विद्यार्थी सुन्तला बगैंचामा, विद्यालय खाली

पूर्ण विके/तनहुँ

व्यास नगरपालिका-११ राम्चेकी १० वर्षीया सोनिका चेपाङ स्थानीय सूर्योदय प्राथमिक विद्यालयको कक्षा ३ मा पढ्नुहुन्छ । तर अहिले सोनिकालाई विद्यालयमा भेट्न सकिदैन । उहाँलाई आजभोलि सुन्तला बगैँचामा मात्र भेट्न सकिन्छ ।

आमासँगै घर नजिकैको बगैँचामा सुन्तला टिप्न जाने गर्दा सोनिका विद्यालय जान नपाउनुभएको हो । स्थानीय सूर्योदय प्राथमिक विद्यालयमा पढ्ने चेपाङ समुदायका करिब १९/२० विद्यार्थी आजभोलि विद्यालयमा नभइ सुन्तला बगैँचामा भेटिन्छन् ।

प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म अध्ययन हुने विद्यालयमा पढ्ने चेपाङ समूदायका विद्यार्थी घरको काम धन्दा आफैँ गर्नुपर्ने भएकोले विद्यालयमा आउँदैनन्। बुबा मजदूरी गर्न र आमा सुन्तला टिप्न हिँडेपछि घरमा खाना पकाउने र बालबालिका हेर्नुपर्दा आफूहरु विद्यालय जान नपाएको कक्षा ३ मा अध्ययनरत १० वर्षीय सुनिल चेपाङले बताउनुभयो ।

“बा काम गर्न गए, आमा सुन्तला टिप्न”, ढिला गरी विद्यालय पुगेका सुनिलले भन्नुभयो, “भात पकाउने काम गर्नु पर्दा स्कुल आउन ढिला हुन्छ । आमासँगै सुन्तला टिप्न गएको बेला त स्कुल आउनै पाइदैन ।” आमासँगै आफू पनि सुन्तला टिप्न जादाँ दिनको रु दुइ सय पारिश्रमिक पाउने गरेको सुनिलले बताउनुभयो ।

आमा सुन्तला टिप्न गएको दिन आफूहरुले नै घरमा दाउरा चिर्ने, खाना पकाउने, सिस्नो टिप्ने काम गर्नुपर्दा विद्यालय आउन नपाइने कक्षा ३ का अर्का विद्यार्थी विराज चेपाङले बताउनुभयो । “बा काममा जाँदा भाइबहिनी हेर्ने काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आमा आज सुन्तला टिप्न गयो, सिस्नो टिपेर भात पकाएर खाँदा स्कुल आउन ढिलो हुन्छ ।”

स्थानीय तनहुँसुर र छापमा रहेका करिब एक दर्जन सुन्तला बगैंचामा राम्चेका चेपाङ महिलाले प्रत्येक वर्ष सुन्तला टिप्ने काम गर्छन् । आफूहरु सुन्तला टिप्न जाँदा प्रायः काखमा रहेका बच्चा हेर्न र सुन्तला टिप्नसमेत छोराछोरी समेत जाने गरेको व्यास ११ राम्चेकी मनमाया चेपाङले बताउनुभयो । “सुन्तला टिप्न जाँदा छोराछोरी पनि सँगै लैजानुपर्छ”, मनमायाले भन्नुभयो, “साना भाइबहिनी हेर्न अरु छोराछोरी लैजानुपर्छ । सुन्तला टिप्ने मौसममा त्यसो नगरी हुँदैन । त्यसपछि त छोराछोरी स्कुल पठाइहाल्छौ ।”

स्थानीय चेपाङ समुदायका राम्चे र ओढारेका करिब ३१ घरमध्ये राम्चेका नौ घरका २८ चेपाङ विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्छन । सुन्तला टिप्न आउँदा चेपाङ महिलाले प्रायः काखमा रहेको बालबालिका खेलाउन अन्य सन्तान पनि साथमै लिएर आउने गरेको व्यास ९ छापका सुन्तला किसान मनबहादुर विक बताउनुहुन्छ । बगैँचामा रहेको दुइ सय ५० बोटका सुन्तला टिप्ने कार्यमा व्यास ११ राम्चेका चेपाङ महिला नै मजदूरीमा लगाउँदै आएको विकले जानकारी दिनुभयो।

आफूहरुले बालबालिकालाई काममा नलगाई विद्यालय पठाउन भन्ने गरेपछि चेपाङ महिलाहरुले सुन्तला टिप्ने समय सकिएपछि मात्र विद्यालय पठाउने भन्ने गरेको विकको भनाइछ । चेपाङ समुदायमा श्रीमान् बिहानै मजदूरीमा निस्कने र आमा सुन्तला टिप्न जाने गर्दा मङ्सिर र पुस महिनामा विद्यालयमा नियमित १०/११ जना मात्रै आउने गरेको विद्यालयले जनाएको छ ।

सुन्तला टिप्ने समयमा प्राय आफूहरु भन्दा साना भाइबहिनी हेर्न र ठुलालाई सुन्तला टिप्नसमेत चेपाङ महिलाले सुन्तला बगैँचामा लैजाने चलन रहेको विद्यालयकी प्रधानाध्यापक रस्मी थापाले बताउनुभयो ।

“हामीले विद्यालय नै पठाउन छाडेर सुन्तला टिप्ने काममा छोराछोरी नलैजानुहोस् पटक-पटक भन्ने गरेका छौं”, प्रधानाध्यापक थापाले भन्नुभयो, “तर सुन्तला टिपेपछि विद्यालयमा पठाइहाल्छौं नि भनेर चेपाङ भन्ने गर्नुहुन्छ ।” सुन्तला टिप्ने समय मङ्सिर र पुस महिना भएकोले यो दुइ महिना विद्यालयमा उपस्थित नहुने विद्यार्थीका लागि पुनः पाठ दोहोर्‍याउनु पर्ने प्रधानाध्यापक थापाले बताउनुभयो ।

माघ लागेपछि अधिकांश विद्यार्थी नियमित हुने गरेपनि केही विद्यार्थी घरको काम सकेर ढिलो गरि विद्यालय आउँने गरेको उहाँले जानकारी दिनुभयो । चेतनाको कमीले गर्दा ज्यालामजदूरी गरी जीविका चलाउँदै आएका स्थानीय चेपाङ समुदायले कामलाई नै पहिलो प्राथमिकतामा राख्दा विद्यार्थी नियमित नभएको विद्यालयले जनाएको छ । “बालबालिकालाई पढाउनै पर्छ भन्ने चेनताकोस्तर ज्यादै कम छ”, प्रधानाध्यापक थापाले भन्नुभयो ।

विसं २०५३ मा स्थापित उक्त विद्यालयमा बालबालिकालाई पढाउनपर्छ भनेर आफूहरुले विभिन्न कार्यक्रम र छलफल गरेपनि चेपाङ अभिभावकलाई बुझाउन कठिनाई भएको विद्यालयले जनाएको छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker