नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्छ : कांग्रेस नेता भण्डारी

दमौली : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न जरुरी रहेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँको शनिबार दमौलीमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोन्धन गर्दै भण्डारीले नेपाल सबै हिन्दूको आस्थाको केन्द्र बनाउन हिन्दु राष्ट्र घोषण गर्न ढिलाई गर्न नहुने बताए ।
हिन्दुराष्ट्र बनाउन कांग्रेसले घोषणापत्रमा नै समावेश गरेर जनता समक्ष जानुपर्ने भण्डारीको भनाई थियो । हरेक मुलकको आ–आफ्नो पहिचान र विशेषता हुने उल्लेख गर्दै भण्डारीले नेपालको मुख्य पहिचान हिन्दुराष्ट्र भएको बताए ।
लथालिङ र भद्रगोलबाट बचाउँदै अर्थतन्त्र सुधारको लागि कांग्रेसले बैदिक सनातनक धर्मको बाटो अबलम्बन गर्नुपर्ने भण्डारीको भनाई थियो । धार्मिक पर्यटकीय स्थलहरुले थुप्रै नेपालीलाई रोजगारी दिएको र अर्थतन्त्र सुधार गर्न धार्मिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्नु पर्ने भण्डारीले बताए । उनले भने, ‘विश्वभरीमा रहेका हिन्दुहरुलाई आस्थाको केन्द्र बनाउन सकियो भने आर्थिक समृद्धि हुन्छ त्यसको लागि हिन्दुराष्ट्र घोषणा गरिनु पर्दछ । अधिकांश जनताको चाहना हिन्दु राष्ट्र घोषणा गरिनु पर्ने र प्रदेश खारेजी गर्नुपर्ने पाईएकोले जनताको भावानाको कदर गर्न हिन्दु राष्ट्र घोषणा गर्दै प्रदेश खारेजी गर्नुपर्छ ।’
नेपाल प्रजातन्त्र सेनानी संघ तनहुँका अध्यक्ष समुन्द्र गोदारको अध्यक्षमा कार्यक्रममा नेपाली कांग्रेस तनहुँका सभापति जीतप्रकाश आले, नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, संविधान सभा सदस्य रामचन्द्र पोखरेल लगायतले प्रजातन्त्रका सेनानीको सम्मानमा कमी आएको उल्लेख गर्दै उनिहरुको योगदान भावी पुस्तालाई जानकारी दिन आवश्यक रहेको जोड दिए ।










