व्यास नगरपालिकाद्वारा उद्यमी एवं कृषकलाई सीपसँगै प्रविधि हस्तान्तरण
भञ्ज्याङ न्यूज

तनहुँको व्यास नगरपालिकाले स्थानीय उद्यमी एवं कृषकलाई सीपसंगै प्रविधि हस्तान्तरण गरेको छ । लघुउद्यम कार्यक्रम (मेड्पा) मार्फ कृषकलाई सीप प्रदान गरी प्रविधि हस्तान्तरण गरिएको हो ।
उद्यमीको मागबमोजिम चाउमिन मेसिन, चाउमिन मिक्स्चर, दुना टपरी मेसिन, हाते ट्रयाक्टर, सिलाइ मेसिन सहयोग गरिएको व्यास नगरपालिकाका उद्योग पर्यटन शाखा प्रमुख मेघनाथ आचार्यले बताए ।
नगरपालिकाको ८० प्रतिशत अनुदान र समूहको २० प्रतिशत लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए ।
वडा नं. १ स्थित थानीमाई लघुउद्यमी समूहलाई रु एक लाख ३५ हजार मूल्य बराबरको चाउमिन मेसिन र रु एक लाख २५ हजार मूल्य बराबरको चाउमिन मिक्स्चर सहयोग गरिएको छ ।
वडा नं ८ स्थित कालिका दुना टपरी लघु उद्यमी समूहलाई रु एक लाख २५ हजार बराबरको दुना टपरी मेसिन सहयोग गरिएको छ ।
वडा नं १० स्थित मिलीजुली लघुउद्यमी समूहलाई रु ५८ हजार बराबरको हाते ट्याक्टर सहयोग गरिएको छ । वडा नं १० स्थित साझा लघुउद्यमी समूहलाई रु ७७ हजार बराबरको कुखुरा अटो डि्रकर सहयोग गरिएको छ ।

वडा नं १० स्थित उद्यमशीलता लघुउद्यमी समूहलाई रु ६० हजार बराबरको कार वासर हेड प्रेसर वासर सहयोग गरिएको छ । वडा नं १० कै कालीडाँडा होमस्टे लघुउद्यमी समूहलाई फिल्टर, डिस्पेन्सर, वडा नं ६ र ८ को सिर्जनशील लघुउद्यमी समूहलाई चापकटर र दाना बनाउने मेसिन सहयोग गरिएको छ ।
वडा नं ६ स्थित सुन्दरदेवी लघुउद्यमी समूहलाई सिलाइ मेसिन र मिलीजुली लघुउद्यमी समूहलाई सिलाइ मेसिन सहयोग गरिएको छ ।
गरिबी निवारणका लागि लघुउद्यम विकास (मेड्पा) कार्यक्रममार्फ नयाँ उद्यमी सिर्जना गर्दै सीप सिकाएर उनीहरुलाई प्रविधि हस्तान्तरण गरिएको आचार्यले बताए । नगरपालिकाले गत वर्षवडा नं ६, ७, ८ र ९ तथा चालु आर्थिक वर्षा वडा नं १, १० र १२ मा यो कार्यक्रम लागू गरेको थियो ।
आचार्यका अनुसार लघु उद्यम विकास कार्यक्रममार्फ उद्यमीलाई विभिन्न तालिम प्रदान गरेपछि प्रविधि हस्तान्तरण गरिएको छ । चालु आर्थिक वर्षा ९० उद्यमी सिर्जना गर्नुपर्ने लक्ष्य रहे पनि १०४ उद्यमी सिर्जना भएको उनले बताए ।










