वनमा घाँस काट्ने क्रममा लडेर तनहुँमा दुई महिलाको मृत्यु
दमौली : वनमा घाँस काट्न् क्रममा लडेर तनहुँमा दुई जना महिलाको मृत्यु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–३ सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका दुई जना महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा सोही वडाकी ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ बस्ने २६ वर्षीया खिमसरा मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
सोमबार बिहान ७ बजेको समयमा घाँस काट्न गएका उनीहरु नफर्किएपछि खोजतलास गर्ने क्रममा घाँस काटेको स्थानदेखि अन्दाजी एक सय मिटर तल उनीहरुको शव भेटिएको बताइएको छ ।
उक्त घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।










