आठौं तनहुँ महोत्सवको मिति सर्यो : माघ १९ देखि फागुन १ गतेसम्म सञ्चालन गरिने
भञ्ज्याङ न्यूज

तनहुँ उद्योग वाणिज्य संघले यही पौष २९ गतेदेखि आठौ तनहुँ महोत्सव गर्ने पूर्वनिर्धारित मितिलाई परिवर्तन गरेको छ । संघले आन्तरिक तयारी लगायतका समस्याका कारण पहिलो तोकिएको मितिमा महोत्सव सञ्चालनमा समस्या आएकाले यही माघ १९ देखि फागुन १ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको संघको कार्यकारी सचिव सिता गुरुङले जानकारी गराइन् ।
संघले २०६३ सालदेखि दमौलीमा तनहुँ महोत्सवको गर्दै आएको र कोरोनाले थला परेको आर्थिक गतिविधिलाई चलायमान बनाउन लक्ष्यका साथ महोत्सव गर्न लागिएको र महोत्सव सञ्चालनका लागि आवश्यक तयारी पुरा गर्न नसकेकाले केही समय पर धकेलिएको संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले बताए । जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका पनि महोत्सवका आयोजक रहेका छन् भने दमौली बजार इकाई सहआयोजक रहेको छ।
‘तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार’ भन्ने नाराका साथ गर्दै आइएको महोत्सवले आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेको छ । स्वदेशी तथा विदेशी गरी करिब ५ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब ६ करोड रुपैयाँ बराबरको आर्थिक कारोवार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै, महोत्सवबाट ८० लाख रुपैयाँको आम्दानी हुने र १५ लाख ३५ हजार रुपैयाँ बराबरको बचत हुने अनुमान आयोजकले गरेको छ । महोत्सवमा स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिने तयारी गरिएको र महोत्सवमा सहभागि सहकार्यका लागि स्थानीय व्यवसायीहरुसंग छलफल गरेर अगाडि बढ्ने संघका महासचिव सुबोध अधिकारीले बताए । संघले जिल्लाका पालिकाहरुसंग समन्वय गरी महोत्सव सञ्चालन स्थल तथा स्थायी प्रदर्शनी तथा अवलोकन केन्द्र तोक्ने तयारी समेत गरेको बताइएको छ ।
संघका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा महोत्सव आयोजक मुल समारोह समिति गठन गरिएको छ र महोत्सवको निर्देशकमा मानकाजि श्रेष्ठ, सचिवालय संयोजक सुबोध अधिकारी र आर्थिक संयोजमा संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ रहेको बताइएको छ ।
यस्तै, महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको संगमस्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जलविहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर यो सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रुपले सम्पन्न ग्रामीण बस्तीको प्रवर्द्धनका लागि दर्शकलाई सांस्कृतिक नमूना ग्राम भ्रमण गराउने योजना छ । महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।










