चौथो महाधिवेशनदेखि विस्तृत शान्तिसम्झौतासम्मको थप कुरा

शम्भु बहादुर अधिकारी

वि.सं. २०३७/०३८ सालमा देशब्यापी रुपमा कर्मचारी सरह पेन्शन, संचयकोष र बिरामी बिदाको रकम सरकारसंग माग गरी शिक्षक आन्दोलन सुरु गरिएको थियो । तत्कालीन चौमको तर्फबाट त्यस शिक्षक आन्दोलनमा सशक्त रुपमा भाग लिइएको थियो । जिल्ला स्तरीय शिक्षक आन्दोलनमा ब्यापक सरकारी दमन भयो । आन्दोलनको क्रममा ’काठमाण्डौ जाँऔं र शिक्षक आन्दोलन  सफल पारौं’ भन्ने नाराका साथ काठमाण्डौ मार्च गरिएको थियो । काठमाण्डौ जाने शिक्षकलाई मुग्लिङमा नै पक्राउ गरी फर्काइयो भने शम्भु बहादुर अधिकारी, मुक्ति खनाल समेत भूमिगत रूपमा काठमाण्डौ पुगे र सिंहदरबार भीत्र प्रबेश गरी आन्दोलनकारी शिक्षकहरुले नारा जुलुस प्रदर्शन गरे । पक्राउ परेका शिक्षकलाई जिल्ला प्रहरी ठाना पठाइयो । १०४ दिनको निरन्तर शिक्षक आन्दोलनबाट सरकार शिक्षकका माग पुरा गर्न बाध्य भयो । गिरफ्तार शिक्षकहरु छाडिउयो । जनजीवन सामान्य हुँदै गयो । नेराशि संगठनको जिल्ला सम्मेलनले बामपंथी शिक्षकहरुबाट दधिराज सुबेदीलाई अध्यक्ष छान्यो । प्रजातन्त्रबादी शिक्षकहरुले नेपाल शिक्षक संघ गठन गरी संगठन फूटाए ।
२०३६/०३७ मा जनमत संग्रहको बेला अखिल छैठौंका लिलामणी पोखरेलले जामुने र खैरेनीटारमा बहुदलको पक्षमा बिशाल आमसभालाई सम्बोधन गरेका थिए। चौमका तत्कालिन महामन्त्री मोहन बिक्रम सिंह पनि गण्डक क्षेत्रमा आउँदा तनहुँमा बहुदलको पक्षमा कार्यकर्ताहरुलाइ प्रशिक्षित गरेका थिए । महिला संघको निर्माणमा पम्फा भूषाल र किसान संघको निर्माणमा दिल बहादुर श्रेष्ठले तनहुँमा केही समय काम गरेका थिए । त्यसले तनहुँ जिल्लामा महिला र किसानलाइ प्रेरणा दिने काम गर्यो। तनहुँमा त्यही रुपमा चौम हुँदै मशालसम्ममा कामरेडहरु क्रियाशिल थिए ।
२०४६ सालमा जनआन्दोलन सफल भएपछि तत्कालीन नेकपा तनहुँ मशालले एउटा पर्चा निकालेको थियो जस्को सार संबिधान सभाको चुनाव, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना थियो । केन्द्रले त्यस नारालाई दक्षिणपंथी, संशोधनवादी र प्रतिक्रियाबादी चरित्रको भन्ने गम्भीर आरोप लगायो । जिल्ला हेडक्वार्टरसंग कारवाही किन नगर्ने भनि क. बिश्वास र क. आकास तनहुँ आए । प्रष्टिकरणमा शम्भु बहादुर अधिकारी र मुक्ति खनाललाइ संबिधासभाको औचित्य सोधियो । उनीहरुले लेनिनको संबिधासभा र अन्य मुलुकका संबिधान सभाको उदाहरण दिए। तर एच क्यू उनीहरुको जबाफसंग संतुष्ट भएन । कारबाहीसम्मको धम्कि आएपछि शम्भु बहादुर अधिकारी र मुक्ति खनालले संबिधान सभाको माग फिर्ता लिए । बहुदलीय ब्यबस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल भन्ने नारा दिने केन्द्रले जनबादी क्रान्ति सम्पन्न गर्ने कसम खाएको थियो । पार्टी फुटायेर एमबी मसालका र प्रचण्ड मशालका महामन्त्री थिए ।
त्यस यता उनीहरु दुबै जना पार्टीको प्रमुख पदमा रही रहेका छन भने नेत्रृत्व हस्तांतरण गर्न उनीहरु बिल्कुल अनिच्छुक देखिन्छन । तत्कालीन अबस्थामा नै पार्टी केन्द्रले एउटा पर्चा निकालेर बितरण गरेको रहेछ । तनहुँको लागि आएको पर्चाहरु आँवुखैरेनीका जिम्मेदार कामरेडहरुले आगो लगाइ नष्ट गरिदिएछन । कारण यो थियो कि प्राप्त बहुदलीय ब्यबस्थालाई पर्चामा, “साम्राज्यबादी बहुदल–मुर्दाबाद! नयाँ जनबादी क्रान्ति जिन्दाबाद !” उल्लेख गरिएको रहेछ। सो घटनाबारे केन्द्रलाइ जानकारी दिइएको थियो । कारबाही के भयो जिल्ला हेडक्वार्टरलाई जानकारी भएन । तर आज हामीले उपयोग गरेको राजनीतिक व्यवस्था साम्राज्यबादी बहुदल बाहेक जनबादी बहुदलीय ब्यबस्था होइन ।
वि.सं. २०४७ सालमा मशाल, चौम, सर्बहाराश्रमिक संगठन र बिद्रोही मसालको एकताकेन्द्र बनायो । एकता महाधिवेशनले नेकपा माओबादी नामाकरण गर्यो र मालेमालाई पथप्रदर्शक सिद्धान्त मान्यो, पछिल्ला दिनहरुमा “प्रचण्ड पथ” थपियो। महाधिवेशनले सशस्त्र संघर्षमा जाने निर्णय गर्यो । त्यस्कारण देव गुरुङको ऊपस्थितिमा हरि चुमनको नेत्रृत्वमा तनहुँमा दिलिप श्रेष्ठ, गोकर्ण पण्डित, श्रीराम घिमिरे, रमेश सिग्देल, मन बहादुर आले, नरेश राना, ऋषि न्यौपाने रहेको सुरक्षा दल गठन गरियो । २०५२ साल फागुन १ गते नेपालमा सशस्त्र संघर्ष सुरु भयो । चार जिल्लाबाट सुरु भएको सशस्त्र संघर्ष थोरै समयमानै देशब्यापी रुप लियो । गोरखाका दिल बहादुर रम्तेल सशस्त्र संघर्षका पहिला शहीद भए ।
सरकारी दमन निर्मम थियो । लडाकुहरु देशभित्र शत्रुका किल्ला भत्काउँदै थिए भने केन्द्रीय कमाण्ड भारतमा थिए । दक्षिणपंथि अबसरबाद, संशोधनबाद, मध्यपंथ अबसरबाद, सारसंग्रहबाद र सम्झौताबादका बिरुद्धको संघर्षमा क्रान्तिकारी युवायुवतीहरु क्रान्तिमा  होमिएका थिए । जनतन्त्र, जनजीबिका र राष्ट्रियताका पक्षमा भएको त्यो सशस्त्र संघर्षको उद्देश्य मजदुर किसान एकतामा निम्न पूजिपतिबर्ग, प्रगतिशील, बामपंथि बुद्धिजीबीहरूको संलग्नतामा जनबादी ब्यबस्था कायम गर्ने भन्ने थियो । अहिलेको सुधारिएको बहुदलीय बायबस्था थिएन । तनहुँ जिल्लामा इन्द्र मोहन सिग्देल, हितराज पाण्डे पहिलो चरणमा इन्चार्ज थिए, भने २०५६ भदौमा हरि अधिकारी, २०५९/०६० मा खोप बहादुर कंडेल, २०५८/०५९ मा हरिचुमन, रमेश सिग्देल २०६० मा हरिचुमन अशोक लम्साल २०६०/०६१ मा डम्बर बिक, ईश्वर गौलि र झक्कू सुबेदी, डम्बर बिक, बिन्दु माइला आदि थिए । सैन्य संगठनमा रमेश सिग्देल, सुर्य गौली, नारायण लोहनी, बिनोद पन्त, सुबास, पदम राना र बिना समेत क्रियाशील थिए ।
२०५५ ज्येष्ठमा तनहुँको कालिकाटार प्रहरी चौकिमा आक्रमण गरी फर्कदै गर्दा प्रहरीद्वारा शोभाकान्तको गोली हानी हत्या गरियो। भिर्कोट, टेक्रेभञ्ज्याङ आदि प्रहरी चौकिमाथि आक्रमण, रिठ्ठे पानीमा, बन्दिपुर, दमौलीमा एम्बुस कारबाही सफल भएको थियो । २०५८ भदौमा हरिचुमनको नेत्रृत्वमा किहुंमा, आसा कोइरालाको नेत्रृत्वमा राम्जाकोटमा र राम बहादुर थापाको नेत्रृत्वमा माझकोटमा जनसरकारहरु गठन भएका थिए । माओबादीको सुराकी गरी श्रीराम घिमिरेलाई बेपत्ता पारेको आरोपमा होमराज लोहनीलाई लाग्यो र सरस्वतीलाई पनि माओबादीले सुराकी गरेको भनि आरोप थियो । छाङ साउनेपानीमा सैनिक आक्रमणमा भरत अधिकारी समेत ८ जना माओबादीको हत्या गरिएको थियो ।
त्यसले सर्वसधारण जनतालाइ भयभित गराउने काम गर्यो । जामुनेका शम्भुलाल श्रेष्ठ समेतलाई माओबादीलाई पालेको र ख्वाएको आरोपमा गिरफ्तार  गरी निर्घात कुटी अहिलेसम्म पनि शारीरिक मानसिक रुपले अशक्त बनाएको छ । तर तनहुँका केही कामरेडहरू र केन्द्रीय कामरेडहरू समेतलाइ सैनिक बर्दीमा माओबादी आश्रय र कार्यकर्ताहरु चिनाउन बाध्य पारिएको थियो । त्यस्को परिणाम गण्डक क्षेत्रमा नै पार्टीको ठूलो क्षेती भएको थियो । आज तिनै आत्मसमर्पणबादीहरुको माओबादी भित्र क्रान्तिकारी भएको सुनिन्छ । अर्कातिर ज्यानको बाजी लगाएर जनताको मुक्ति, राष्ट्रियताको संरक्षण, गास, बास, कपास र जनबादी ब्यबस्था स्थापना गर्न लडाकुहरूले सम्झौताहिन संघर्ष गरेका थिए । तथापि उनीहरुले आत्मसमर्पण गरेनन् । देश र जनताको सम्बृद्धि, सुशासन र जनताको गास, बास, कपासको लागि ऊनीहरुको योगदान अविस्मरणीय छ ।
राजन सिग्देललाई थर्पुमा, कलावती पौडेल, संतोषी बराल, बम बहादुर कुमाल, गीता बिक, गणेश परियारलाई सुराकीको आधारमा पक्राउ गरी गोली हानी हत्या गरियो। शिब कुमालको टाउको काटी हत्या गरिएको थियो। देवघाटका प्रकाश सुबेदीको पनि हत्या गरियो । त्यसरी नै मन बहादुर नेपालीको भिडन्तमा हत्या गरियो भने ज्ञानचन्द्र ढकाल, केशव गौली लगायतलाई गिरफ्तार गरी जामुनेमा ल्याइ भिडन्तमा मारिएको भन्ने सेनाको भनाइ थियो। टुक बहादुर थापा र कृष्णकाजी केसीलाई पिङ् खेलेको अबस्थामा गोली हानी हत्या गरिएको थियो । प्रकाश आचार्यलाई घेरा तोड्न खोज्दा, पवित्रा कुमाललाई घरबाट गिरफ्तार, चिज कुमाललाई पक्रेको २६ दिनपछि हत्या गरियो । श्री प्रसाद बिक, गोकर्ण पण्डित, शिबभट्ट, देवेन्द्र पोखरेल, शान्त कुमार श्रेष्ठ, मेघनाथ लामिछाने, केशव भट्ट, सपना अधिकारी, केश दर्लामी, श्रीकृष्ण थापा, राजेन्द्र बिकलाई या त हत्या गरियो या बेपत्ता पारियो ।
देशभरका र तनहुँका ती महान शहीदहरुले जनता, देश र क्रान्तिको लागि आफ्नो अमूल्य जीवन बलिदान दिएको थिए । सशस्त्र संघर्षमा माओबादी पक्ष र सरकारी पक्षबाट धेरै धनजनको क्षति भैसकेको थियो । सशस्त्र संघर्षबाट र प्रति संघर्षबाट दुवै पक्ष थाकिसकेका थिए । शान्तिवार्ताको कुरा पनि दुवै पक्षबाट उठेको थियो । बिरेन्द्रको बंश नाश हुने गरी हत्या भएपछि ज्ञानेन्द्र राजा भए र प्रमको लागि निवेदन मागे । तर, आंफै मन्त्री परिषदको अध्यक्ष भए र संसदीय दल र सशस्त्र माओबादीलाई एकैचोटी आक्रमण गरे । परिणाम यो भयोकि राजतन्त्रको अन्त्य नजिकिंदै गयो। त्यो उनको रणनीतिक गल्ती थियो। अर्कातिर भारतीय संयोजनमा दिल्लिमा १२ बुंदे सहमति भएको थियो र संबिधान सभाको माग, अन्तरिम सरकार र गोलमेच बैठकको लागि सातदल माओबादी बीच सम्झौता गराइएको थियो । सशस्त्र संघर्ष, मधेश संघर्ष र १९ दिने जनआन्दोलनले राजतन्त्र कमजोर भयो र संबिधान सभाको पहिलो बैठकले नै राजतन्त्रको समाप्तिको घोषणा गर्यो ।
माओबादी पहिलो पटक सरकारमा गयो तर जनताका आवश्यकताहरु पूरा भएनन् । प्रधानसेनापतिको निष्कासन, पशुपतिका भट्टको निष्कासनले दलहरुको बिरोधको सामना गर्नु पर्यो । प्रचण्डले प्रमबाट राजीनामा दिए । कांग्रेस एमालेका नीतिगत भ्रष्टाचार, तस्करी, घुषखोरी, कमिशनतन्त्र, रातारात घरघडेरी, महंगा गाडी, प्लटिङबाट बिपुल सम्पतिको संकलन बिदेश पैसा लगेको आवाजका बिरुद्ध माओबादीले कुनै कानुनी कारबाही गरेन ।
नयाँ र उदाउँदो माओबादी शक्तिले घोषित उद्देश्यहरु पूरा गर्न सकेन । उनीहरु पनि यो वा त्यो रुपमा कांग्रेस एमालेसंगको सम्पर्कले आफूलाइ शुद्धिकरण गर्न सकेनन् । कांग्रेस एमाले र प्रतिक्रियबादीहरुको चारित्रिक बिशेषता नै यो हो कि भ्रष्ट, हत्यारा, कमिशन खोरहरुको र आफ्ना अपराधीलाई खुला रुपमा संरक्षण गर्नु हो । त्यहाँ नैतिक प्रश्न गौण हुन्छ । सामान्य परिवारबाट उदाएका माओबादीहरुको काठमाण्डौमा घर जग्गा, महंगा कार, बिलाशी जीबन, संसद र सत्तामा पारिवारिक बर्चस्व उनीहरुको दिनचर्या बन्यो । सुन तस्करी, शेरा दरबारकाण्ड, यौनकाण्ड, बुढीगण्डकी कमिशन काण्ड जस्ता काण्ड अगाडी आएका छन । त्यसबारे माओबादीले जनतालाई प्रष्ट पार्न सक्नुपर्छ । शान्ति सम्झौता अझै पुरा भएको छैन । १४०० लडाकू मात्र सेनामा समायोजित भएका छन । अंग अपाङ्गको ब्यबस्था भएको पनि छैन । मुद्दाहरू अझै यथावत छन ।
सांस्कृतिक क्रान्तिका नाममा हिन्दू गुरु, हिन्दु मठ र हिन्दू धर्ममाथि आक्रमण गरियो । जबकि सशस्त्र संघर्षका बेला पनि ईशाइ पादरीहरुको सुरक्षित यात्रा र चर्चहरुको निर्माणमा माओबादीबाट कुनै दख्खल भएन। संस्कृति, भाषा, धर्म र परम्पराको बिनास पछि सजिलै देश अर्काको अधिनस्थ हुन्छ भन्ने कुरामा ध्यान दिइएन । नेपाली बर्ण बिन्यासमा पनि आक्रमण गरिएको थियो । शम्भु बहादुर अधिकारी पार्टीको सम्पर्कमा नै थिए। ०६१ सालमा केस श्रीराम ढकाल समेत शम्भु बहादुर अधिकारीकोमा आएर बुद्धिजीवी फाँट समाल्नु पर्यो भनि अनुरोध गरे र उनी गण्डक क्षेत्रमा बुद्धिजीबी संगठन बनाउन लागे । उनलाई बुद्धिजीवी संगठन केन्द्रीय सचिबमा लगियो । उनी पार्टीको केन्द्रीय समिति सदस्य बनाइए तर कहिल्यै पनि बैठकमा बोलाइएनन् ।
दलभित्र कुनै कुरा उठाउने कार्यकर्तालाइ पदलोलुप, अनुशासनहीन, क्यारियरिष्ट बन्दूक नचलाएको गम्भिर आरोप लगाउने गरिन्छ । तर संदिग्ध लार्केन लामा, नेपाली सेनाका जर्नेल कुमार फुदुङ्हरूलाइ सांसद बनाइन्छ । पृथ्वीनारायण शाहको एकीकरणलाई अस्वीकार गर्नु, भारतीयहरुलाइ हुने खालको नागरिकता ऐन संशोधन गर्नु, खुला रुपमा भारतको सहज हुनु, नवौ महाधिवेशनले एमसीसी पारित नगर्ने भनेकोमा संसद बाहिर बिद्यार्थी उचाली संसद भित्र एमसीसी पारित गर्नुले इन्डो अमेरिकन धुरिको पक्ष पोषण गर्नु थियो । दलभित्र नाताबाद र कृपाबादको चरम रुप छ, उत्तराधिकारको कुरा उठ्न तल्लातहका नेत्रृत्वलाइ फलामको चिउरा चपाउनु सरह भएको छ । ४० बुंदे मागका सम्बन्धमा भारतसंग सम्बन्धित ९ बुंदाहरु जस्ताको तस्तै छन ।
माओबादी केन्द्रको यही गलत कारणले र संसदीय ब्यबस्थाका बिरुद्धको संघर्षको नेत्रृत्व गर्ने नेत्रृत्व अहिले त्यही ब्यबस्थाको समर्थनमा लाग्नु गम्भिर विषय बनेको छ । यस गलत प्रबृत्तिका बिरुद्ध किरण, धर्मेन्द्र बास्तोला, चन्दहरुले छुट्टै पार्टी बनाएका छन भने आहुति, लोकेन्द्र बिष्ट, गोपाल किरांतिहरु बाहिरिएका छन । बैचारिक, सैद्धांतिक, राजनीतिक र ब्यबहारिक रुपबाट असंतुष्ट ब्यक्ति वा समूहहरू “पर्ख र हेर“ को अबस्थामा छन भने उनीहरु कुनै दल, समूह वा ब्यक्तिको दर्शन, कार्यक्रम, नीति, राजनीतिक गन्तब्य र ब्यबहारलाई हेरेर र मूल्याङ्कन गरेर त्यस्को समर्थन वा बिरोध गर्ने अबस्थामा छन । हैरौ कुनै समूह वा दल कसरी राजनीतिक क्षेत्रमा आउँछन त्यसैले बाँकी विषयको निर्धारण गर्ने छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker