चार जिल्लाका व्यवसायीलाई खाद्य प्रशोधन प्रविधि तालिम

दमौली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराको आयोजनामा र मातहतको खाद्य डिभिजन दमौलीको सहयोगमा दमौलीमा व्यवसायीहरुलाई ३ दिने खाद्य प्रशोधन प्रविधि सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।
व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै रैथाने खाद्य पदार्थ विशेषगरी कोदोको विविधीकरण गरी बजारमा स्वच्छ र स्वास्थ्यप्रद खानेकुरा उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै पालिकाले यसमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले हाल खाद्य डिभिजन दमौली भाडामा सञ्चालन भइरहेको अवस्थाको समाधानका लागि पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा सहायक प्रमखु जिल्ला अधिकारी दीपक रेग्मीले कानुनअनुसार गुणस्तरीय खाद्य पदार्थ उपभोक्तासम्म पुग्नुपर्नेमा जोड दिए । खाद्य कार्यालय पोखराका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले पालिकाले कृषि तथा भेटेरिनरी जस्तै खाद्य प्राविधिक समेत राखेर बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ का प्रावधानलाई कार्यान्वयनमा ल्याउन सके उपभोक्ताले प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरे ।
तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ अध्यक्ष डिपी अधिकारी, होटल व्यवसायी संघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराई लगायतले आ–आफ्ना विचार व्यक्तको खाद्य डिभिजन दमौलीका प्रमुख ज्योति आचार्यले जानकारी गराए ।
चार जिल्लाबाट ३५ जनाको सहभागीता रहेको तालिममा सहभागिहरुलाई टोमाटो केचअप, चट्नी सस, जाम र मासुको अचार प्रशोधन गर्ने विषयमा खाद्य विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठ र खाद्य अनुसन्धान अधिकृत रन्जना चौधरीले सहजीकरण गर्ने बताइएको छ ।










