तीर्थाटनका लागि स्वर्गद्वारी
के.बि. मसाल

प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी धार्मिक तीर्थाटन पर्यटनको लागि गन्तब्य भएको छ । हिन्दू धर्मावलम्बीहरुले अत्यन्तै महत्वका साथ श्रद्धा गर्दै आएको पशुपतिनाथपछि स्वर्गद्वारी नेपालकै दोस्रो तीर्थाटन पर्यटकीयस्थल मानिन्छ । पर्यटनका दृष्टिले स्वर्गद्वारी सिंगो पाँच नम्बर प्रदेशकै महत्वपूर्ण सम्पदा हो । स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ । स्वर्गद्वारीको परिसरबाट धौलागिरि, नीलगिरि, माछापुच्छ्रे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ । तर पनि प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ ।
स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा रहेको छ । नेपालका प्राचीन मन्दिरहरु मध्ये स्वर्गद्वारी मन्दिर एक मानिन्छ । पौराणिक कालमा पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । झट्ट हेर्दा नौ वटा मन्दिरजस्तो देखिने स्वर्गद्वारीको मन्दिरमा यज्ञशाला भित्र पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्ति छन् । चार दिशाका कोठामा अग्निकुण्ड र बीचको यज्ञशालामा होमन कार्य हुन्छ । स्वर्गद्वारीमा वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन । स्वर्गद्वारीमा गाईको महत्व बढि मानिन्छ । महाप्रभुका पालामा स्वर्गद्वारीमा हजारौ गाईहरु थिए । महाप्रभु स्वयंले पनि गाईको सेवा गरेको इतिहास छ । स्वर्गद्वारीमा गुरुकुल विद्यालय छ । गुरुकुल विद्यालयमा वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ ।
स्वर्गद्वारी तपोभूमी अहिले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकामा पर्दछ । रोल्पा जिल्लाको रुम्टी गाँउमा वि.स. १९१६ मा जन्मनुभएका १०८ महाप्रमु बालतपस्वि श्री नारायण गौतम १९५१ मा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नी प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमादेखि अखण्ड महायज्ञ सुरु गर्नु भएको हो । जुन विश्व शान्तिका लागि संचालित हवनकुण्ड वेदको मन्त्रद्वारा अग्नि स्थापना गरी दीप प्रज्जवलित भएको हो । हवनकुण्डमा हालसम्म निरन्तर अग्नि जलिरहेको छ । वेद गुरुहरुद्वारा पुँजा गरिने हवनकुण्डको विभूती प्रसादीको रुपमा ग्रहण गरिन्छ । रोल्पाको रुम्टीमा जन्मनु भएका महाप्रभुको न्वारानको नाम नारायण गौतम थियो । महाप्रभुको छैटीको दिन आमाले मासु आहार गरेको थाहा पाई भोकै बस्नु भयो । दशौ दिनबाट कपिला गाईको दुध सेवन गरी ३ वर्षको उमेरदेखि महाप्रभु शिवको भक्त हुनुभयो । महाप्रभु गाउँको माथीको ओढारमा ६ वर्षको उमेरमा अदृष्य भई ३ वर्षपछि विद्वानका रुपमा प्रकट हुनु भएको थियो ।
यसरी १९४२ मा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दिक्षा प्राप्त गरेपछि उहाँको नाम हसानन्द गिरी भएको हो । उहाँ आफ्नो गाउँ छाडी चेलाहरु सहित धर्म रक्षाका लागि हिडनु भयो । महाप्रभुले यज्ञकुण्ड निर्माणको बखत उत्खनन गर्दा भेटिएका पूजा सामाग्रीले पाँच पाण्डवहरुले स्वर्ग जाने वेलामा स्वर्गद्वारीमा यज्ञगरी स्वर्ग गएको हुन सक्ने कुरा विश्वास गरिन्छ । स्वर्गद्वारी महाप्रभु वि.स. १९९७ मा ब्रहृमलीन हुनुभयो । हवनकुण्डको नजिकै रहेको विशाल बाझको बोट ऐतिहासिक हो । त्यहि बाझको बोटमुनी स्वर्गद्वारीमा महाप्रभुले सबै भन्दा पहिले बसेर ध्यान गर्नु भएको थियो । स्वर्गद्वारी आश्रमले तिहारको औसीका दिन र दसैको फूलपातीका दिन प्रभुको सम्झनामा प्रभुको रथयात्रा निकाल्ने प्रचलन रहेको छ ।
समुन्द्री सतहबाट २१२१ मिटर उचाईमा अवस्थित प्युठानको स्वर्गद्वारी पवित्र भूमि मानिन्छ । त्यहाँ ब्रहृमाले तपस्या गरेका थिए । पाँच पाण्डव यतैबाट स्वर्ग गएका थिए । स्वर्गद्वारीमा गुरु शिष्य परम्परा महाप्रभुको पालादेखिनै बस्दै आएको छ । जुन कुरा ताम्रपत्रमा उल्लेख भएको छ । वि.सं. १९९७ सालमा महाप्रभु ब्रम्हालिन हुनुभन्दा पहिले प्रमुख शिष्य बोधानन्द गिरी अर्थात पुजारी महाराजलाई कार्य भार सुम्पिनु भएको थियो । त्यस्तै शिष्य परम्परा अनुसारको रोलक्रमबाट स्वर्गद्वारीमा आश्रम प्रमुखको जिम्मेवारी दिदै आएको परमपरा रहेको छ । यसरी आश्रम प्रमुख हुनेहरुमा रामनन्द गिरी, नित्यानन्द गिरी हुँदै अहिले भागवता गिरी आश्रम प्रमुख रहेका छन । स्वर्गद्वारीबाट ऋषि, महर्षिद्वारा शिक्षित भएर यज्ञ, जप, तप योग साधन, निष्काम कर्म गरेर जन्म-मृत्युबाट मुक्त एवं कृत-कृत्य भएको कुराहरु पाइन्छ । यी कुराको विशेष रुपमा स्कन्धपुराण अन्तर्गत हिमवत्खण्डमा वर्णन गरिएको छ ।
र्स्वर्गद्वारी धार्मिक स्थल आजभोली नेपाली मात्र होइन भारतिय धार्मिक पर्यटकहरुको समेत भिड लाग्ने गर्दछ । महाप्रभुको दर्शन गर्नाले पुत्र लाभ हुने, आफुले गर्न लागेका काम सफल हुने जस्ता कुराहरुले भक्तहरुलाई विश्वास बढाएको छ । स्वर्गद्वारीको आधार शिविर भिग्रीदेखि स्वर्गद्वारी जोडने १३ कि.मी. मोटर बाटोको स्तरोन्नति भएका कारण पर्यकटको संख्यामा बढेको छ । स्वर्गद्वारीमा विशेषतः वैशाख पूर्णिमा, गाई तिहारे औंशी, बडादसै, माघेसंक्रान्तिमा बढी दर्शनार्थी पुग्ने गर्दछन । यहाको पूजापाठ तथा मठमन्दिरको अवलोकन गरेमा मनको आकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । पर्यटकका लागि ऐतिहासिक मनोरम तलाउ, पाँच पाण्डव स्वर्ग गएको बाटो, महाप्रभुले तपस्या गर्ने गुफा, वि.सं. १९५२ सालदेखि सञ्चालनमा आएको वेद पाठशाला, गोवर्द्धन पहाड, आश्रममा पालिएका गाई, विभिन्न मठमन्दिर, आश्रमको परिसर भित्र रहेको ठूलो बाझको वृक्ष र्स्वर्गद्वारी पुग्ने धार्मिक पर्यटकहरुको लागि मुख्य आकर्षणको रुपमा रहेका छन् ।
स्वर्गकोद्वार, गुप्तिसागर स्वर्गद्वारीको उच्चटाकुरामा एउटा गुफा रहेको छ । उक्त गुफाबाट महाप्रभुले स्नानको निम्ति लुग्री माडीको दोभानमा झर्नु भई सोहि द्वारमार्फत नै फिर्ता हुने गर्नु हुन्थ्यो भन्ने मान्यता रहेको छ । हाल उक्त गुफाको द्वारलाई स्वर्गकोद्वार अर्थात स्वर्ग जाने बाटो र गुप्तीसागर भन्ने चलन छ । यो द्वार खोज र अनुसन्धानको विषय बनेको छ । स्वर्गद्वारी प्रभुलाई शिवको अवतार मानिन्छ । पशुपतिनाथको मन्दिरमा शिवजीको मात्र पुजा गरिन्छ । तर स्वर्गद्वारीमा हिन्दुहरुका सम्पूर्ण पुजा, अग्नीको हवन र धार्मिक विधीविधानबाट सञ्चालित भएको छ ।
महाप्रभुकै पालादेखि स्वर्गद्वारीसंग दाङको सम्वन्ध रहदै आएको छ । महाप्रभुले आरम्भ गर्नु भएको यज्ञ सञ्चालन गर्नको लागि दाङ जिल्लाको विभिन्न मौजामा १०५० विघा जमिन खरिद गर्नु भएको थियो । जुन मौजाको उत्पादनले स्वर्गद्वारीको पुजा-आजा चल्दै आएको थियो । सडक यातायात सञ्चालन हुनु भन्दा पहिले आफुले उत्पादन गरेको अन्न आश्रमका मोहिहरुले घोडा र मानिसले बोकेर र्स्वर्गद्वारी सम्म पुर्याउदै आएका थिए। दाङ देउखुरीका जमिन कतिपय स्थानमा अझै पनि कब्जा गरिएका छन । मोहिहरुब्ााट विभिन्न माग राखी बषौदेखि कुत बाली तिरेका छैनन । जुन कारणले र्स्वर्गद्वारी आश्रमलाई आर्थीक संकट पर्न थालेको छ । प्राकृतिक स्रोतको अत्याधिक प्रयोग र चरिचरणका कारणले र्स्वर्गद्वारी वरिपरिको जंगल बिनाश हुदै गएको हो । आश्रममा पालिएका गाईहरुको चरी चरण तथा घासपातका लागि जंगलमै भर पर्नु पर्ने अवस्था रहेको छ । आश्रममा दैनिकी आवश्यक पर्ने दाउरा जंगल विनासले र्स्वर्गद्वारी आश्रमलाई थप समस्या परेको छ।
भालुवाङ-भिग्री भएर स्वर्गद्वारी जाने धार्मिक पर्यटकहरु मध्य कतिपय चतुर्भुजको दर्शन गरेर जाने गर्दछन । चतुर्भुज प्युठान र रोल्पा जिल्लाको सिमानामा पर्दछ । लुंग्री र माण्डव्य नदीको संगम स्थल सुवर्णा गाउँपालिका-२ मा चतुर्भुजको मन्दिर रहेको छ । यो स्थल पनि ऐतिहासिक हो । स्कन्ध पुराणको हिमवत खण्डमा चतुर्भुजको बारेमा उल्लेख छ । ब्रहृमाजीले सुनछहरीको झरनामा स्नान गरी चतुर्भुजमा उपनयन कार्य गर्दा चतुर्भुजको मन्दिर स्थापना गरेका हुन । चतुर्भुजमा शिव पाञ्चायन र सरस्वतीको मन्दिर रहेका छन् । श्रीपञ्चमीका दिन चतुर्भुजमा ठूलो मेला लाग्छ । चतुर्भुजमा १६ जना मुनिले तपस्या गरेर स्वर्गद्वारी गई अखण्ड यज्ञ गरेको भनाइ पनि छ । भ्रि्रीबेस क्याम्पबाट चतुर्भुज मात्र ६ कि.मी.को दुरीमा पर्दछ । चतुर्भुजको मन्दिरदेखि १ कि.मी.को दुरीमा खुङग्रीको प्रख्यात भगवतीको मन्दिर समेत रहेको छ । मोटर मार्गको किनारमा रहेको भगवतीको मन्दिर परिसरमा शिव, र्सर्ूय, विष्णु र भगवतीको मन्दिर रहेका छन। लुंग्रीखोला र माण्डव्य खोलाको संगम स्थलबाट रोल्पा जिल्ला सुरु हुन्छ । चतुर्भुजदेखि रोल्पाको सदरमुकाम लिवाङसम्म ३८ कि.मीको दुरी रहेको छ । चतुर्भुजमा सतिदेवीको चौथो अगं पतन भएको जनविस्वास रहेको छ ।
स्वर्गद्वारीको विकासमा जनस्तरबाट उदाहरणीय कामहरु भएका छन् । स्वर्गद्वारीमा धर्मशाला निर्माण गर्नेदेखि पूर्वाधार विकासका काममा समेत राम्रो सहयोग जुटेको छ । स्वर्गद्वारीमा एक हजार तीर्थाटनका पर्यटक बस्न सक्ने धर्मशाला निर्माण भएका छन् । स्वर्गद्वारी पुग्ने तीर्थाटनका पर्यटकहरु सहजतापूर्वक बास बस्न सक्दछन् । स्वर्गद्वारीको बसपार्क धरमपानीदेखि स्वर्गद्वारी आश्रमसम्म एक किलोमिटरको दुरी र्स्वर्गद्वारी जादा पैदल यात्रा गर्नु पर्दछ । त्यहाँ आधुनिक सिढी बनाइएको छ। पैदल यात्रामा वृद्धहरुलाई सजिलोका लागि सिढीको किनारमा रेलिङ राखिएको छ । र्स्वर्गद्वारी पुग्ने पर्यटकका लागि स्वर्गद्वारीमा आश्रम, भक्तजन र सरकारी अनुदानबाट समेत धर्मशाला बनाइएको छ । धर्मशालामा एउटा बेडको ५० रुपैयाँ सरसफाई शुल्क आश्रमले लिने गरेको छ । स्वर्गद्वारी जाने पर्यटक अथवा भक्तजनहरुलाई भोजनका लागि आश्रमले भोजनालय समेत सञ्चालन गरेको छ । भोजनालयमा १०० रुपैयाँ तिरे पछि शाहाकारी भोजन खान पाइन्छ ।
लुम्बिनी र र्स्वर्गद्वारी लुम्बिनी प्रदेशका महत्वपर्ूण्ा पर्यटकीय गन्तव्य हुन् । धार्मिक र ऐतिहासिकरुपमा दुबै स्थान महत्वपूर्ण छन् । विश्वभरकै बौद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी तीब्र विकासको बाटोमा अग्रसर भइरहेको छ । समग्र प्रदेशको पर्यटन विकासका लागि यतिबेला लुम्बिनी र र्स्वर्गद्वारीलाई जोड्न जरुरी छ । लुम्बिनीमा आउने पर्यटकहरुलाई स्वर्गद्वारीसम्म पुर्याउन सकियो भने स्वर्गद्वारीको महत्व र प्रचार प्रसार आगामी दिनमा अझ बढेर जानेछ । भिंग्री-स्वर्गद्वारी, घोराही-स्वर्गद्वारी केबुलकार निर्माण गर्ने चर्चा पनि बेला-बेलामा हुने गर्छ र बीचमै सेलाउँछ । स्वर्गद्वारीसम्म केबलकार पुर्याउने योजना कसैलाई महत्वाकांक्षी लाग्न सक्ला । तर यो सम्भव छ र त्यत्तिकै आवश्यक छ । यसो गर्न सकियो भने स्वर्गद्वारीसम्मको यात्रा अझ सहज बन्नेछ । यो पश्चिम नेपालकै अग्रणी पर्यटकीय गन्तव्य बन्न सक्छ । स्वर्गद्वारीमा पर्यटकीय विकासको प्रचुर सम्भावना छ ।
भिग्रीबेस क्याम्पबाट पैदल स्वर्गद्वारी जाने पर्यटकहरुले ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । भिग्रीबाट स्वर्गद्वारी पुरानो पैदल यात्राको बाटो करिब ९ कि.मी.को दुरी पर्दछ । तरेली परेको उकालोबाटो जतिमाथी चढ्दै गयो चिसो हावा सुन्दर बस्ती, नागबेली आकारमा बग्ने माण्डब्य नदीको दृष्य हेर्दै यात्रामा बाटो काटेको थाहानै हुदैन । यात्रामा भौगोलिक अवलोकनसँगै प्युठान र रोल्पा जिल्लाका अनगिन्ति डाँडाकाडा समेतको अवलोकन गर्न सकिनछ । स्वर्गद्वारीमा बाह्रै महिना चिसो अनुभव गर्न सकिने हावापानी पाइन्छ । फागुन चैत्र महिनामा पुग्ने पर्यटकहरुले पहाडभरी फुलेका लालीगुरास फूलको दृष्यावलोकन र काफलको स्वाद समेत लिन पाउँछन ।
स्वर्गद्वारीमा रुद्री लगाउन, विवाह र व्रतबन्ध समेतका कार्यहरु पनि गर्न सकिन्छ । ती कार्यहरु गर्दा आश्रमले निश्चित रमक तोकेको छ। सामान्य दर्शन र अवलोकन गर्नजाने पर्यटकहरुले इच्छा अनुसार पैसा दान बाकसमा चढाए हुन्छ । पैसा चढाउनै पर्दछ भन्ने बाध्यता भने छैन । स्वर्गद्वारी जादा जाडो महिना भए बाक्लो कपडा लैजान जरुरी छ । किनकी स्वर्गद्वारीमा प्रायः चिसो भै रहन्छ । धार्मिक पर्यटकहरुले स्वर्गद्वारी जाँदा त्यहाँ चढाउने नरिवल, पहेला अथवा रातो कम्तिमा एक मिटर बस्त्र, गाईलाई खुवाउने नुन र पिठो आफ्नो इच्छा अनुसार लैजान सकिन्छ । अन्य धार्मिक पर्यटकियस्थलमा जस्तो स्वर्गद्वारीमा धेरै खर्च हुँदैन भन्दा पनि हुन्छ । दर्शन अवलोकन मात्र गरेर र्फकनेहरु को लागि बाटोमा हुने यातायात खर्च बाहेक स्वर्गद्वारीमा दुइ दिनको लागि मात्र एक हजार रुपैया भए खर्च पुग्दछ । खर्च धेरै गर्न रुचाउने र खानपानमा पनि मदिरा र माच्छा मासु खान रुचाउनेले बेसक्याम्प भ्रि्री र घोराहीको बाटो जानेहरुले बाटोमै बसेर भोलीपल्ट बिहान स्वर्गद्वारी पुग्दा राम्रो हुन्छ ।
स्वर्गद्वारी जाने मुख्यतः दुइवटा बाटा छन् । एउटा भालुवाङ-भिंगृ र अर्को घोराही-होलेरी हुँदै र्स्वर्गद्वारी पुग्न सकिन्छ । काठमाण्डौबाट नेपालगन्ज अथवा भैरहवासम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भ्रि्रीसम्म पुग्न सकिन्छ । भालुबाङदेखि भिंग्री ५८ कि.मी र भ्रि्री स्वर्गद्वारी १३ किमी यात्रा गरेपछि स्वर्गद्वारी पुग्न सकिन्छ । दाङको घोराहीदेखि रोल्पाको होलेरी हुँदै ५९ कि.मी. बसको यात्राबाट पनि स्वर्गद्वारी पुग्न सकिन्छ ।










