महिलाका लागि निःशुल्क पाठेघर क्यान्सर परीक्षण

दमौली : तनहुँको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालले शनिवार स्वास्थ्य शिविर सञ्चालन गरी १५० जना महिलाको पाठेघर क्यान्सर (भीआईए) परीक्षण गरेको छ । इनर व्हिल क्लब अफ दमौलीको सहकार्यमा आयोजित उक्त शिविरमा स्वास्थ्य परीक्षणसँगै महिलाहरूलाई परामर्श प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरमा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलाको स्वास्थ्य सुरक्षाका लागि यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान गर्ने बताइन् ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अभावलाई ध्यानमा राख्दै यस्ता शिविरले महिलाहरूलाई समयमै स्वास्थ्य परीक्षण र परामर्श सेवा दिन सहयोग गरेको बताए ।
चिकित्सक संघ तनहुँका अध्यक्ष डा. रामकुमार श्रेष्ठले शिविरको प्रभावकारितालाई उजागर गर्दै भने, “पाठेघर क्यान्सर जस्ता गम्भीर रोगको पहिचान समयमै भयो भने जीवन बचाउन सकिन्छ । यस्ता शिविरले समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न मद्दत गर्छ ।”
क्लबकी केन्द्रीय सदस्य निर्मला मल्लले महिलाहरूलाई स्वस्थ जीवनतर्फ अग्रसर गराउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन ।
क्लबकी अध्यक्ष नारायणी मल्लको अध्यक्षतामा आयोजित शिविरमा डा. दिनेश शर्मा र डा. बबिता खड्काको नेतृत्वमा रहेको टोलीले महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो ।
शिविरमा अस्पतालका व्यवस्थापक लिला बहादुर थापाका अनुसार चेकजाँच गरिएका मध्ये ५ जना महिलामा पाठेघर क्यान्सरको प्राथमिक जोखिम देखिएकाले उनीहरूलाई थप उपचारका लागि सिफारिस गरिएको सचिव सविता श्रेष्ठले जानकारी गराइन् ।










