दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी भृकुटीमण्डपमा पौष १७ गतेदेखि
भञ्ज्याङन्यूज

काठमाडौं : पठन संस्कृतिको प्रवर्द्धन र शैक्षिक तथा बौद्धिक जनशक्ति उत्पादनको लक्ष्यसहित भृकुटीमण्डपमा दोस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी आगामी पौष १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।
महासंघका अध्यक्ष शिव सागर शर्माका अनुसार ‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’ भन्ने सिद्धान्तलाई आत्मसात गर्दै प्रदर्शनी आयोजना गरिंदैछ। प्रदर्शनीमा नेपालसहित भारत, चीन, र अन्य दक्षिण एसियाली राष्ट्रका १५० भन्दा बढी स्टल रहनेछन्।
शैक्षिक सामग्री र अन्तरक्रिया मुख्य आकर्षण
प्रदर्शनीमा पुस्तकसँगै विश्वभर उत्पादित शैक्षिक सामग्रीहरूको प्रदर्शन गरिनेछ। महासचिव विष्णु प्रसाद पौडेलका अनुसार नेपाल र अन्तर्राष्ट्रिय प्रकाशकहरूबीच आयात-निर्यात तथा सहकार्यको वातावरण बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
यसका साथै, महोत्सवमा शिक्षा, साहित्य, कला, संस्कृति, र सञ्चार क्षेत्रका विज्ञहरूको छलफल र अन्तरक्रिया पनि गरिनेछ। प्रचारप्रसार समितिका सह-संयोजक पुरोषतम दाहालले प्रदर्शनीमा देशभरका २ हजारभन्दा बढी व्यवसायी र विदेशका एक सयभन्दा बढी अतिथिहरू सहभागी हुने जानकारी दिए।
शिक्षा र सहकार्यको सन्देश
महासंघका अध्यक्ष शर्माले प्रदर्शनीले दक्षिण एसियाली राष्ट्रहरूबीच शिक्षा, साहित्य, कला, र संस्कृतिको आदानप्रदान गर्दै सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्। प्रदर्शनीले राष्ट्रिय शिक्षा क्षेत्रका सरोकारवालाहरूलाई मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस पुस्तक प्रदर्शनीले शिक्षा र शैक्षिक सामग्रीको महत्त्वबारे जागरुकता फैलाउँदै शिक्षाप्रेमीहरूका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास लिइएको छ।










