मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँमा

मर्स्याङ्दी जलाधार क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् काठमाडौँ ल्याउने सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका मार्कीचोकमा ‘ग्याँस इन्सुलेटेड प्रणाली’ (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको हो । त्यस्तै, मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
सबस्टेसन चार्ज गरिएसँगै कूल ८२ किलोमिटर मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौँ उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताउनुभयो ।
यसबाट देशको एकीकृत विद्युत् प्रणालीको ‘भोल्टेज’ सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक–भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने जानकारी दिनुभयो । मार्कीचोक–भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी–काठमाडौँ २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौँको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखदेखि सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए रहेको प्राधिकरणले जनाएको छ ।
मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी–काठमाडौँ प्रसारणलाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली–काठमाडौँ २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकापसमा आबद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट) मा आबद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ ।
मर्स्याङ्दी–काठमाडौँ र त्रिशूली–काठमाडौँ प्रसारण लाइनबाट आएको करिब एक/एक हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आबद्ध भई त्यहाँबाट करिब दुई हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुनेछ ।
मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब रु सवा दुई अर्ब रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गर्नुभयो ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी–काठमाडौँ प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker