शुक्लागण्डकीमा गत वर्षका कामको समीक्षा

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले गत आर्थिक वर्षमा सञ्चालन गरेका कार्यक्रम, योजना तथा अंगीकार गरेका नीतिको समीक्षा गरेको छ । नगरपालिकाले सञ्चालन गरेका योजनाले पारेको प्रभाव र सम्पन्न गर्न नसकिएका कार्यक्रमहरूको वास्तविकता सार्वजनिक गर्न समीक्षा कार्यक्रम आयोजना गरिएको नगर सूचना अधिकारी अनिल खनालले जानकारी दिए ।
आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाका विभिन्न शाखा र वडाले सञ्चालन गरेका कार्यक्रमहरूको अवस्थाबारे सम्बन्धित शाखा प्रमुख र वडा सचिवहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए। उनीहरूले वार्षिक कार्यक्रम सञ्चालन गर्दा प्राप्त उपलब्धि, सामना गरेका समस्या र चुनौतीबारे जानकारी दिएका थिए।
नगरका शाखा प्रमुख र वडा सचिवहरूको प्रस्तुति सुनेपछि नगर प्रमुख कृष्णराज पण्डितले अझ बढी मेहनत गरी समृद्ध शुक्लागण्डकी निर्माणमा योगदान दिन जनप्रतिनिधि तथा कर्मचारीहरूलाई आग्रह गरे । उनले “विपरीत परिस्थितिमा पनि उत्कृष्ट काम गरेर मात्रै जित्न सकिन्छ”, भन्दै नगरको लक्ष्य हासिल गर्न सबैको सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए ।
त्यस्तै, उप–प्रमुख खुमबहादुर विक राजुले कर्मचारीहरूलाई नगरपालिकाले सम्पन्न गरेका कामले पारेको प्रभाव स्पष्ट रूपमा देखिने गरी प्रतिवेदन तयार पार्न निर्देशन दिए । उनले विगतको सकारात्मक शृंखलालाई निरन्तरता दिँदै आम जनताले बुझ्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।
समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जनप्रतिनिधि र कर्मचारीहरूलाई “अब सच्चिने कि सक्किने, दुई विकल्पमध्ये एक रोज्नुपर्ने समय आएको” भन्दै जिम्मेवारीपूर्वक काम गर्न आह्वान गरे । उनले परिवर्तित समयको माग बुझेर विगतभन्दा भविष्य राम्रो बनाउने खालको काम गर्नुपर्ने आवश्यकता औल्याए ।










