पाचौं व्यास नगर अल्ट्रा म्याराथनको उपाधि बेदबहादुरले जिते
भञ्ज्याङ न्यूज

जिल्लाको व्यास नगरपालिकाले आयोजना गरको पाँचौं व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधी रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाली आर्मीमा आवद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित शहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दुरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।
‘पर्यटकिय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको म्याराथनमा १८६ जना धावकहरुको सहभागीता रहेको थियो । उक्त म्याराथनमा मोहन देव जोशी द्वितीया र नवराज साउथ तृतीया भएका छन् । उनीहरुले उक्त दुरी क्रमश ३ घण्टा ५ मिनेट र ३ घण्टा ९ मिनेटमा पार गरेका थिए ।
प्रतियोगितामा प्रथमलाई ८५ हजार ७८ द्वितीयलाई ६५ हजार ७८, तृतीयलाई ५५ हजार ७८ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कृत गरिएको थियो ।
गत वर्ष म्याराथन नेपाल आर्मीमा आवद्ध कालिकोटका देवराज महतराले जितेका थिए । उनले ४४ किमि दूरी ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए भने प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ द्वितीय र रामेछापका सुनुवार तृतीय भएका थिए ।
हरेक वर्ष सहिद दिवसको दिन आयोजना हुने व्यास नगर अल्ट्रा म्याराथन कोरोनाको कहरले स्थागित भएको थियो ।
प्रतियोगिता पर्यटकीय क्षेत्र मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट– पृथ्वीराजमार्ग हुँदै दुर्गामन्दिर–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक व्यास मार्ग हुँदै बैरेनी कुमालटारी–कलेस्ती–बोटेटार–पाथ्रा–सत्रसय–कालिकामार्ग हुँदै बानियाँ डिही–बर्लाछी–सोतीबेसी–बगुवा रिस्ती–बाहुन पोखरा गाडापानी हुँदै शहिद गाउँ पुलिमराङमा पुगेर सम्पन्न भएको थियो ।










