईराला, सलिममियाँ अन्सारी, राजेन्द्र पाण्डे, किरण गुरुङ, केशव बडाल र त्रिलोचन ढकाल ।
बैकल्पि केन्द्रीय कमिटी सस्यमा हिरण्यलाल श्रेष्ठ, शान्ता मानवी, प्रेम बहादुर सिंह, देवराज घिमिरे (हाल प्रतिनिधि सभाका सभामुख), हेमराज राई, भिम बहादुर कठायत र सानु श्रेष्ठ रहेका थिए । त्यसैगरी केन्द्रीय सल्लाहकार तर्फ बलराम उपाध्याय, कमल कोईराला, गोरिभक्त प्रधान, लक्ष्मीभक्त उपाध्याय, योगेन्द्र शाह, नर बहादुर खाण, गोमा देवकोटा, विश्वेश्वरा दाहाल, सिद्धिलाल सिंह र भवानी प्रसाद घिमिरे सहित १० जना रहेका थिए । उक्त पाचौं महाधिवेशनमा पंक्तिकार विश्वबन्धु भण्डारी राष्ट्रिय परिसर सदस्यको हैसियतबाट सहभागी हुने अवसर मिलेको थियो । यसरी दुई ठूला पार्टी बीच एकीकरण भएकोले २०४८ सालको आम निर्वाचनमा बामपन्थी मतदाता बीच निकै ठूलो आकर्षण सृजना भएको थियो । परिणाम स्वरुप नेकपा एमालेले संसदमा ६९ जना प्रतिनिधित्व गराउन सफल भएको थियो । यो सफलताले नेकपा एमालेको पक्षमा जनलहरको वृद्धि हँुदै मुलुकका सबै जिल्ला र गाउँ टोल तहसम्म पार्टी संगठन रात दुगना दिन चौगुनाको हिसाबले विस्तार हुन गएको हो ।
सँगसँगै २०४८ सालको आम निर्वाचमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाले ९ जना ने.म.कि.पा बाट ३ जना, नेकपा प्रजातन्त्रवादी (मानन्धर नेतृत्व) २ जना (३ प्रतिशत थ्रेस होल्ड नपुगेका कारण राष्ट्रिय पार्टीका रुपमा दर्ज हुन नसकेपछि पार्टी संगठन खुम्चिने क्रम सुरु भएको हो ।) गरी संसदमा ८३ जनाको प्रतिनिधित्व रहेको थियो । यता निर्वाचन पछि नेकपा एमालेमा एकीकरण भई सकेको पार्टीलाई निर्वाचन पछि माक्र्सवादी तर्फका केही नेताहरु मनमोहन अधिकारी र सहाना प्रधान नेतृत्वका एकीकरण पूर्वका सहाना प्रधान तर्फका संस्थापक नेता पुष्पालाल द्वारा दिक्षित प्रभु नारायण चौधरी, माधव (मधु) ज्ञावली, राम बहादु भण्डारी (हाल नेकपा पुष्पलाल समुहको उपाध्यक्ष), तिलक पराजुली, बोधराज काफ्ले, शरण विक्रम मल्ल, लोकनारायण सुवेदी, भिम सेढाई, राम सिं रावल, एकराज पाण्डे लगायतका नेताहरुले माक्र्सवादी विउताउन छुट्टै पार्टी घोषणा गर्ने काम भयो । फेरि माक्र्सवादीका नाममा सानो संगठन अहिले पनि जिवित त छ तर संगठानात्मक रुपमा सिमित व्यक्ति विशेष बाहेक संगठनको प्रभाव ज्यादै न्यून देखिन्छ ।
यसरी नेपालमा कम्युनिष्ट पार्टीहरु आपसी मतभेदलाई विचार मंथन र बहसमा अगाडी सार्दै अल्पमतको कदर बहुमतको निर्णयलाई कार्यान्वयनमा अगाडी बढाउन भन्दा भावावेशमा छुट्टै पार्टी निर्माण गर्ने शिलशिला स्थापनाको केही समय पछि नै शुरु भएको प्रवृति र परम्परा अध्यावधिक कायमै छ । विशेष गरेर २०४६ साल यता पनि कम्युनिष्ट पार्टी पनि एक आपसमा विलय हुने र पुनः विभाजनको श्रृंखलाले पनि निरन्तरता पाईरहेको छ । विगत साढे ३ दशक यता राष्ट्रिय मुल धारका रुपमा नेकपा एमालेले आफुलाई उभ्याउन र वामपन्थी पार्टीहरुमा सर्वाधिक ठुलो रहदै आएको पनि छ साथै आवधिक महाधिवेशन एवं प्रजातान्त्रिक विधिद्वारा नीति कार्यक्रम पारित गर्ने र नेतृत्व छनोट गर्ने कार्यमा अग्रता पुष्टि गर्न पछि परको छैन ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker