धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन आँधीमुलमा पर्यटकीय पूर्वाधार निर्माण

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–१ याञ्चोकस्थित आँधीमूल मन्दिर क्षेत्रलाई पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । मन्दिर क्षेत्रभित्र कृत्रिम ताल, पैदलमार्ग, दृश्यावलोकन केन्द्र, ट्रिहाउसलगायत संरचना निर्माण गरिएको छ ।
आँधीमूललाई सौन्दर्यकरणका लागि रु एक करोड ५० लाख खर्च भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माण गरिएको छ । उनले भने, “ताल निर्माण सकिएको छ । तालमा डुङ्गा शयर गर्न मिल्नेगरी व्यवस्थापन गरेका छौँ ।”
आँधीमूलमा प्रसिद्ध मन्दिर रहेकाले धार्मिक पर्यटनलाई जोडेर पर्यटकीय गतिविधि सञ्चालन गर्ने लक्ष्य लिइएको चुमानको भनाइ छ । अध्यक्ष चुमानले भने, “आँधीमूल आफैँमा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ विभिन्न ठाउँबाट धार्मिक पर्यटक आउनुहुन्छ । धार्मिक पर्यटनलाई जोडेर पर्यटन प्रवद्र्धनको प्रयास थालेका हौँ ।”
यहाँ १५ रोपनी क्षेत्रफलमा कृत्रिम ताल निर्माण गरिएको छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरिएको जनाउँदै अध्यक्ष चुमालले ताल निर्माणपश्चात् पानीमा सञ्चालन गर्न सकिने पर्यटकीय क्रियाकलाप सुरु गर्ने लक्ष्य रहेको बताए ।
उनले भने, “यहाँ अन्य पर्यटकीय पूर्वाधार पनि बनाउँदै जानेछौँ । तालबाट विद्युत् उत्पादनको लक्ष्य लिइएको छ ।” उहाँका अनुसार विद्युत् उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गरी काम गर्ने योजना बनाइएको छ ।
आँधीमूल व्यवस्थापन समितिका अध्यक्ष हिमाल थापाका अनुसार पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँ रहेको मन्दिरमा पूजाआजा तथा घुम्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेका उनले बताए ।
समितिका अध्यक्षका अनुसार मन्दिर परिसरमा रहेको पोखरीमा जलदेवताको रूपमा विश्वास गरिने माछा छन् । पोखरीको माछा मरेमा अनिवार्य रूपमा काजकिरिया गर्नुपर्ने संस्कार र प्रचलन रहिआएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरीका माछा मरेमा पूजारीले निकाली खाल्डो खनेर अन्त्येष्टि गरिँदै आइएको छ ।
प्राचीनकालदेखि यहाँस्थित रुखको फेदमा आँधीमूल बाराहीको पूजा गरिँदै आइएकामा विसं २०३५ मा स्थानीय पाकुली परियारको विशेष सक्रियतामा मन्दिर निर्माण गरिएको थियो । परापूर्वकालदेखि हरिबोधनी एकादशीका दिन फूलको डोली यहाँ विसर्जन गरिनुका साथै मन्दिर परिसरमा तोरण टाँग्ने परम्परा चलिआएको समितिका अध्यक्ष थापाले जानकारी दिए । उनका अनुसार जल, जङ्गल, जमिनलाई पूँजा गर्दै आएका स्थानीय मगर समुदायले खेतबारीमा बाली लगाउने र भित्र्याउने समयमा यस मन्दिरमा पूजाआजा गर्दछन् ।
यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पछिल्ला वर्षमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेका समितिका अध्यक्षले बताउनुभयो । पृथ्वीराजमार्गबाट नजिकै रहेकाले यस ठाउँ पछिल्लो समय आन्तरिक धार्मिक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुन थालेको उनको भनाइ छ ।
यहाँ पुग्ने सडक कालोपत्र गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्गको दुई किलोमिटरको दूरीमा आँधीमूल पर्दछ । हालसम्म नौ सय मिटर दूरीमा कालोपत्र सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चुमालले जानकारी दिए । यहाँ मन्दिर, २३ धारालगायत संरचना रहेका भन्दै धार्मिक पर्यटक ती संरचना र सुन्दरताका कारण आकर्षित हुने गरेका उनले बताए ।
आँधीमूलमा ठूलो एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ । यसस्थल रमणीय भएकाले पूजाअर्चनाका साथै वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका जनाउँदै अध्यक्ष चुमालले मन्दिरमा साउन र औँसीबाहेक सबै दिनमा पूजा हुने बताए । उनका अनुसार आँधीमूल देवीको मन्दिरमा परेवा उडाउने, बोका र कुखुरालाई बलि दिने प्रचलन छ ।
प्यागोडाशैलीको मन्दिर, पार्क, दुई पोखरी र माछाको आकृतिका २३ वटा धारालगायत संरचना रहेको आँधीमूलमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँ, कास्की, स्याङ्जा लगायत विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker