मिर्लुङको ठूलोढुङ्गामा असोज १८ देखि तेहौँ शिद्धबाबा कप–२०८२

तनहुँ । भानु नगरपालिका–१३, मिर्लुङ ठूलोढुङ्गामा तेहौँ शिद्धबाबा कप–२०८२ अन्तर्गत ७ ए साइड खुला फुटबल प्रतियोगिता हुने भएको छ । हिन्दूहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिने यस प्रतियोगिता असोज १८ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज १७ गतेसम्म दर्ता गराउनुपर्नेछ । दर्ता शुल्क पाँच हजार पाँच सयदेखि नौ हजार रुपैयाँसम्म तोकिएको छ । प्रत्येक टोलीमा नौदेखि दश जनासम्म खेलाडी रहने व्यवस्था मिलाइएको छ । खेल ठूलोढुङ्गा खेलमैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विजयी हुने पहिलो टोलीले नगद ८८ हजार ८८८ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई नगद ४४ हजार ४४४ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्त्ता तथा उत्कृष्ट गोलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
शिद्धबाबा युवा क्लब, भानु–१३ तनहुँको आयोजनामा हुने प्रतियोगितामा श्री शान्ती युवा क्लब ठूलोढुङ्गा सह–आयोजक रहनेछ भने भानु नगरपालिका वडा नं. १३ कार्यालयले सहयोग गर्नेछ ।
प्रतियोगितासम्बन्धी थप जानकारी तथा टिम दर्ताका लागि ९७६७९४८१०६, ९८४१०२९८०८ र ९८२८७२३२४६ मा सम्पर्क गर्न सकिने आयोजक समितिले जनाएको छ ।










