सम्पादकीय : व्यासभूमिलाई विश्वव्यापी पहिचानका लागि प्रवर्द्धन गरौं

हिन्दु सभ्यता, दर्शन र साहित्यको आधारशिला मानिने महाभारत, चार वेद र अठार पुराणको रचनासँग जोडिएको नाम हो– महर्षि वेदव्यास । विश्व मानव सभ्यताले गर्व गर्न सक्ने यस्तो अनुपम बौद्धिक र आध्यात्मिक सम्पदा जसको रचना नेपालकै तनहुँ जिल्ला, दमौली क्षेत्रसँग जोडिएको मानिन्छ, तर विडम्बना के छ भने रचनाकारभन्दा रचना विश्वभर पूजित हुँदा पनि रचना गरिएको भूमिको पहिचान भने अझै ओझेलमै छ । यही ऐतिहासिक र सांस्कृतिक विडम्बनाको नाम हो– व्यासभूमि दमौली । दमौलीलाई वेदव्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमिका रूपमा चिनिन्छ। व्यास पराशर क्षेत्र, व्यासगुफा, पराशर गुफा, शिवपञ्चायन मन्दिर, मादी–सेती संगमस्थलजस्ता स्थलहरूले यस क्षेत्रको धार्मिक र ऐतिहासिक गरिमा पुष्टि गर्छन् । यति मात्र होइन, सेती, मादी, बुल्दी, गुणादी र छाब्दी– यी पाँच नदीको संगम क्षेत्रलाई व्याससँग जोडेर हेर्ने धार्मिक मान्यता अझै जीवित छ। दमौलीदेखि करिब आठ किलोमिटर पूर्व रहेको छाब्दी बाराह क्षेत्रअन्तर्गत मच्छेकुण्डलाई व्यासकी माता सत्यवतीको जन्मस्थल मानिन्छ। यस्ता पौराणिक, आध्यात्मिक र ऐतिहासिक आधारहरू हुँदाहुँदै पनि व्यासभूमि आजसम्म विश्वस्तरको धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास हुन नसक्नु गम्भीर चिन्ताको विषय हो।

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने पृथ्वी राजमार्गसँगै रहेको दमौली क्षेत्र धार्मिक पर्यटनका लागि अत्यन्तै अनुकूल भौगोलिक अवस्थाको लाभ लिन सक्ने स्थान हो। बन्दीपुर, पोखरा, चितवनजस्ता पर्यटकीय क्षेत्रसँग नजिक रहेर पनि दमौलीले अपेक्षित पर्यटक आकर्षित गर्न नसक्नु योजनागत कमजोरीको परिणाम हो। व्यासगुफा र पराशर गुफासम्म पुग्ने पहुँच मार्ग, मादी नदीमाथिको झोलुङ्गे पुल, नजिकै रहेको तनहुँ जलविद्युत आयोजनाले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ। तर यति हुँदाहुँदै पनि यो क्षेत्र ‘बत्तिमुनीको अध्यारो’ जस्तै बनेको यथार्थ लुकाउन सकिँदैन । दमौली आसपासका सम्भावनाहरू केवल धार्मिक सीमामा मात्र सीमित छैनन्। दमौली बजारमाथि शिर बनेर उभिएको मानुङकोट प्राकृतिक सौन्दर्यको अनुपम उदाहरण हो। कुहिरोको समुद्र, नागबेली परेर बग्ने मादी नदी, पहाडका तरेली र टाढा देखिने हिमश्रृंखलाले मानुङकोटलाई अद्वितीय पर्यटकीय गन्तव्य बनाएको छ। एकैदिन हजारौँ पर्यटक मानुङकोट पुगेको तथ्यले यस क्षेत्रको सम्भावना प्रष्ट देखाउँछ। तर यस्तो सम्भावना दीर्घकालीन पर्यटन विकासमा रूपान्तरण हुन सकेको छैन।

व्यासभूमिलाई विश्वभर चिनाउने उद्देश्यसहित १०८ फिट अग्लो व्यासको मूर्ति निर्माण गर्ने अवधारणा अघि सारिएको छ। पूर्वाधार निर्माणको सुरुआत भए पनि कामले अपेक्षित गति लिन सकेको छैन। यस्तो परियोजना केवल मूर्ति निर्माणमा सीमित नभई सम्पूर्ण व्यास पराशर क्षेत्रलाई एकीकृत धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने दिशामा केन्द्रित हुन आवश्यक छ। यसका लागि गुरुयोजना, पर्याप्त बजेट, स्पष्ट नीति र बहुपक्षीय सहकार्य अपरिहार्य छ । आजको सन्दर्भमा धार्मिक पर्यटन केवल आस्थासँग मात्र जोडिएको विषय होइन; यो स्थानीय अर्थतन्त्र सुदृढ गर्ने, रोजगारी सिर्जना गर्ने र सांस्कृतिक पहिचान जोगाउने महत्वपूर्ण माध्यम पनि हो। भारतको वाराणसी, अयोध्या, हरिद्वार वा नेपालकै लुम्बिनी उदाहरणका रूपमा हाम्रा सामु छन्। यदि लुम्बिनी बुद्ध जन्मस्थलका रूपमा विश्वपरिचित हुन सक्छ भने व्यासभूमि दमौली किन वेदव्यासको तपोभूमिका रूपमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सक्दैन ? यसका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय आवश्यक छ । व्यास नगरपालिकाले केही पहल थालेको देखिए पनि त्यो पर्याप्त छैन। जनस्तरबाट भइरहेका प्रचारप्रसारका प्रयास सराहनीय भएतापनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको प्रवर्द्धनबिना अपेक्षित परिणाम आउन सक्दैन। व्यासभूमिलाई पाठ्यक्रम, धार्मिक पर्यटन नक्सा, अन्तर्राष्ट्रिय सम्मेलन, तीर्थयात्रा सर्किट र डिजिटल प्रवर्द्धनमार्फत विश्वसामु चिनाउनुपर्ने आवश्यकता आज टड्कारो बनेको छ ।

अब समय आएको छ– व्यासभूमिलाई केवल स्थानीय गौरवमा सीमित नराखी राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय धार्मिक गन्तव्यका रूपमा विकास गर्ने। यसका लागि पूर्वाधार विकास, सडक, सूचना केन्द्र, संग्रहालय, विश्रामस्थल, धार्मिक पदमार्ग, सरसफाइ र सुरक्षामा लगानी गर्नुपर्छ। साथै, व्यास, पराशर र यस क्षेत्रसँग जोडिएका पौराणिक कथाहरूको अनुसन्धान, दस्तावेजीकरण र वैज्ञानिक व्याख्या आवश्यक छ। वेदव्यासले संसारलाई दिएको ज्ञानको ऋण तिर्न नसकिएला, तर उनले तपस्या गरेको भूमि प्रतिको दायित्व पूरा गर्न भने अब ढिला गर्नु हुँदैन। व्यासभूमि दमौलीलाई बत्तिमुनीको अध्यारोबाट निकालेर विश्वव्यापी धार्मिक, सांस्कृतिक र आध्यात्मिक गन्तव्यका रूपमा स्थापित गर्नु आजको आवश्यकता हो। यस यात्रामा सरकार, स्थानीय तह, नागरिक समाज र प्रत्येक सचेत नागरिकको साझा प्रतिबद्धता अपरिहार्य छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker