भानुको भन्सारमा हुलाक कार्यालय स्थापना

भानु : तनहुँको भानु नगरपालिका–१ भन्सारमा हुलाक कार्यालय स्थापना गरिएको छ । ‘एक स्थानीय तह, एक हुलाक’ भन्ने नीतिअनुसार बुधबार एक कार्यक्रमका बीच हुलाक कार्यालय स्थापना गरी सेवा शुभारम्भ गरिएको हो ।
हुलाक सेवाको शुभारम्भ गर्दै भानु नगरपालिकाकी उपप्रमुख उमादेवी गोतामेले हुलाक सेवाको महत्वको चर्चा गर्दै प्रभावकारी ढंगले सेवा प्रवाह गर्न आग्रह गरिन ।
जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, भानु–१ की अध्यक्ष कान्छीमाया तामाङ लगायतका वक्ताहरुले हुलाक सेवाले विगतदेखिनै नागरिकहरूको विश्वास जित्दै सेवा प्रदान गर्दै आएको र अबको सेवालाई सूचना प्रविधिको प्रयोग गर्दै थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउनुपर्ने जोड् दिएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको जिल्ला हुलाक कार्यालयका डाँक शाखा प्रमुख डालाराम बसौलाले जानकारी गराए ।










