तनहुँ जलविद्युत आयोजनाद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण

दमौली : तनहुँको दमौलीमा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा आयोजनाद्वारा निर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

व्यास नगरपालिका–५ बेनीपाटनमा व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन सोमबार विद्यालयको ३३औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण गरी उद्घाटन गरिएको छ ।

आयोजनाले नवनिर्मित विद्यालय भवन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेको थियो भने नवनिर्मित उक्त भवनको नगरपालिकाका प्रमुख न्यौपानले उद्घाटन गरेका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवं अपाङ्गमैत्री रहेको छ ।

भौतिक रुपमा विद्यालयको पूर्वाधार बलियो र सुरक्षित हुँदा यसको सकारात्मक प्रभाव विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायत सबैलाई पर्ने आयोजनाले विश्वास लिएको छ ।

भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच करिब दुई वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रभावित क्षेत्र भिमाद नगरपालिका–५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ ।

सामाजिक विकास कार्यक्रम अन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरुमा ६६ योजनाहरु सम्पन्न भएका छन् । ९ वटा योजनाहरु हाल सञ्चालित छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker