फोहरबाट आम्दानी गर्दै तनहुँको व्यास नगरपालिका

तनहुँ : व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापन गरी आम्दानी गर्न थालेको छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सुक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको हो ।

विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री गरिरहेको वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिनुभयो । नगरपालिकाले रु ५० हजार बराबरको सिसाको बोतल बिक्री गरिसकेको छ । अन्य प्लाष्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ ।

नगरपालिकाले न्यूनतम दररेट कायम गरी १५ दिनको सूचना जारी बोलपत्र आह्वान गरेको हो । जसअनुसार रेडबुललगायत आल्मुनियम प्रतिकेजी रु ५०, फलाम प्रतिकेजी रु २८, टीन रु २०, पानीको बोतल तथा अन्य बोतल रु २०, कपडा चार रुपैँया ५० पैसा, कपि रु १५, किताब रु १४ दररेट कायम गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार फोहर व्यवस्थापनका लागि व्यास नगरपालिकाको पुरानो सभाहल र बाहिरी क्षेत्रमा ट्रस निर्माण गरी फोहर वर्गीकरण गरिएको छ । नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन हुने गरेको छ । कुहिने फोहरलाई व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सुक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना अघि बढाइएको जानकारी दिनुभयो । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको छ । सरसफाइ शाखाका कर्मचारी परिचालन गरी नकुहिने वस्तु वर्गीकरण थालिएको उहाँले बताउनुभयो ।

भारतबाट किनेर ल्याएको ‘बेलिङ’ मेसिन नगरपालिका परिसरमा जडान गरी नकुहिने प्लाष्टिकजन्य, फलामजन्य र कागजजन्य वस्तुलाई ठूलो आकारबाट सानो आकार बनाउने काम भइरहेको छ । उक्त मेसिनले ठूलो आकारको वस्तुलाई दाबेर सानो आकार बनाउनुका साथै आफैले ‘ब्यान्डिङ’ गर्ने नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट आम्दानी गर्ने लक्ष्यअनुरूप प्रक्रिया अघि बढाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker