हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकामा विस्तार गरिएको हाटबजारले कृषक र उपभोक्तालाई कृषि उपज सामग्री बिक्री र खरिदमा सहज भएको छ । गाउँपालिकाले दुई साता अगाडिदेखि आँबुखैरेनी गाउँपालिका–२ स्थित सिद्धिगणेश टोलमा हाटबजार विस्तार गरेको थियो ।
यसअघि सोही वडाको गाउँपालिका कार्यालय नजिक प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको थियो । अब सोमबार र शुक्रबार दुवै ठाउँमा हाटबजार सञ्चालन हुने भएपछि कृषि उपज सामग्री बिक्री र खरिदमा सहज भएको छ ।
स्थानीय मनोजकुमार श्रेष्ठले हप्ताको दुई दिन हाटबजार लाग्ने भएपछि कृषकले सहज रुपमा सामग्री बिक्री गर्न पाउनाका साथै उपभोक्तालाई पनि ताजा सामग्री किन्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत एक वर्ष पहिलादेखि शुक्रबारे हाटबजार लाग्दै आएको हो, एक दिन मात्रै लाग्दा कृषक र उपभोक्तालाई पनि समस्या थियो, अब हप्ताको दुई दिन हाटबजार लाग्ने भएपछि कृषि उपज बजारीकरणमा पनि ठूलो टेवा मिल्ने भयो ।”
कृषक र उपभोक्ताहरुको मागबमोजिम कृषि बजारीकरणलाई थप प्रोत्साहन गर्न हाटबजार विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । हाटबजार विस्तार भएसँगै अब कृषकले सहज रुपमा कृषि उपज बिक्री गर्न पाउने र उपभोक्ताले पनि कृषि उपज खरिद गर्ने वातावरण निर्माण भएको चुमानले बताउनुभयो । चुमानले भन्नुभयो, “हाटबजार स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज सामग्री बिक्रीका लागि प्रभावकारी बनेको छ, एक ठाउँमा मात्रै साताव्यापी रुपमा हाटबजार सञ्चालन भएकामा अब दुई ठाउँमा सञ्चालन हुँदा कृषक र उपभोक्तालाई थप सहज हुनेछ ।”
गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले पालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । कृषिमा आबद्ध कृषकलाई हौसला दिन पालिकाले कृषि केन्द्रित कार्यक्रम र योजना सञ्चालन गरेको उहाँको भनाइ छ ।
गाउँपालिकाले हाल सञ्चालन गरेको हाटबजारमा स्थानीय उत्पादन खरिद–बिक्रीका लागि प्रत्येक शुक्रबार बिहानदेखि भीड लाग्ने गरेको छ ।  विसं २०८० फागुनदेखि सञ्चालित हाटबजार कृषक र उपभोक्तालाई प्रत्यक्ष जोड्न सफल भएको छ । कृषकले आफूले उत्पादन गरेका सामग्री बजारीकरणका लागि हाटबजार प्रभावकारी बनेको छ ।
हाटबजारले आँबुखैरेनीको मात्रै नभई आसपासका स्थानीय तहको पनि ध्यान खिचेको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिनुभयो । हाटबजारमा स्थानीय मह, गोलभेडा, सिस्नु, गिठ्ठा, अमला, बेथेको साग, फर्सीको मुन्टा, दही, मही, सिब्लीगानलगायत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ । हाटबजारमा स्थानीय उत्पादन बिक्री वितरणको व्यवस्था मिलाएपछि उपभोक्तालाई सहज भएको केसीको भनाइ छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker