मानहुँकोटको खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण गरिदै

भञ्ज्याङन्यूज

तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटमा खानेपानी समस्या समाधानका लागि ट्याङ्की निर्माण कार्य थालिएको छ । आन्तरिक पर्यटकको आकर्ष गन्तव्यस्थल मानहुँकोटमा खानेपानीको अभाव रहेको छ । संघीय सरकारबाट चालु वर्षमा दुइ करोड रुपैयाँ बजेट विनियोजन भएपछि नगरपालिकाले खानेपानीका लागि ट्याङ्की निर्माण कार्य अगाडि बढाएको हो।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समपूरक योजना अन्तर्गत खानेपानी योजनालाई प्राथमिकतामा राखेर मानहुँकोटमा खानेपानीको ट्याङ्की निर्माण गर्न थालिएको बतानए । उनले भने, ‘यहाँको खानेपानीको समस्या सम्बोधन गर्न नगरपालिका प्रतिवद्ध छ । हामी स्थानीयलाई यही फर्कने वातावरण बनाउँदैछौं । यहाँको खानेपानी समस्या सम्बोधन हुन्छ ।’

मानहुँकोटमा अबको एक हप्तामा खानेपानीको मुहान निश्चित गरी खानेपानीको सहज आपूर्ति गरिने व्यास-५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले भने, ‘करिब छ-सात किलोमिटरको दूरीबाट खानेपानी बोरिङ गरेर ल्याउनेछौं । केही मुहानमा विवाद हुँदा ढिलाइ भएको छ । समन्वय गरिरहेका छौं । पानी ल्याउने मुहान सुनिश्चित भएपछि पानीको समस्या र्टर्नेछ ।’

मानहुँकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको मानिन्छ । महर्षि वेद व्यासकी माता मात्स्यगन्धासँग महर्षि परासर प्रेममा थिए । मत्स्यगन्धासंगको प्रेमलीला अरुले नदेखुन् भनेर महर्षि परासरले कुहिरोको उत्पत्ति गराएको कथनसमेत रहिआएको छ । मानहुँकोटबाट पूर्वतर्फ दमौली बजारका साथै पश्चिमतर्फ गुणादी, उत्तरतर्फमादी नदी, साँगेखोला र दक्षिणतर्फ सेती नदी छर्लङ्ग देखिन्छ ।

यसका साथै रमणीय हरियाली वनजंगल देखिन्छन् । विगतमा घण्टौं लगाएर पानी ल्याउनुपर्ने बाध्यता भएपछि यहाँका स्थानीय बसाइँ सरी मानहुँकोटको फेदीतर्फझरे। पानी सहज हुने स्थानतर्फ झरेका स्थानीय यहाँ पर्यटक आगमन बढ्न थालेपछि फर्किन थालेका हुन् । करिब पाँच वर्षयता मानहुँकोट पर्यटकीयस्थलका रूपमा विकसित हुँदै गएको छ ।

बिगतमा करिब ५०-६० घरधुरी बस्दै आएकामा पानीको समस्या भएपछि मानहुँकोटको फेदी अलैचे, पाटनतर्फ झरेका हुन् । मानहुँकोटमा केही सुविधासम्पन्न होटल बन्ने क्रममा छन् । तर पानीको अभाव कहिले पूर्ति हुन्छ भनेर अपेक्षामा रहेका होटल व्यवसायी खानेपानी ट्याङ्की बन्न लागेपछि खुसी छाएको व्यवसायी चुडामणि दाहालले बताए । उनले भने, ‘सुविधासम्पन्न होटल बन्दै गएपनि पानीको समस्या हल नहुँदासम्म सकस नै रहेको छ । अब ती समस्या एक वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।’

मानहुँकोटबाट देखिने कुहिरो, हिमशृङ्खला र सूर्योदय पर्यटकको आकर्षणका दृश्य हुन् । हिउँद सुरु भएसँगै कुहिरोले सदरमुकाम दमौली बजारलाई छोप्छ । घाम उदाउन लागेसँगै कुहिरो विस्तारै फाट्ने गर्दछ र दमौली बजार छर्लङ्ग देखिन्छ । यससँगै हिमशृंखला पनि सुन्दर देखिने गर्दछन् । यही हिमशृङ्खला र डाँडाबाट देखिने चारैतिरको सुन्तरता हेर्न पर्यटक लालायित हुने गर्दछन् । मानुङकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको लोभलाग्दो दृश्यले पर्यटकलाई आनन्दित तुल्याउने गरेको छ। पर्यटककै कारण अन्यत्र पुगेका यहाँका स्थानीय गाउँ फर्किन थालेका छन् ।

पर्यटकीय क्षेत्रका रूपमा मनुङकोट विकास हुँदै जाँदा यहाँ स्थानीय होटल व्यवसायमा संलग्न हुन थालेका छन् । मानुङकोट पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएपछि पानीको अभावले रित्तिएको बस्ती अहिले पर्यटकीयस्थलका रूपमा विकास भएसँगै स्थानीय फर्किन थालेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker